माओवादी उम्मेदवारलाई स्पष्टीकरण

कार्तिक १७, २०७९

कान्तिपुर संवाददाता

म्याग्दी — निर्वाचन आचारसंहिता उल्लङघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले सत्ता गठवन्धनबाट प्रदेशसभा १ र २ क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवारद्वय हरिबहादुर भण्डारी र रेशमबहादुर जुग्जालीलाई २४ घन्टे स्पस्टिकरण सोधेको छ ।

भण्डारीले बेनी–६ छापास्थित छापा युवा क्वललाई १० हजार र जुग्जालीले मालिका–७ स्थित साईनिङ युवा क्लवलाई ७ हजार नगद बाँडेको प्रमाणसहित मंगलबार मुख्य निर्वाचन कार्यालयमा उजुरी परेको थियो । 

बुधबार उनीहरूलाई स्पष्टीकरण सोधिएको हो । गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेसका खमबहादुर गर्वुजाविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीका सम्बन्धमा भने ‘उजुरी र पेश भएको कागजातको अन्तरसम्बन्ध पुष्टि हुने प्रमाण नदेखिएकोले तत्काल कुनै कारबाही गर्नु परेन,’ निर्वाचन आचारसंहिता अनुगमन समितिको निर्णयमा उल्लेख छ । उनीविरुद्ध मालिका गाउँपालिकास्थित सृजनशील युवा क्लबलाई चुनावचिह्न अंकित कांग्रेसको टिर्सटसमेत युनिफर्म बाँडेर निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी दर्ता भएको थियो ।

‘प्रदेशसभाका दुवै उम्मेदवारलाई २४ घन्टे स्पष्टीकरण सोधेका छौं । गर्वुजाविरुद्ध परेको उजुरीमा पेस भएको प्रमाण तत्काल पुस्ट्याइ हुने नदेखिएकाले कुनै कारबाही भएन,’ मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कृष्णप्रसाद नेपालले भने, ‘एमालेका उम्मेदवारद्वयलाई सोधेको स्पष्टीकरणको जवाफ आएको छ, थप अनुसन्धान जारी छ ।’

आमनिर्वाचन २०७९

कान्तिपुर

Link copied successfully