दल र उम्मेदवारले आचारसंहिता पालना गरिदिनुभयो भने हामी स्वच्छ रुपमा निर्वाचन सम्पन्न गर्नसक्छौं : आयोग

कार्तिक १४, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले राजनीतिक दल र तिनका नेताहरूलाई निर्वाचन लक्षित प्रचारप्रसार गर्दा निर्वाचन आचारसंहिता उल्लंघन नगरिकन यसका सीमाभित्र रहेर प्रचार प्रसार गरिदिन आग्रह गरेको छ।

निर्वाचन आयोगका अनुसार कात्तिक १७ गतेदेखि दल र उम्मेदवारहरूले चुनावी प्रचारप्रसार गर्न पाउने छन् । तर मतदानको पूर्वनिर्धारित समय मंसिर ४ गतेभन्दा ४८ घण्टा अगाडिसम्म मात्रै उनीहरूले प्रचारप्रसार गर्न पाउने बताइएको छ ।

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र उम्मेदवारहरूले आचारसंहिताको सीमाभित्र रहेर प्रचासप्रसार गरिदिने विश्वास व्यक्त गरेका छन् । 'उहाँहरूले सेमिनार, र्‍याली, आमसभा, कोणसभा, गोष्ठी लगायत सबै गतिविधि गर्न सक्नुहुनेछ । तर आचारसंहिताको सीमाभित्र रहेर मात्रै यस्ता गतिविधि गर्नुहुन्छ भन्ने आयोगले विश्वास गरेको छ,' आयुक्त भण्डारीले भनेका छन् ।

यस्तै आयुक्त भण्डारीले दल र उम्मेदवारहरूलाई आचारसंहिताको सिमाभित्र रहेर प्रचारप्रसार गरिदिन पनि आग्रह गरेका छन् । 'उहाँहरूले यदि सीमाभित्र रहेर प्रचारप्रसार गरिदिनुभयो भने आयोगले यस पटकको निर्वाचन स्वच्छ र विश्वासिलो रुपमा सम्पन्न गर्न सक्नेछ,' भण्डारीले भने ।

निर्वाचनमा मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडिको अवधिमा कुनै प्रचारात्मक गतिविधि गर्न नपाइने प्रावधान छ । यस अवधिलाई अघिल्ला निर्वाचनमा मौन अवधि भनिए पनि यसपटक 'शून्य समय' को रुपमा प्रचारात्मक गतिविधि गर्न रोक लगाएको आयुक्त भण्डारीले बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिर ४ गतेका लागि तोकिएको छ । यसका लागि आयोगले सुदूरपश्चिम, कर्णाली र प्रदेश नं १ का जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी गरिसकेको जनाएको छ । निर्वाचनका लागि आगामी मंसिर ४ गते बिहान ७ बजे मतदान सुरु हुने आयोगले जनाएको छ । तर ४ गते बिहान ७ बजेभन्दा ४८ घण्टा अगाडिको अवधिमा कुनै दलले प्रचार गतिविधि गर्न पाउने छैनन् ।

आमनिर्वाचन २०७९

कान्तिपुर

Link copied successfully