‘२०४७ पछिका प्रधानमन्त्रीलगायतको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग’

कार्तिक १४, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)ले भ्रष्टाचार नियन्त्रणका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि ठोस योजना र कार्ययोजना बनाई कडाइपूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारेको प्रतिबद्धता सोमबार सार्वजनिक गर्दै माओवादी केन्द्रले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नका लागि २०४७ यताका सबैको उच्च पदस्थ नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गरिने बताएको छ ।

'संविधान, कानुन र नियमअनुसार सहज रूपमा हुनुपर्ने जनसाधारणका कामहरूमा घुस दिनुपर्ने वा भनसुन गर्नुपर्ने आवश्यकताको अन्त्य गर्न प्रभावकारी कदम चालिनेछ,' माओवादीको प्रतिबद्धतापत्रमा भनिएको छ, '२०४७ को परिवर्तनयताका सबै सरकारका प्रधानमन्त्री एवं मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख एवं सदस्यहरू, सबै राष्ट्रिय राजनीतिक दलका केन्द्रीय पदाधिकारीहरू र विशिष्ट श्रेणीका कर्मचारीहरूको सम्पत्ति छनबिन गर्न एक उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गरिनेछ ।'

भ्रष्टाचारको व्यापकता तथा सुशासनको अभाव, पुँजीगत खर्च कार्यान्वयन क्षमतामा देखिएको समस्या र चरम व्यापार घाटा अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजानका लागि समाधान गरिनुपर्ने प्राथमिकताका विषय रहेको माओवादी केन्द्रको प्रतिबद्धतापत्रमा लेखिएको छ । 'यस क्षेत्रमा ठोस नीति र कार्ययोजना बनाई कडाइपूर्वक कार्यान्वयन गरिनेछ,' माओवादीले भनेको छ । 

माओवादी केन्द्रले आफ्नो पार्टीका 'सबै केन्द्रीय समितिका सदस्यहरू एवं प्रदेश समितिका पदाधिकारीहरूको सम्पत्ति विवरण निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र सार्वजनिक गर्ने' प्रतिबद्धता पनि जनाएको छ । प्रत्येक आर्थिक वर्षको पहिलो ३ महिनाभित्रमा केन्द्रीय समितिका सदस्यहरू र प्रदेश पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिने पनि माओवादीले प्रतिबद्धतापत्रमा लेखेको छ ।

माओवादीले 'स्थिरता, शान्ति र समृद्धिका लागि शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्ने' भनेको छ । त्यस्तै न्यायपालिका र प्रशासन संयन्त्रको जनमुखी पुनर्संचना गर्ने प्रतिबद्धता जनाएको छ । युवा शक्तिलाई देश निर्माणमा परिचालन गर्ने तथा विदेशमा रहेकालाई स्वदेश फर्किने वातावरण बनाउने माओवादीले प्रतिबद्धतापत्रमा लेखेको छ ।

आमनिर्वाचन २०७९

कान्तिपुर

Link copied successfully