काठमाडौँ — नेकपा (माओवादी केन्द्र)ले संघीय सांसद र प्रदेशसभा सदस्यहरूको संख्या घटाउनुपर्ने प्रस्ताव गरेको छ । हाल २७५ सदस्यीय प्रतिनिधिसभामा ११० सिट घटाएर १ सय ६५ सदस्यीय बनाउनुपर्ने माओवादीले प्रतिबद्धतापत्रमा लेखेको छ ।
अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारिएको प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए । उक्त प्रतिबद्धतापत्रमा भनिएको छ, '१६५ सिटको प्रतिनिधिसभा र ५५ सिटको राष्ट्रिय सभा भएको सङ्घीय संसद् र समग्रमा ३३० सिटको प्रदेशसभा हुनेछ ।' हाल राष्ट्रिय सभामा ५९ सांसद छन् भने सातवटै प्रदेशसभामा ५५० सदस्य रहेका छन् ।
त्यस्तै, मन्त्रिपरिषद् पनि सानो बनाउनुपर्ने माओवादीको एजेन्डा रहेको छ । माओवादीको प्रतिबद्धतापत्रमा भनिएको छ,' संघमा २५ जनामा नबढाई र सम्बन्धित प्रदेशसभामा कुल सांसद सङ्ख्याको १५ प्रतिशतमा नबढाई सानो आकारको मन्त्रिमण्डल गठन गर्ने व्यवस्था गरिने छ ।'
माओवादीले सुशासन, पारदर्शीता, जवाफदेहिता र वित्तीय अनुशासनका सम्पूर्ण सिद्धान्त अनुशरण गरी डिजिटाइज्ड सरकारी कार्यालयमार्फत भ्रष्टाचारमुक्त र मितव्ययी रूपमा सेवा प्रवाह हुने प्रशासन प्रणाली अवलम्बन गर्ने भनेको छ ।
