१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१
माओवादी केन्द्रको प्रतिबद्धतापत्र

छुट्टै विज्ञान तथा प्रविधि मन्‍त्रालय स्थापना गरिने

विज्ञान शिक्षामा रहेका अवैज्ञानिक पक्षलाई परिमार्जन गरी वैज्ञानिक बनाइने
१ अर्बको राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन कोष स्थापना गरिने
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई टुक्र्याएर छुट्टै विज्ञान तथा प्रविधि मन्त्रालयको स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आगामी मंसिर ४ गते हुन लागेको केन्द्र र प्रदेशको चुनावलाई लक्षित गरेर सोमबार मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा विज्ञान तथा सूचना प्रविधिको द्रूत विकासका लागि समयानुकूल कानुन तर्जुमा गरी लागू गरिने उल्लेख छ ।

छुट्टै विज्ञान तथा प्रविधि मन्‍त्रालय स्थापना गरिने

नेकपा माओवादी केन्द्रले विज्ञान तथा प्रविधि क्षेत्रको विकाससम्बन्धी १० वर्षे रणनीतिक गुरुयोजना तयार गरेर त्यसको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

'वर्तमान विज्ञान प्रविधिको विकास र प्रयोगको अपरिहार्यतालाई ध्यानमा राखी छुट्टै विज्ञान तथा प्रविधि मन्त्रालयको व्यवस्था गरिनेछ,' घोषणापत्रमा भनिएको छ, 'नास्ट र नार्कजस्ता संस्थाहरूको पुनर्संरचना गरेर ती संस्थाहरूको अनुसन्धान तथा विकाससम्बन्धी कार्यलाई प्रभावकारी बनाइने छ ।'

माओवादीले विज्ञान तथा सूचना प्रविधिसम्बन्धी कार्यमा संलग्न निजामती कर्मचारीको विज्ञान तथा प्रविधि सेवाको छुट्टै सेवा निर्माण गर्ने प्रबिद्धता पनि व्यक्त गरेको छ । 'निजामति सेवामा विज्ञान तथा प्रविधि समूह भनेर छुट्टै सेवाको स्थापना गरिनेछ,' प्रतिबद्धतापत्रमा भनिएको छ ।

संघ र सबै प्रदेशहरूमा अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान केन्द्र एक वर्षभित्रमा स्थापना गरिने माओवादीको घोषणापत्रमा उल्लेख छ । हरेक स्थानीय तहमा एक अनुसन्धान तथा विकास केन्द्रको अवधारणा लागू गरिने प्रतिबद्धता पनि जनाइएको छ ।

घोषणापत्रमा वैज्ञानिक खोज‚ अनुसन्धान र नवप्रवर्तनलगायत विज्ञान प्रविधि क्षेत्रको विकासमा काम गर्नेलाई अनुदान उपलब्ध गराइने, विज्ञान तथा सूचना प्रविधिसम्बन्धी उद्योगको स्थापना, १ अर्ब रुपैयाँको राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन कोष स्थापना गरी सो कोषबाट विज्ञान प्रविधिको विकास, अध्ययन अनुसन्धान र नवप्रवर्तनमा जोड दिइने उल्लेख छ ।

यस्तै, ५ वर्षभित्र हाइड्रोजन प्लान्टको स्थापना गरिने पनि प्रतिबद्धता व्यक्त गरेको छ । विज्ञान शिक्षामा रहेका अवैज्ञानिक पक्षलाई परिमार्जन गरी वैज्ञानिक बनाइने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपालमा टेक्नोलोजी एसेम्बलिङ कारखानाहरूको स्थापना र सञ्चालन गरिने पनि घोषणापत्रमा जनाइएको छ । माओवादी केन्द्रले अनुत्पादक क्षेत्रको लगानी कटौती गरी पाँच वर्षभित्र राष्ट्रको कूल गार्हस्थ्य उत्पादनको कम्तीमा १ प्रतिशत विज्ञान तथा प्रविधिको विकास र प्रयोगमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रकाशित : कार्तिक १४, २०७९ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?