घनश्याम र छविलाल मतदाता रिझाउने अभियानमा, मतदाता अन्योलमा
बुटवल — लामो समयदेखिका सहयात्री नै चुनावी प्रतिस्पर्धामा उत्रिएपछि रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी रौनक बढेको बनेको छ‚ जहाँ नेकपा एमाले सचिव तथा यसअघिका मन्त्री एवं सांसद छविलाल विश्वकर्मा र भरखरै एमाले छाडेका नेता घनश्याम भूसाल चुनावी प्रतिस्पर्धामा छन् । लामो समय एउटै दलमा रहेका मात्र होइन‚ राष्ट्रिय राजनीतिमा प्रभावशाली रहेका दुई नेता फरक गठबन्धनबाट चुनावी मैदानमा उत्रिएपछि मतदाता भने अन्योलमा छन् ।
नेकपा एमालेका उम्मेदवार विश्वकर्मालाई राप्रपा र जसपाको साथ छ भने स्वतन्त्र वाम गठबन्धनका रुपमा उम्मेदवार बनेका भूसाललाई सत्ता गठबन्धन अर्थात् कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा‚ लोकतान्त्रिक समाजवादी पार्टी एवं बाबुराम भट्टराईको नेसपाको समेत समर्थन छ । विश्वकर्मा नम्र र मिजासिलो बोली तथा व्यवहारले परिचित छन् । भूसाल मार्क्सवादी अध्येयताका रुपमा चिनिन्छन् । फरक-फरक छवि बोकेका दुवै जना अहिले आफ्ना पक्षमा मतदाता पार्न चुनावी अभियानमा व्यस्त छन् ।
उसो त, एक महिनाअघि अर्थात् उम्मेदवार सिफारिसका बेला विश्वकर्मा र भूसाल यही क्षेत्रबाट प्रतिनिधिसभाका लागि सिफारिस भएका थिए । निर्वाचन क्षेत्र जिल्ला हुँदै प्रदेश कमिटीसम्म दुवैको नाम गएको थियो । तर, प्रदेशबाट भूसालको नाम हरायो । पार्टीसचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज विश्वकर्मामात्रै एकल सिफारिस भए । केन्द्रीय कमिटिले पनि त्यसैलाई अनुमोदन गर्यो । भूसाल क्षेत्र नम्बर ३ बाट समेत नाम सिफारिस भएका थिए । चुनावी तालमेलमा एमालेले क्षेत्र नं. ३ राप्रपालाई छाडेपछि रुष्ट भएका भूसालले पार्टी त्यागको घोषणा गरे र आफ्नै सहयात्रीसँग प्रतिस्पर्धामा गएका हुन् । आफूले दल नै त्याग गरेकाले चुनावी प्रतिस्पर्धामा पूर्वसहकर्मी र सहयात्रीले कुनै अर्थ नराख्ने भूसालले बताए । ‘म सत्ता गठबन्धनले समर्थन गरेको स्वतन्त्र वाम उम्मेदवार हुँ,’ उनले भने, ‘त्यसैले अरु को उम्मेदवार छ‚ त्यसतर्फ ध्यान जाँदैन ।’
उता, विश्वकर्मा पनि भूसालको चर्चाबिनै चुनावी अभियानमा होमिएका छन् । ‘प्रतिस्पर्धामा को आउनुभयो‚ त्यसको वास्ता छैन,’ उनले घुमाउरो तरिकाले भने, ‘लोकतन्त्रमा दलको विकल्प दल हुन सक्छ । तर, स्वतन्त्र भनेको निर्दलीयता हो । जनताले निर्दलीयता चाहेका होइनन् ।’
तेस्रोपटक चुनावी मैदानमा उत्रिएका विश्वकर्माका लागि यो क्षेत्र र यहाँका मतदाता परिचित छन् । उनले कतिपय ठूला योजना ल्याएर जनमत बनाएका छन् । अघिल्लो कार्यकालमा आफूले गरेको विकास उनका लागि मत माग्ने बलियो आधार बनेको छ । २०७४ मा विश्वकर्माले नेपाली कांग्रेसका अब्दुल रज्जाकलाई पराजित गरेका थिए । विश्वकर्मा ३४ हजार ७ सय ५२ मत ल्याएर निर्वाचित हुँदा रज्जाकले २६ हजार ८ सय ८५ मतमात्रै पाएका थिए । त्यसबेला भने विश्वकर्मालाई माओवादी केन्द्रको साथ थियो । २०७० मा भने रज्जाकले विश्वकर्मालाई नै पराजित गरेका थिए । संघीय सरकारमा मन्त्री बनिसकेका रज्जाकले अहिले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । यद्यपि तत्कालीन माओवादी नेता दधिराम न्यौपाने एमालेमै रहेर प्रदेशसभा उम्मेदवार भएका छन् । सांगठनिक जनाधार बलियो रहेको, राप्रपा र जसपाको मत पनि राम्रो रहेकाले आफूले जित्ने प्रशस्त आधार रहेको विश्वकर्माको दाबी छ । ‘यसै त हाम्रो जनमत धेरै छ । यसैमाथि यो भूमिमै पसिना बगाइएको छ । विकासका जग खनिएको छ,’ उनले भने, ‘त्यसको आधारमा हाम्रो जित्ने आधार बनेको छ ।’
भूसालका लागि यो संगठन विस्तार गरेको क्षेत्र हो । यद्यपि पछिल्ला वर्षमा रुपन्देही- ३ बाट सांसद भएका कारण धेरै मतदाताबीच उनी नयाँ पहिचान बनाउँदै छन् । तर, गठबन्धनको साथले उनी हौसिएका छन् । पूर्वनेता भएका कारण एमालेकै केही र स्वतन्त्र पक्षधरका केही मत भूसालले आफ्नो पक्षमा तान्न सक्ने सम्भावना छ । एमालेभित्र पनि छविलालको समूह पार्टीसँग असन्तुष्ट छ । उक्त समूहले पनि साथ दिनेमा भूसाल विश्वस्त छन् । केही नेता/कार्यकर्तासहित रोहिणी गाउँपालिकाका पूर्वअध्यक्षलगायत पार्टी परित्याग गरेर घनश्यामको समर्थनमा लागेका छन् । एमाले देवदह नगर अध्यक्ष टीकाराम चापागाईंले पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएकाले एमालेको केही मत उनले काट्नेछन् । त्यसको फाइदा भूसाललाई हुन सक्ने उनी पक्षधरको तर्क छ ।
स्थानीय तहमा आएको मतको आधारमा भने भूसाललाई चुनाव जित्न कठिन छ । स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका वडाध्यक्षको मत गन्दा एमाले, राप्रपा र जसपाको जम्मा मत ५१ हजार ६ सय ४५ थियो । कांग्रेस, लोसपा, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले जम्मा ३८ हजार ३ सय १ मत ल्याएका थिए । मतभारका हिसाबले विश्वकर्मा बलिया छन् । रुपन्देही- १ मा देवदह नगरपालिका, रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाको ७, देखि १७ र ओमसतिया गाउँपालिकाको वडा नम्बर १, देखि ६ वडा रहेका छन् । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा कांग्रेसको सबैभन्दा धेरै ३२ हजार ९ सय ९९ मत छ । एमालेले ३० हजार ३ सय ९, राप्रपाले १४ हजार ५ सय ५२, जसपाले ६ हजार ६ सय ९५, माओवादीले ४ हजार २ सय २, नेकपा एसले १ हजार २ सय ४३ र लोसपाले ३ सय २५ मत ल्याएका थिए । सत्ता गठबन्धनमा माओवादी केन्द्रको भागमा परेको यो क्षेत्रमा भूसाललाई समर्थन गरेपछि माओवादीभित्रै पनि असन्तुष्टि बढेको छ । युवा नेता लेखनाथ न्यौपाने, मकसुद अली, शिव धवललगायत आकांक्षी रहेकाले माओवादीका यी नेताहरू भूसाललाई जिताउन सहयोगी नहुन सक्छन् । यद्यपि भूसाल गठबन्धनमा कुनै समस्या नरहेको, स्थानीय तहको मतभन्दा अहिले धेरै फरक लहर आएको र आफ्नो जनमत बढेको दाबी गर्छन् । ‘सिंगो गठबन्धन एक ढिक्का छ । त्यसैमाथि एमालेमा रहेका तर ओली प्रवृत्ति नरुचाएका नेता/कार्यकर्ता र राप्रपाका धेरै नेता कार्यकर्ताको मलाई समर्थन छ,’ उनले भने, ‘यही मेरो जित्ने आधार बनेको छ ।’
विश्वकर्मा पक्षधर टिकट नपाएपछि पार्टी छाड्ने र सत्ता गठबन्धनको उम्मेदवार बन्ने कुराले भूसालको पक्षमा मतदाता नलाग्ने टिप्पणी गर्छन् । कोही सिद्धान्त र विचारका विज्ञ व्यक्ति टिकट नपाउँदैमा पार्टी त्यागेर चुनावमा जानु गलत भएको तर्क गर्छन् । टिकटको होडमा एउटै दलमा सहयात्रा गरेका र पटक-पटक मन्त्री बनेका नेता प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा आएपछि सर्वसाधारण मतदाता भने अन्योलमा छन् । दलित समुदायको भएका कारण अन्योलमा रहेका र सिमान्तीकृत वर्गका मतदातालाई विश्वकर्माले आफ्नो प्रभावमा पार्न सक्ने देखिन्छ । ‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै सबै जात वर्ग, लिंगको शासन प्रक्रियामा सहभागिता हो । म दलित र उत्पीडित जातिको प्रतिनिधि पनि हो । उहाँहरूको पक्षमा वकालत गर्ने व्यक्ति पनि हुँ,’ विश्वकर्माले भने, ‘त्यसैले म चुनावी दौडमा अगाडि छु ।’
