काठमाडौं -२ को भूगोल : हरेक चुनावले बनाउँछ राष्ट्रिय राजनीति तरंगित

कार्तिक ९, २०७९

मणि दाहाल

काठमाडौँ — काठमाडौं महानगरपालिकाका केही वडा र काँठ क्षेत्र रहेको काठमाडौं-२ को निर्वाचनले इतिहासदेखि नै राष्ट्रिय राजनीतिलाई तरंगित बनाउने गरेको छ । त्यसैले धेरैको नजरमा यो क्षेत्रको चुनावी प्रतिस्पर्धामा उत्रने उम्मेदवारहरु चासो र चर्चा हुन्छ । अहिले काठमाडौं-२ मा बत्तिसपुतली, काटेश्वरदेखि नाङ्लेभारेसम्मको क्षेत्र पर्छ । यस क्षेत्रमा कतिपय हेभिवेट उम्मेदवार पराजित हुन पुगेका छन् भने यसै क्षेत्रबाट चुनाव जितेपछि राष्ट्रिय राजनीतिमा चम्किएका छन् ।

काठमाडौं महानगरपालिको वडा नम्बर ९ बत्तीसपुतली, सिनामंगल र वडा ३२ को काटेश्वर, जडिबुटी, पेप्सीकोला, कागेश्वरी मनहरा नगरपालिकाको ४, ५, ६, ७, ८ र ९ र शंखरापुर नगरपालिका यस क्षेत्रमा रहेको छ । विगतमा यसै क्षेत्रबाट जितेका २ जना प्रधानमन्त्री समेत बने । 

‘अहिले २ नम्बर क्षेत्रमा परेको क्षेत्र मूल रुपमा १ नम्बर क्षेत्रकै हो । यसमा संयोगले राष्ट्रिय राजनीतिमा फरक खालको इतिहास बन्यो,’ सो क्षेत्रका पूर्व सांसद नारायण ढकालले भने, ‘यो चुनावमा साधै चर्चित क्षेत्रको रुपमा रहँदै आएको छ । यसमा पार्टीका हेभिवेटहरु नै प्रतिस्पर्धा गरेका थिए । फरक-फरक प्रकारका अभ्यास र उम्मेदवार बने ।’ साहित्यकार ढकाल २०५२ सालको उप-निर्वाचनमा जितेर सांसद भएका थिए ।

२०४८ सालको आमनिर्वाचनमा काठमाडौं-१ मा काटेश्वर, नयाँ बानेश्वरदेखि चावहिल र हुँदै नाङ्लेभारेसम्मको भूभाग रहेको थियो । त्यस समयमा ५ वटा निर्वाचन क्षेत्र थिए । 

२०५६ सालको चुनाव अघि निर्वाचन क्षेत्र पुनर्संरचना भयो । काठमाडौंमा ७ क्षेत्र बन्यो। चावहिलसहितको केही भूभाग क्षेत्र नम्बर २ मा पर्‍यो । २०६४ सालको पहिलो संविधानसभा चुनावमा १० वटा निर्वाचन क्षेत्र बने । ती क्षेत्र अहिले पनि कायम छन् । १० वटासम्म निर्वाचन  क्षेत्र बन्दा यसो क्षेत्रका केही भूभाग ३ र ४ मा पनि पर्न गए । तर २०४८ सालको चर्चित काठमाडौं-१ को मूल भूभाग अहिले पनि काठमाडौं -२ मै रहेको छ । यस क्षेत्रमा एउटा निर्वाचन बाहेक सधैं वामपन्थी दलका उम्मेदवारले जित्दै आएको छन् ।  

यसै क्षेत्रबाट नेपाली कांग्रेसका कार्यवहाक सभापति तथा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई दुई पटक पराजित भएका थिए । जनआन्दोलनपछिको पहिलो आमनिर्वाचन २०४८ सालमा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले भट्टराईलाई पराजित गरेका थिए । 

मुलुकभर कांग्रेसले प्रतिनिधिसभा चुनावमा बहुमत हासिल गर्दा पनि अन्तरिम सरकारका प्रधानमन्त्री भट्टराई भण्डारीसँग पराजित भएका थिए । भट्टराईको लोकप्रियता देशभर शिखरमा थियो । तर उनलाई भण्डारीले पराजित गरे । 

त्यो जितले भण्डारीलाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न मद्दत गर्‍यो भने चुनावी परिणामको चर्चा लामो समयसम्म रह्यो । २०५० जेठ ३ गते दासढुंगामा भएको दुर्घटनामा भण्डारीको निधन भएपछि त्यसै वर्षको माघमा उपनिर्वाचन भयो । उपनिर्वाचनमा  मदनपत्नि विद्यादेवी भण्डारीले कांग्रेस सभापति भट्टराईलाई पराजित गरिन् । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामाथि अन्तर्घातको आरोप लाग्यो । कोइरालानिकट नेताहरुले भट्टराईलाई मतदान नगर्न आह्वान गर्दै पर्चा नै छरेका थिए । 

उपनिर्वाचनमा भट्टराई पराजयको कहल कांग्रेसभित्र समयसम्म रह्यो । भट्टराई र कोइरालाको समूह क्रमश: छत्तिसे र चौहत्तरे जन्मियो । चुनावी परिणामपछि सुरु भएको कलह उत्कर्षमा पुगेपछि बहुमत हुँदाहुँदै प्रधानमन्त्री कोइरालाले मध्यावधि चुनावको घोषणा गरेका थिए ।

विद्यार्थी राजनीतिपछि गृहस्थीमा गएकी भण्डारीलाई त्यही निर्वाचनले पार्टी राजनीतिमा पुनरागमन भयो । जसले भण्डारीलाई राष्ट्रपति बन्ने सम्मको ढोका खोल्ने काम गर्‍यो ।

२०५१ सालको मध्यावधि चुनावमा काठमाडौं-१ बाट एमाले अध्यक्ष मनमोहन अधिकारीले चुनाव जिते । त्रिशंकु संसद्‌मा एमाले सबैभन्दा ठूलो दल बन्यो र अधिकारीले अल्पमत सरकारको नेतृत्व गर्दै देशको पहिलो कम्युनिस्ट प्रधानमन्त्री बने । काठमाडौं-१ र ३ बाट निर्वाचित भएका अधिकारीले काठमाडौं-१ छाडे । २०५२ सालमा भएको उपनिर्वाचनमा एमालेका नारायण ढकाल विजयी भए ।  

२०६२-०६३ को सालको जनआन्दोलनपछि भएको पहिलो संविधानसभाको चुनावमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल काठमाडौं- २ मा बदलिएको यसै क्षेत्रबाट पराजित भएपछि राजीनामा दिए । चुनावमा पराजित भएपनि मनोनित सांसदको रुपमा संविधानसभामा प्रवेश गरेका नेपाल प्रधानमन्त्री बने तर पार्टीको शीर्ष नेतृत्वमा फर्किने नेपालले गरेको प्रयास सफल हुन सकेन । उनलाई रोल्पाबाट चुनाव लड्न आएका माओवादीका झक्कु सुवेदीले पराजित गरेका थिए । 

२०७० सालको दोस्रो संविधानसभा तथा २०७४ सालको प्रतिनिधिसभा चुनाव नेता नेपालले यही क्षेत्रबाट चुनाव जितेका थिए । 

१० पटक चुनाव

यो निर्वाचन क्षेत्र देशकै सबैभन्दा बढी चुनाव भएको ठाउँमा पर्छ । २०४८, २०५१, २०५६ र २०७४ सालमा आमनिर्वाचन र २०६४ सालमा पहिलो र २०७० साल दोस्रो संविधानसभा चुनावको चुनाव भयो । तर यस क्षेत्रका मतदाताले ३ पटक उपनिर्वाचनमा पनि मत दिने अवसर पाए । २०५० सालमा मदन भण्डारीको निधन भएपछि त्यसै वर्षको माघमा पहिलो पटक उपनिर्वाचन भयो । २०५१ सालको माध्यवधि निर्वाचन एमाले अध्यक्ष मनमोहन अधिकारी काठमाडौं-१ को अतिरिक्त काठमाडौं-३ बाट पनि विजयी भए । पछि उनले काठमाडौं-१ छाडे । नारायण ढकाल एमालेको उम्मेदवार बने र जिते । २०५६ सालमा सुरुमै एमालेबाट मनमोहन अधिकारी नै उम्मेदवार रहेका थिए । तर उनको निधन भएपछि एमालेले प्रदीप नेपाललाई उम्मेदवार बनाएको थियो । त्यस समयमा एमालेबाट विभाजित भएर बनेको तत्कालीन नेकपा माले महासचिव बामदेव गौतम र पञ्चायतकालका चर्चित सांसद रुपचन्द्र विष्ट निर्वाचनमा प्रतिस्पर्धामा रहेका थिए । 

२०६४ सालको संविधान सभा चुनावमा  रोल्पाका जिल्ला विकास समितिका पूर्व सभापति झक्कुप्रसाद सुवेदीले एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई पराजित गरेर धेरैलाई आश्चर्यमा पारेका थिए । रौतहट-४ बाट पनि नेपाल पराजित भएपछि नेपालले महासचिवबाट राजीनामा दिएका थिए । तर उनले २०७० को दोस्रो संविधानसभा तथा २०७४ को प्रतिनिधिसभा चुनाव जिते । नेपालले २०७० सालको चुनावमा जितेको रौतहट-१ राखेर काठमाडौं छाडेका थिए । सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठलाई कांग्रेसका दीपक कुँइकेलले पराजित गरेका थिए । २०७४ सालमा नेपालले ठूलै मतान्तरले  जितेका थिए । समग्रमा दस पटक चुनाव हुँदा एमालेका उम्मेदवार यस क्षेत्रबाट ८ पटक विजयी बनेका छन् । 

स्पोर्ट सिटीदेखि युवा रोजगारसम्मको नारा

मंसिर ४ गते हुने चुनावमा करिब ८२ हजार मतदाता रहेको यस क्षेत्रमा राजनीतिक दलका १९ र १० जना स्वतन्त्र गरेर २९ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । यसपटकको चुनावमा सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रबाट पूर्व सभामुख ओनसरी घर्ती, नेकपा एमालेका मणिराम फुयाल, राप्रपाकी कुन्ती पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका सोबिता गौतम रहेका छन् । त्यसैगरी जसपाका गोपालबहादुर तण्डुकार, नेमकिपाका अनिल श्रेष्ठ, लोसपाका मधुसुदन गोर्खाली, जनमत पार्टीका गणेशप्रसाद पुडासैनी, मौलिक जरोकिलो पार्टीका गणेश पोखरेल, हाम्रो नेपाल पार्टीका कोषराज सुवेदी, नेपालका लागि नेपाली पार्टीका राममणि नेपाल, राप्रपा नेपालका महेश बास्तोला, मंगोल नेसनल अर्गानाइजेसनकी सीता तामाङ, गान्धीवादी पार्टीका विदुरप्रसाद सिम्खडा, राष्ट्रिय जनमुक्ति पार्टीका चिरञ्जिवी राई, कांग्रेस बीपीका हेमविक्रम सिलवाल, नेपालवादका ईश्वर गौतम, विवेकशील साझाका धनेज थापा, सचेत नेपाली पार्टीका पुण्यप्रसाद प्रसाईं रहेका छन् । स्वतन्त्र उम्मेदवारमा प्रकाश अधिकारी, काशीराज पुडासैनी, अनुप बोहोरा, विनोदप्रसाद घिमिरे, भगवती ढकाल, दिनेश खड्का, बलराम चौलागाईं, कृष्ण अधिकारी, कृष्णराम पुरी छन् । 

उम्मेदवारमध्ये घर्ती माओवादी केन्द्रका स्थायी कमिटीका सदस्य र पूर्वसभामुख हुन् भने शिक्षक छाडेर २०७४ सालमा  चुनाव लडेका फुयाल वाग्मती प्रदेशसभाका सांसद हुन् । राप्रपाकी उम्मेदवार पोखरेल विभिन्न धार्मिक तथा सामाजिक अभियानसँग जोडिएकी व्यक्ति हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सोबिता गौतम विभिन्न सामाजिक अभियान संलग्न अधिवक्ता हुन् ।

वृहत् रुपमा चुनाव प्रचार अभियान निर्वाचन आयोगको आचारसंहिताका कारण सुरु नगरेपनि दैनिक भेला बैठक र भेटघाटलाई उम्मेदवारहरुले तीव्र पारेका छन् । उनीहरुले मतदातालाई आकर्षित गर्नका लागि पुरानै खानेपानी, शिक्षा, सडक जस्ता विषयमा मात्रै नभएर मतदातासँग पुग्दा आफ्ना उम्मेदवारलाई बल पुग्ने विषयलाई अघि सारेका छन् । 

त्यही क्षेत्रमा बसोबास गर्ने उम्मेदवारले स्थानीय नेताले जित्नुपर्ने दाबी गर्दै आएका छन् भने बाहिरबाट गएका नेताहरुले बसाई सरेका आएकाहरुलाई लक्षित गरेर कार्यक्रम अघि सारेका छन् । ठूलो दलका उम्मेदवारहरुलाई केन्द्रबाट ठूलो विकास ल्याएर समग्र क्षेत्रको विकास गर्ने दाबी गरेका छन् । 

सत्तारुढ गठबन्धनकी उम्मेदवार रहेकी माओवादीकी ओनसरी घर्तीले समग्र क्षेत्रका विकास आयोजनाहरु सञ्चालन गर्ने योजना सारेकी छिन् । उनले पर्यटकीय गन्तव्यस्थल बनाउने योजना अघि सारेकी छिन् ।

‘पहिलो काम कानुन बनाउने हो । जनहित र जनाधिकारको नीति बनाउने हो । त्यो अनुभव पनि रहेको छ । म कानून बनाउँछु । जनताको दु:ख सुखमा साथ दिने भएकाले जनतासँग रहेको विकास निर्माणको काममा अघि बढ्छु,’ उनले भनिन्, ‘सामान्य विकास निर्माणको काम भईरहेको छ । पर्यटनको राम्रो संभावना भएको क्षेत्र हो,  त्यसमा मेरो ध्यान दिनेछु । साँखु नाङ्लेभारे भएर पहाडी राजमार्ग जोड्न जुन रुट छ त्यसलाई आकर्षक ठाउँको रुपमा विकास गर्छु ।’ उनले त्यसका लागि २ वर्षको समय तोकेकी छिन् । 

बज्रयोगिनी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्ने पहल गर्नेदेखि कागेश्वरी मनोहरालाई स्पोर्टस् सिटीको रुपमा विकास गर्न सकिने धारणा रहेको छ ।

‘सफा सुन्दर र व्यवस्थित सुरक्षित सहरको रुपमा विकास गर्ने । खानेपानीको समस्या पनि छ,’ घर्तीले समग्र क्षेत्रको विकास गर्न आएको बताइन् । पहिलो संविधानसभामा समानुपातिकबाट निर्वाचित भएकी घर्ती दोस्रो संविधानसभामा रोल्पाबाट विजयी भएकी थिइन् । २०७२ सालमा संविधान जारी भएपछि रुपान्तरित संसद्की सभामुख बनेकी थिइन् । २०७४ सालमा उनी पार्टीबाट समानुपातिक सांसद बनिन् । 

२०७४ सालको प्रदेशसभा सांसद बनेका फुयालले सांसद बनेर क्षेत्रमा विकास निर्माण साथै राष्ट्रिय राजनीतिमा भूमिका खेल्ने बताए । ‘२ नम्बरको क्षेत्रको सडक, शिक्षा, खानेपानी सहितको विषयमा जनताको अपेक्षा हुन्छन जनप्रतिनिधिको हैसियतले त्यो पुरा गर्ने नै छु,’ फुयालले भने ‘संसद् जाने जनप्रतिनिधिले देशको राजनीतिलाई दिशानिर्देश गर्ने प्रकारको भूमिका हुनुपर्दछ । देशलाई सही दिशामा लैजाने कुरा सार्थक र हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्छ ।’ 

अर्कोतर्फ राप्रपाकी उम्मेदवार पोखरेलले विकास निर्माणको अतिरक्त युवालाई राजनीतिमा सहभागिताको विषयलाई मुद्दा बना‌एकी छिन्। उनले  रैथाने उम्मेदवारलाई जिताउन नसक्दा निर्वाचन क्षेत्रमा विकास हुन नसकेको बताएकी छिन् । 

‘मूलधारको राजनीतिमा युवाहरु आउनुपर्छ भन्ने हो । अहिले भ्रष्ट राजनीति जति छ त्यसलाई परिवर्तन गर्नुपर्छ । जुनसुकै राजनीतिमा दलभित्र पनि युवाहरुको हस्तक्षेप हुनुपर्छ । देशभरभित्र स्वरोजगारका लागि नीति परिवर्तन गर्नुपर्छ,’ पोखरेलले भने, ‘यो उम्मेदवारी राष्ट्र र राष्ट्रियताका लागि पनि हो । धर्म र संस्कार बचाउने तथा युवाहरुका लागि काम गर्ने र यही २ नम्बर क्षेत्रको स्थानीय बासिन्दा भएको यहाँको दु:ख सुखमा साथ दिनका लागि उम्मेदवार भएको बताइन् ।’ 

३५ वर्षिय पोखरेल जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतम (२७ वर्ष) पनि युवाको राजनीतिमा हस्तक्षेपका लागि उम्मेदवार भएको बताउँछिन् । 

‘अहिलेका राजनीतिक दल र त्यसको सञ्जालमा रहेका युवा पुस्तामा  वितृष्णा निक्कै देखिन्छ । युवा पुस्तालाई राजनीतिप्रति आशा जगाउन पनि मेरो उम्मेदवार हो,’ उनले भनिन् ‘सांसद भनेको कानून निर्माण गर्ने व्यक्ति हो । मुद्दाको विषयमा अहिले यस क्षेत्रमा रहनु भएको उम्मेदवार भन्दा सक्षम छु भन्ने मेरो दाबी पनि हो । नीति बनाउने काम पनि प्राथमिकता राखेर हुन्छ ।’ 

उनले नयाँ बस्ती रहेको क्षेत्रलाई प्राथमिकतामा राखेर आफ्नो चुनावी अभियान सञ्चालन गर्दै आएकी छिन् । ‘अहिले अधिकांश बाहिर जिल्लाबाट आउनु भएका नयाँ मानिस हुनुहुन्छ’ उनले भनिन् । 

पोखरेलले भने स्थानीय व्यक्तिलाई जिताउनु पर्ने बताइन् । पोखरेलले स्थानीय व्यक्तिले यहाँबाट नजित्दा समग्र क्षेत्रको विकास हुन नसकेको बताइन् ।

‘स्थानीय उम्मेदवार नभएको कारणले २ नम्बर क्षेत्र काठमाडौंको कर्णाली बनेको छ’ पोखरेलले भनिन् ।

लगातार जस्तो सबै चुनाव जित्दै आएका एमालेका उम्मेदवार फुयालले भने विकास निर्माणदेखि सबै विषयमा पर्याप्त काम भएको दाबी गरे ।  उनी लामो समय एमालले चुनाव जिते पनि काम हुन नसकेको विषयलाई स्वीकार गर्दैनन् । ‘परिस्थिति कस्तो अवस्थामा काम गर्‍यौ, हामीले के के इनपुट दियौं र कुन प्रक्रियामा काम गर्‍यौ र त्यसले के परिणाम ल्यायो भनेर हेर्नुपर्छ,’ फुयालले भने ‘कस्तो अवस्था थियो र अहिले कस्तो भयो भनेर हेर्नुपर्छ । पृष्ठभूमिलाई पनि हेर्नुपर्छ र यसरी हेर्ने हो भने नेकपा एमाले फेल छैन, एमाले डिस्टिङ्सन मार्कसहित स्थापित छ ।’ 

जीतको आधार

फरक-फरक उम्मेदवारले जीतको आधार फरक-फरक भएको दाबी गरेका छन् । गठबन्धनकी उम्मेदवार घर्तीले आफ्नो योजना र गठबन्धनको मतको आधारमा चुनाव जित्ने बताइन् ।

‘अहिले म लडेको एक्लै होइन गठबन्धनले हो । स्थानीय तहमा हामीले राम्रो गरेका थियौं यसपटको चुनावमा पनि गर्नेछौं,’ घर्तीले भनिन् ‘अन्तर धेरै छ तर त्यति मात्रै होइन हाम्रो समग्र क्षेत्रको विकासका लागि जे योजना बनाएका छौं त्यसको आधारमा चुनाव जित्ने छौं ।’

गत स्थानीय चुनावमा काठमाडौंका वडाहरुमा पाँच दल र कागेश्वरी मनोहरामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । कागेश्वरी मनोहरामा एकीकृत समाजवादी एक्लै चुनाव लडेको थियो । कांग्रेसका उम्मेदवारले मेयर जिते पनि माओवादी केन्द्रको पराजित भएको थियो । एमालेले उपमेयर जितेको थियो । घर्तीले निर्वाचन क्षेत्रमा माओवादीको उपस्थिति कमजोर नभएको दाबी गरिन् । 

‘स्थानीय चुनाव पनि हामी गठबन्धनमै लडेको हो । अलग-अलग लडेको होइन, स्थानीय चुनावदेखि नै हामी एकले अर्कोलाई साथ दिएका छौं । स्थानीय चुनाव गठबन्धनमा नलडेको भए अर्को विषय थियो । सबै स्थानमा हाम्रा उम्मेदवार हुन्थे अनि बल्ल थाहा हुन्थ्यो,’ घर्तीले भनिन् ।

गत स्थानीय चुनावमा वडाध्यक्षहरुको मतको गणना गर्दा सबैभन्दा बढी एमालेको देखिन्छ । एमालेले १७ हजार ३ सय २८ मत प्राप्त गरेको छ । त्यसैगरी कांग्रेसले १४ हजार १ सय २९, नेकपा एकीकृत समाजवादीको ७ हजार ९ सय ११, राप्रपाले ७ हजार २ सय , माओवादीले ३ हजार १ सय ३१ मत प्राप्त गरेको थियो ।

एमालेका उम्मेदवार फुयाल स्थानीय तहको चुनावलाई आधार मानेर चुनाव जितहार भन्न नहुने बताउँछन् । उनले २०७० को दोस्रो संविधानसभा चुनाव र २०७१ सालको उपनिर्वाचनको परिणामलाई उदाहरण दिए । 

‘२०७० सालमा हामीले १० हजार मतान्तरले जितेका थियौं तर २०७१ को उपनिर्वाचन हुँदा हामी लगभग ५ हजार मतले हार्‍यौं’ फुयालले भने ‘स्थानीय तह चुनावको अंक गणितमा धेरै पटक उतार चढाव भएको छ । परिवेश, परिस्थिति सबै जनताको चाहाना सबैलाई हेर्दा यसपटक जोड लगाए पनि त्यो फल नआउने प्रकारको परिस्थिति छ ।’ उनले एमालेले नीति र सक्रियतामा बढी जोड दिए ।

राप्रपाकी पोखरेलले राप्रपा पहिले भन्दा राम्रो अवस्थामा रहेको बताइन् । शंखरापुर नगरपालिकाले राप्रपालाई काठमाडौं उपत्यकामा सफलता दिएको विषयले उत्साहित बनाएको पोखरेलले बताइन् ।  ‘मैले सामाजिक काम यही क्षेत्रमा गरेँ, कुन्ती आयो भने केही परिवर्तन गर्छ भन्ने छ,' पोखरेलले भनिन्  'शंखरापुर नगरपालिका जितेर खाता खोलेका छौं । यो राप्रपाको उपत्यकामा इन्ट्री गर्ने ठाउँ पनि हो। यसबीचमा त्यहाँ धेरै काम भएको छ ।'

अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतम  पुराना दलहरुको भूमिकाबाट आजित भएका मतदाताहरुले जिताउने बताउँछिन् । नयाँ-नयाँ मतदाता र नयाँ बस्तीलाई लक्षित गर्दै चुनावी अभियान सञ्चालन गरेको बताइन् । 

‘गत स्थानीय चुनावमा मतदाताले परिवर्तन खोज्नु भएको छ भनेर देखाइहाल्नु भयो’ गौतमले भनिन्, ‘पुरानो दलको विकल्पमा हामी आएका छौं । हामीलाई पनि स्वीकार्नु हुन्छ ।’

पूर्व सांसद ढकाल दलहरुसँगै मतदातामा असन्तुष्टि रहेको बताउँछन्। 'अहिले मतदाता असन्तुष्ट रहेका छन् । त्यसैले चुनाव खासै लागेको छैन तर चुनाव नजिकिँदै जाँदा त्यो कम हुँदै जान्छ' ढकालले भने । 

आमनिर्वाचन २०७९

मणि दाहाल विगत डेढ दशकदेखि पत्रकारितामा क्रियासिल छन् । उनी हाल इकान्तिपुरसँग आवद्ध रहेका छन्।

Link copied successfully