काठमाडौँ — देशभर प्रमुख राजनीतिक दलहरूबीचमै गठबन्धन छ । तर, काठमाडौं -३ मा भने कुनै पनि दलबीच गठबन्धन छैन । प्रतिनिधिसभा सदस्यका लागि आठ जना स्वतन्त्रसहित २३ उम्मेदवार छन् । नेकपा एमालेका कृष्णबहादुर राई र नेपाली कांग्रेसका सन्तोष चालिसेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । राई र चालिसे दुवै एकपटक जनप्रतिनिधि भएर जनताको बीचमा परीक्षण भइसकेका नेता हुन् ।
राई यही क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद् हुन् । उनले ०७४ को निर्वाचनमा वामगठबन्धनबाट कांग्रेसकी अम्बिका बस्नेतलाई पराजित गरेका थिए । त्यसबेला राईले १९ हजार १६९ मत पाएका थिए भने बस्नेतले १४ हजार ८८४ मत ल्याएकी थिइन् । कांग्रेस नेता बस्नेत यसपटक समानुपातिकमा बसेकी छिन् । यो क्षेत्रमा काठमाडौं महानगरपालिकाको वडा नं ६, कागेश्वरी नगरपालिकाको वडा नं १, २ र ३ तथा गोकर्णेश्वर नगरपालिकाका सबै वडा पर्छन् ।
कांग्रेस उम्मेदवार चालिसे यसअघि गोकर्णेश्वर नगरपालिकाको मेयर थिए । उनी हाल कांग्रेसको क्षेत्रीय कार्यसमितिको सभापति समेत हुन् । सांसदमा निर्वाचित भएपछि क्षेत्रका जनतासँग नजिक भएर सेवा गर्न नपाएका राईलाई मेयरको रुपमा पाँच वर्षसम्म जनतासँगै काम गरेका चालिसेले कडा टक्कर दिएका छन् । चालिसे आफू मेयर हुँदा राम्रो काम गरेका कारण यसपटक पालिकाको त्यही अनुभवसहित संसद्को ढोका खुल्ने दाबी गर्छन् । राई भने पाँच वर्षसम्म आफूले गरेका कामको प्रचार र मेयर हुँदा चालिसेले गरेका कमजोरी बटुलेर उनीविरुद्व जित निकाल्ने दाउमा छन् । तर राईलाई आफ्नो जित दोहोर्याउन भने निकै कठिन पर्ने देखिएको छ । उनीमाथि क्षेत्रको विकासमा काम गर्न नसकेको आरोप छ ।
स्थानीय तहको मतपरिणामको आधारमा कांग्रेस अगाडि देखिन्छ । स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकामा कांग्रेसले एक्लौटी जितेको छ भने कागेश्वरी नगरपालिकामा पनि गठबन्धनबाट मेयरमा कांग्रेस उम्मेदवार नै विजयी भएका थिए । काठमाडौं महानगरपालिका–६ को वडाध्यक्ष पनि कांग्रेसले नै जितेको थियो । स्थानीय तहको परिणामअनुसार कांग्रेसका वडाध्यक्षले पाएको मत १५ हजार ७९५ छ भने एमालेका वडाध्यक्षले पाएको मत १४ हजार ८७६ छ । यहाँ माओवादी केन्द्रले एक हजार ७३०, राप्रपाले एक हजार ३१४ र नेकपा एकीकृत समाजवादीले एक हजार ५६ मत पाएको थियो ।
सांसदको भूमिका राम्रो निभाएको छु, दोहोरिनेमा ढुक्क छु : राई
क्षेत्रको विकासमा काम गर्न नसकेको आरोप खेपेका एमाले उम्मेदवार निवर्तमान सांसद राई आफूले पाँच वर्षसम्म प्रतिनिधिसभा सदस्यको भूमिका राम्रोसँग निभाएको भन्दै त्यसको मूल्यांकन हुने दाबी गर्छन् । उनले यसपटक पनि आफू दोहोरिनेमा विश्वस्त रहेको बताए ।
‘एउटा सांसद्लाई भोट दिनु भनेको क्षेत्रको विकास होइन, प्रतिनिधिसभामा गएर आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्ने, राष्ट्रिय नीति निर्माण र संघीय सरकार निर्माणमा भूमिका खेल्ने हो, सांसदले स्थानीय सरकारले जस्तो विकास निर्माणको काम गर्न सक्दैन,’ राई भन्छन्, ‘त्यसमाथि सांसदलाई आर्थिक अधिकार हुने पनि होइन । त्यसैले स्थानीय जनप्रतिनिधि र सांसदको जिम्मेवारीका बीचमा थुप्रै भिन्नताहरू छन् । जनताले यो भिन्नता बुझ्नु आवश्यक छ ।’
उनले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यक्ति छान्ने चुनावको रुपमा बुझ्न नहुने बताए । ‘स्थानीय चुनावमा व्यक्ति चुन्ने हो । संसदीय चुनावमा पार्टी छान्ने हो । दलको एजेन्डा हेरेर दललाई मत दिने हो, हाम्रो दलको घोषणापत्र आउँदैछ,’ उनले भने, ‘हामीले विगतमा जुन समृद्ध नेपाल सुखी नेपालीको उदेश्य राख्यौं, त्यसैका बाँकी कार्यभारहरू छन्, तिनै सपनाहरू पूरा गर्नका लागि हामीले प्रयत्न गर्छौँ ।’
उनले एउटा सम्पन्न मुलुक बन्नका लागि त्यो देशको आर्थिक अवस्थामा सुधार हुनु अत्यावश्यक हुने बताए । ‘हाम्रो आर्थिक अवस्था सम्पन्न गर्नका लागि के कस्ता रणनीतिक योजनाहरू चाहिन्छन् ? हाम्रो विदेश नीति कस्तो हुने ? पूर्वाधार, शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रमा कस्ता योजनाहरू ल्याउने ? भन्ने कुरा संसदीय चुनावमा निर्भर हुन्छ,’ उनले भने, ‘यसका लागि मतदाताले व्यक्तिभन्दा बढी पार्टीलाई हेर्ने हो ।’
उनले एउटा सांसदको रुपमा आफूले आफ्नो क्षेत्रमा पनि अब्बल काम गरेको दाबी गरे । ‘गाउँमा पहिरो गयो भने सबैभन्दा त्यहाँ वडाध्यक्ष, मेयर नै पुग्छ । सांसद पुग्ने होइन । किनभने त्यो जिम्मेवारी नै स्थानीय जनप्रतिनिधिको हो,’ उनी भन्छन्, ‘एउटा सांसदले ६–८ महिना त संसद्मै बिताउनुपर्ने हुन्छ । नीति निर्माणको लागि काम गर्नुपर्ने हुन्छ । त्यति हुँदा पनि म क्षेत्रका अधिकांश समस्याहरूको समाधानको लागि फिल्डमै पुगेर काम गरेको छु ।’
उनले आफू समाजवादउन्मुख समाज निर्माणको अभियानमा रहेको बताए । ‘अबको नेपाली समाज समाजवादउन्मुख हुनुपर्छ । संविधानले परिकल्पना गरेकै त्यही समाज हो,’ उनले भने, ‘सामाजिक र सांस्कृतिक कुराहरूको परिवर्तनसहितको समाज बनाउनुपर्नेछ । कुनै पनि जाति, धर्म वा संस्कृतिको आधारमा हुने विभेदको अन्त्यसहितको समाज निर्माण गर्नुपर्नेछ ।’
उनले सबैभन्दा धेरै बेरोजगारीको समस्या रहेकाले सरकारले रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताए ।
नगरमा नमुना काम गरेँ, अब क्षेत्रलाई बनाउन चाहन्छु : चालिसे
वडाध्यक्ष, गाविस अध्यक्ष हुँदै गोकर्णेश्वर नगरपालिकाको प्रथम मेयर बनेका चालिसे आफ्नो कामले नगर क्षेत्रमा मात्रै, काठमाडौं उपत्यका र देशभर नै चर्चित छन् । उनको नेतृत्वमा रहँदा गोकर्णेश्वर नगरपालिका उत्कृष्ट नगरपालिकासमेत घोषणा भएको थियो । उनले गोकर्णेश्वरमा फोहोर व्यवस्थापनका लागि भित्राएको जापानी प्रविधि सफल हुँदा उनी मेयरको रुपमा देशभर प्रख्यात छन् ।
नेता चालिसेले आफूले मेयर हुँदा जनताको माझमा आफूलाई प्रमाणित गरेको, र अब क्षेत्रको विकासमा समेत उसैगरी काम गर्न चाहेको दाबी गरे । ‘म लामो समयसम्म जनताको सेवा गरेको मान्छे हुँ । वडाध्यक्ष, गाविस अध्यक्ष हुँदै प्रथम मेयर भएर काम गरिसकेको मान्छे हुँ । मलाई यहाँ कस्ता समस्या छन् ? कसरी समाधान हुनसक्छ भनेर राम्रो ज्ञान छ,’ उनले भने, ‘म संसद्मा पुगेपनि यहाँका मतदाताको राम्रो प्रतिनिधित्व गर्न सक्छु भन्ने लाग्छ ।’
उनले आफूले गोकर्णेश्वर नगरपालिकामा मेयरको रुपमा नमुना काम गरेको र देशकै उत्कृष्ट नगरपालिकाको रुपमा चिनाएको दाबी गरे । ‘७५३ पालिकामै कसैले गर्न नसकेका कामहरू मैले गरेको छु । आज उपत्यकामा फोहोरमैला व्यवस्थापन मुख्य समस्या छ । हामीले गोकर्णेश्वरमा जापानी प्रविधि भित्राएर फोहोर व्यवस्थापनमा उत्कृष्ट कामको थालनी गरेका छौं, यही प्रविधि भित्राउन अहिले प्रतिस्पर्धा हुने अवस्था छ, काठमाडौंका मेयर बालेन शाहदेखि अन्य सहरका मेयरहरू यो प्रविधि भित्राउन उत्साहित हुनुहुन्छ,’ उनले भने, ‘मैले नगरपालिकामा एउटा सिस्टम बनाएको छु, जसले गोकर्णेश्वरलाई आर्थिकरुपमा समृद्ध बनाएको छ ।’
उनले आफू मेयर भएपछि नगरपालिकाको कर प्रणालीमा सुधार गरेको दाबी गरे । ‘पहिले नगरपालिकाको वार्षिक आम्दानी ७ करोड थियो । अहिले त्यो ६० करोडभन्दा धेरै छ, हामीले यो पाँच वर्षमा नगरपालिकामा जुन कर प्रणाली तयार गर्यौं, त्यो व्यवहारिक र नगरपालिकाको लागि समेत लाभदायी छ,’ उनले भने ।
उनले आफ्नो कार्यकालमा स्थानीय पाठ्यपुस्तक लागू, वडा भवनहरू निर्माण, सडक, पूर्वाधार र खानेपानीको सुविधा विस्तारमा उल्लेख्य काम गरेको बताए ।
‘हाम्रो क्षेत्रमा सकुम्बासी समस्या छ । शान्ति सुरक्षाको वातावरण छैन । वाग्मती नदीलाई स्वच्छ र हराभरा बनाउने नारामात्रै धेरै भएको छ, काम भएको छैन,’ उनले भने, ‘म ती अधुरा रहेका कामहरूलाई संघीय सरकारमार्फत पूरा गराउँछु ।’
को–को छन् चुनावी मैदानमा ?
यहाँबाट नेकपा माओवादी केन्द्रले केन्द्रीय सदस्य बद्रीप्रसाद बजगाई (४८)लाई उम्मेदवार बनाएको छ । जनता समाजवादी पार्टीका मोहनकुमार विश्वकर्मा (४७), राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश गिरी (४८), नेपाल मजदुर किसान पार्टीका विशोक डंगोल (३७), लोकतान्त्रिक समाजवादी पार्टीका मोहनबहादुर बस्नेत (३७), जनमत पार्टीका गोविन्द नेपाल (५८), मौलिक जरोकिलो पार्टीका समिना न्यौपाने (३४), हाम्रो नेपाली पार्टीका द्वारिका अधिकारी (३६), मंगोल नेशनल अर्गनाइजेसनका कृष्णकाजी श्रेष्ठ (६३), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नुर्पु गेन्जेन सेर्पा (४४), सामाजिक लोकतान्त्रिक पार्टीका रक्षकुमार राई (३५), आमूल परिवर्तन मसिहा पार्टीका नेत्रबहादुर तामाङ (३८), राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापा क्षेत्री (५४) उम्मेदवार छन् ।
त्यस्तै, केदारनाथ मिश्र (५५), दिनेश खनाल (४५), कविता विष्ट सुनार (३२), राजेश विष्ट (५३), विन्दु मगर (५५), श्रीकृष्ण ज्योती (५२), जगन्नाथ देवकोटा (६६), निरञ्जन पुडासैनी (४३) ले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
