सरकारी साधन उपयोगको निगरानी तथा अनुसन्धान गर्न अख्तियारलाई निर्वाचन आयोगको पत्र

कार्तिक ७, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा सरकारी साधन स्रोतको प्रयोग कानुन अनुसार भयो कि भएन भन्नेबारे आवश्यक निगरानी र अनुसन्धान गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेको छ । आयोगले हेलिकोप्टर तथा अन्य सरकारी साधनस्रोतको प्रधानमन्त्री, मन्त्रीहरू र प्रदेश सरकारमा रहेका व्यक्तिहरूले उपयोग गरेकोबारे अनुसन्धान गर्न सोमबार अख्तियारलाई पत्र लेखेको हो । 

आयोगको बैठकले निर्वाचन आचारसंहिता पालना गर्नका लागि पटकपटक राजनीतिक दलहरूको ध्यानाकर्षण गर्दै आएको, राजनीतिक दलका प्रमुख पदाधिकारीबाट निर्वाचन आचारसंहिता पालनाको प्रतिबद्धता समेत प्राप्त गरेको तर 'निर्वाचनका सन्दर्भमा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री लगायतका पदाधिकारीले निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्यको लागि हेलिकप्टर लगायत सरकारी स्रोत साधनको प्रयोग गर्ने गरेको भनी विभिन्न माध्यमबाट सूचना प्राप्त भएकोले' अख्तियारलाई पत्र लेख्नुपरेको उल्लेख गरेको छ ।

आयोगले अख्तियारलाई पत्र लेख्नुको कारणबारे भनेको छ, 'निर्वाचन प्रचार प्रसारका सन्दर्भमा सरकारी साधन स्रोत (हेलिकप्टर तथा अन्य साधन समेत) प्रयोग गर्नु निर्वाचन आचारसंहिताको प्रतिकूल हुनुको साथै यदि अख्तियारको दुरुपयोग भएको हो भने निर्वाचन प्रचार प्रसारका सन्दर्भमा हेलिकप्टर लगायतका सरकारी साधनको उपयोग भएको विषयमा आवश्यक निगरानी तथा अनुसन्धान गरीदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाउने ।'

आमनिर्वाचन २०७९

कान्तिपुर

Link copied successfully