हेभिवेटविरुद्ध साइकलमा प्रचार

कार्तिक ७, २०७९

मनोज पौडेल

(कपिलवस्तु) — कार्यकर्ताको लावा–लस्करविहीन उनीसँग न गाडी–मोटर छ, न पर्चा, पम्प्लेट र पोस्टर नै । उनीसँग एउटा सामान्य साइकल छ । संयोग कस्तो भने उनको चुनाव चिह्न पनि साइकल नै परेको छ । साइकलमै दिनभरि उनी एक्लै गाउँ घुम्दै मत मागिरहेका छन् । उनी हुन्, कपिलवस्तु १ बाट संघीय संसद्मा उठेका कपिलवस्तु नगरपालिका धमौलीका ६४ वर्षीय रवीन्द्रनाथ मिश्र ।

सामान्य प्रचारशैली अपनाएका मिश्र सत्ता गठबन्धनका माओवादी केन्द्रका केन्द्रीय सचिव चक्रपाणी खनाल र एमालेका केन्द्रीय सदस्य बलराम अधिकारीजस्ता हेभिवेटविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । राजनीति र अर्थशास्त्रमा स्नातक मिश्रले गजेन्द्रनारायण सिंह नेतृत्वको सद्भावना पार्टीबाट राजनीति सुरु गरेका हुन् । जीवनमा लाभको पददेखि उनी सधैं टाढा रहे । २०४७ देखि सद्भावना पार्टीको राजनीति गरेको भए पनि टाठाबाठाले नै बढी लाभ लिए । तर पनि उनले राजनीतिप्रतिको इमानदारी, त्याग र निष्ठा भने छोडेनन् । फट्याइँ गरेनन् । झूटो बोलेनन् । सबैलाई आदरसम्मान गरिरहे । त्यही भएर उनलाई सबैले सम्मान गर्छन् । उनी जिल्लाको निष्कलंक र सादगीपूर्ण राजनीतिका पर्याय जस्तै बनेका छन् ।

मधेस र मधेसी जनतामाथिको विभेद र अन्याय देखेर २०४७ सालदेखि सक्रिय राजनीतिमा लागेका उनले सद्भावना पार्टीबाट राजनीति सुरु गरेका हुन् । अहिले पनि त्यही पार्टी जुट्दै फुट्दै बनेको लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय सदस्य छन् । लोसपाबाट उम्मेदवार बनेका उनी बिहानै ८ बजे घरबाट खाना खाएर प्रचारमा निस्कन्छन् । दिउँसो चिया बिस्कुट र भुजा खाजा खान्छन् । साँझ ८ बजे घर फर्किन्छन् ।

साइकलमा चुनावी चिन्ह अंकित झण्डा फहराउँछन् । पछाडि प्लास्टिकको एउटा झोला च्याप्छन् । त्यसमा सानो प्रचार सामग्री कार्ड र उम्मेदवार परिचयपत्र राखेर डुलिरहेका छन् । मतदातालाई आफ्नो नाम र चिन्ह रहेको कार्ड दिन्छन् । ८ हजार छापेको कार्ड पनि सकिन लागेको छ । ‘एउटाको डेढ रुपैयाँ परेको छ । त्यही भएर जथाभावी बाँड्दिनँ,’ उनले भने, ‘फेरि अर्डर दिन साथीभाइ गुहारेको छु ।’ सक्दासम्म साइकलसँगै एक्लै प्रचार गर्ने योजना रहेको उनले सुनाए । उनी २०४८ मा संसदीय निर्वाचन र २०६४ मा संविधानसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका थिए । सद्भावना पार्टीको सहमहामन्त्री र संसदीय समिति सदस्य रहेका उनी मधेसको हकअधिकार स्थापित गर्न निर्वाचन लडेको बताउँछन् । ‘गाउँमा चुनाव प्रचार गर्न तडकभडक गरेर आउनेको पछि लाग्ने धेरै छन्,’ उनले भने, ‘तर, मलाई हीनताबोध छैन, यसमै आनन्द छ ।’

लोसपाका धेरै जिल्ला पदाधिकारी र सदस्य एमालेमा प्रवेश गरेपछि आफूमाथि पार्टीको अस्तित्व बचाउने चुनौती आइपरेको उनले सुनाए । ‘२० वर्षअघि क्यान्सर जितें,’ उनले भन्,े ‘६ महिना भारतको लखनउमा उपचार गरेर पार्किन्सन र अल्जाइमरजस्ता घातक रोगबाट उन्मुक्ति पाएँ । अब पालो चुनाव जित्ने हो ।’ राजनीतिमा गरेको त्याग, संघर्ष र योगदानले गाउँ पुग्दा सम्मान पाउने गरेको उनले बताए । त्यही नै आफ्नो जितको आधार भएको उनको दाबी छ । उनी सामान्य कृषक हुन् । ५ कट्ठा खेत बेचेर २ लाख रुपैयाँ चुनाव खर्च जुटाएको उनले सुनाए । ‘केही साथीभाइले सहयोग गर्छु भनेका छन्,’ उनले भने, ‘त्यति नै रकमले पूरै चुनाव उम्क्याउने योजना छ ।’ 

उनी दैनिक ४० देखि ५० किलोमिटर साइकलमै घुम्छन् । ‘२० गाउँ डुलिसकें,’ उनले भने, ‘अब २५ गाउँ जान बाँकी छ ।’ बाटो, चोक, गाउँघर र खेतमा पनि उनी भलाकुसारी गर्दै मत माग्छन् । उनलाई देख्दा धेरै मान्छे अचम्म पर्छन् । पञ्चायतविरुद्ध उनले २०३६ सालको जनमतसंग्रहमा बहुदलमा लागेर प्रचार गरेका थिए । राजनीति सेवा भएको र सेवाको राजनीति गर्न निष्ठावान् व्यक्ति नै जरुरी हुने तिलौराकोट साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जयप्रकाश पाण्डेले बताए । ‘यस्ता राजनीतिज्ञलाई सम्मान गर्न हामीले सिक्नुपर्छ,’ उनले भने, ‘भड्किलो प्रचारबिनाको सादगी शैलीले चुनाव जितेर गए भने मात्र यस्ता व्यक्तिले जनताका लागि सोच्न सक्छन् र सोच्ने फुर्सद पनि पाउँछन् ।’ मिश्रको राजनीतिप्रतिको त्याग, निष्ठा र अहिलेको प्रचारशैली अचम्मलाग्दो नै रहेको उनले बताए ।

आमनिर्वाचन २०७९

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully