सांसद दोहोरिने मगरको दाउ

कार्तिक ७, २०७९

भवानी भट्ट

कञ्चनपुर — आसन्न निर्वाचनअन्तर्गत कञ्चनपुर क्षेत्र–१ मा सत्ता गठबन्धनबाट माओवादी नेता बिना मगर प्रतिस्पर्धामा छिन् । २०७४ मा वाम गठबन्धनबाट चुनाव जितेर मन्त्रीसमेत भएकी मगर तेस्रो पटक चुनावी मैदानमा छिन् । २०७० सालको संविधानसभामा कांग्रेसका दिवानसिंह विष्टसंँग पराजित उनी यस पटक भने कांग्रेससहितको गठबन्धनको साथले दोस्रो पटक संसद् छिर्ने दाउमा छिन् । उनी माओवादी अध्यक्ष पुष्पकमल दाहालकी बुहारीसमेत हुन् ।

अघिल्लो निर्वाचनमा उनका सहयात्री रहेका एमालेका तारा लामा तामाङ यसपटक मुख्य प्रतिस्पर्धी छन् । यसअघि मगर प्रतिनिधिसभामा चुनाव लड्दा तामाङ क्षेत्र–१ (१) बाट प्रदेशसभा सदस्यका लागि मैदानमा थिए । २०५४ सालमा तत्कालीन कालिका गाविसको अध्यक्षमा २४ वर्षकै उमेरमा निर्वाचित भई चर्चामा आएका तामाङ एमाले कञ्चनपुरको सचिव र अध्यक्ष हुँदै लामो समय पार्टीको जिल्ला नेतृत्वमा रहे । अघिल्लो निर्वाचनमा प्रदेशसभा सदस्य बनेका उनी यस पटक प्रतिनिधिसभा सदस्य बन्ने ध्याउन्नमा देखिन्छन् ।

तर, एमाले विभाजनका बेला उनी नेकपा (एकीकृत समाजवादी) तर्फ खुलेका थिए । केही समय सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्रीसमेत बने । एकाएक मन्त्रीबाट हटाइएपछि असन्तुष्ट उनी गत भदौमा फेरि एमाले फर्किएका हुन् । मगर र तामाङ दुवैको बसोबास पुनर्वास नगरपालिकामा छ । दुवै जनजाति समुदायका पनि हुन् । पुनर्वासमा तामाङ समुदायको बाहुल्य छ । त्यसकारण तामाङलाई केही फाइदा हुने आकलन गरिएको छ तर एमालेकै खेम सुवेदीले उनीविरुद्ध बागी उम्मेदवारी दिएकाले चुनौती व्यापक देखिन्छ ।

क्षेत्र–१ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट नन्दकुमार रानाले पनि उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा राना र थारू समुदायको बाहुल्य रहेका कारण पनि उनी प्रतिस्पर्धामा माथिल्लो तहमै रहने देखिन्छ । ‘विकास र समृद्धिसँगै पहिचानका लागि हाम्रो लडाइँ जारी छ, हामी यही चुनावी एजेन्डा बोकेर निर्वाचनमा होमिएका छौं,’ रानाले भने, ‘शोषण, दमन र अत्याचारविरुद्ध हामी लडिरहेका छौं ।’

कसका एजेन्डा के ?

अर्कोतर्फ आफू मन्त्री हुँदा गरेका कामलाई निरन्तरता दिँदै थप नयाँ योजनाका साथ चुनावी घरदैलोमा छिन् मगर । उनले मन्त्री भएकै बेला बेलौरी नाका खुलाउने विषयमा छलफल भएको थियो तर कोरोना संक्रमणका कारण अघि बढ्न सकेको थिएन । ‘बेलौरी नाका खुलाउने, सीमाको समस्या समाधान गर्ने र दोदा नदीको कटान नियन्त्रण मेरो प्राथमिकतामा रहन्छ,’ मगरले भनिन्, ‘अहिले पनि सीमा विवादका कारण कतिपय किसानले आफ्नै जमिनमा खेतीपाती गर्न पाएका छैनन्, यो समस्या जसरी भए पनि समाधान गर्नेछु ।’ उनले अस्पताल निर्माणसँगै खानेपानीको समस्या समाधान पनि आफ्नो एजेन्डा रहेको बताइन् ।

प्रदेशको आर्थिक मामिलामन्त्री हुँदा तामाङले ‘बोर्डर करिडोर’ को योजना ल्याएका थिए । पुनर्वासको बीचफाँटादेखि बेलौरीको भुडासम्म २७ किलोमिटर करिडोर निर्माणको योजना अघि सारेकोमा त्यसलाई निरन्तरता दिँदै बेलडाडीको झिलमिलासम्म पुर्‍याउने उनले बताए । बीचफाँटादेखि भुडासम्म करिडोर निर्माणको ठेक्का प्रक्रिया सुरु भएको उनको दाबी छ । ‘दोदा नदीको कटान नियन्त्रणका लागि दीर्घकालीन योजना बनाएर यसको उपयोगमा समेत विशेष ध्यान दिइनेछ,’ तामाङले भने, ‘विद्युत् सेवा पनि स्तरीय छैन, यहाँ १३२ केभीएको लाइन विस्तार गरिनेछ ।’ उनले लालझाडीमा राना पर्यटकीय गाउँ निर्माणसँगै मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि पनि पहल गरिने बताए ।

को बलियो ?

यो क्षेत्रमा पुनर्वास र बेलौरी नगरपालिका तथा लालझाडी र बेलडाडी गाउँपालिका पर्छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार चारवटै पालिका गरी कुल ९९ हजार १ सय १० मतदाता छन् । गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा पुनर्वास र बेलडाडीको प्रमुख–उपप्रमुखमा कांग्रेस विजयी भएको थियो । लालझाडीमा प्रमुख र उपप्रमुखमा एमाले विजयी हुँदा बेलौरी प्रमुखमा माओवादी केन्द्र र उपप्रमुखमा एमालेलै बाजी मारेको थियो ।

वडाध्यक्षहरूको मतभार हेर्दा यो क्षेत्रमा गठबन्धन उम्मेदवार मगर बलियो देखिन्छन् । स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षले १९ हजार ७ सय ७३, कांग्रेसकाले १८ हजार ६ सय ६०, माओवादीकाले १५ हजार २ सय ४९ र एकीकृत समाजवादीकाले ३ हजार ५ सय २१ मत पाएका थिए । तर, मगरप्रति लामो समय मन्त्री भएर पनि आफ्नो क्षेत्रमा उल्लेखनीय काम नगरेको गुनासो स्थानीयमाझ छ । अर्कोतर्फ एमालेका तामाङमाथि पनि विभाजनका बेला एमाले छाडेको र स्वार्थ पूर्ति नभएपछि पुनः एमाले फर्किएको आरोपसमेत छ ।

आमनिर्वाचन २०७९

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully