कांग्रेस महामन्त्री थापालाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

कार्तिक ६, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार गगनकुमार थापालाई स्पष्टीकरण सोधेको छ । आफ्ना निर्वाचन क्षेत्रका बासिन्दालाई नि:शुल्क डेंगी परीक्षण तथा परामर्श सेवा दिने, बिरामीलाई चिकित्सकीय परामर्श उपलब्ध गराउने भन्दै थापाले सामाजिक सञ्जालमा ट्वीट गरेको उजुरीको आधार २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको आयोगले जनाएको छ । 

स्पष्टीकरण पत्रमा भनिएको छ, 'निर्वाचन आचारसंहिता लागू भइसकेको जानकारी हुँदाहुँदै तपाईंले निर्वाचन आचारसंहिताविपरीत हुनेगरी ट्वीटरमार्फत मतदातालाई प्रभावित गर्ने कार्य देखिएकाले कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।'

'निर्वाचनमा मतदातालाई स्वतन्त्ररूपमा मतदान गर्न पाउने अन्तरनिहीत हक रहेको सन्दर्भमा निर्वाचनको स्वच्छता र निष्पक्षताको प्रतिकूल हुने गरी ‘निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा र आवश्यक चिकित्सकीय परामर्श सेवा प्रदान गर्छौं’ भन्ने समेत विषय उल्लेखित ट्वीट तपाईंले नै गर्नुभएको होइन भन्ने आधार र कारण के छ ? साथै तपाईंले आफ्नो ट्वीटर एकाउन्टमार्फत गर्नुभएको सार्वजनिक सूचना निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (न) प्रतिकूल भई उक्त कार्यबाट निर्वाचन आचारसंहिताको उल्लंघन हुन गएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिमको कारबाही किन हुनु नपर्ने हो ?,' थापालाई स्पष्ट पार्न भनिएको छ । 

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (न) मा ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ व्यवस्था छ ।

‘फेरि पनि काठमाडौं क्षेत्र नं. ४ का बासिन्दाको निम्ति निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौं,’ ‘डेंगीको बिरामी भई घरमै बस्नुभएकाहरूका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौं र तपाईंलाई डेंगीको परीक्षण र परामर्श आवश्यक भएमा मोबाइल नम्बर ९८६०३४०५८७ मा आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर एसएमएस गर्नु हुन अनुरोध छ,’ भन्ने ब्यहोराको ट्वीट गरिएको भनी थापाविरुद्ध आयोगमा उजुरी परेको जनाइएको छ ।

आमनिर्वाचन २०७९

कान्तिपुर

Link copied successfully