खतिवडा र बानियाँलाई आयोगले सोध्यो स्पष्टीकरण

कार्तिक ६, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार एकीकृत समाजवादीका विरोध खतिवडा र मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभाका उम्मेदवार कांग्रेसका इन्द्रबहादुर बानियाँलाई स्पष्टीकरण सोधेको छ ।

विद्यार्थीहरूलाई रुपैयाँ दिएको भन्ने समाचार प्रकाशित भएको आधारमा खतिवडा र बानियाँलाई २४ घण्टे स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । खतिवडा र बानियाँले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने मनहरी क्याम्पसका विद्यार्थीहरूलाई भ्रमणका लागि अग्रिम सहयोग रकम जनही १५ हजार रुपैयाँ उपलब्ध गराएको विषय सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि आयोगले २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको हो ।

आयोगले पत्रमा निर्वाचन आचारसंहिता, २०७९ को परिच्छेद २ को दफा ४ (न) मा 'कसैले पनि कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने' स्मरण गराएको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदाफा (१) मा कुनै पनि उम्मेदवारले मतदातालाई प्रभाव पार्ने गरी नगद, जिन्सी दिन वा लिन नहुने भनी उल्लेख गरिएको छ । आयोगले पत्रमा भनेको छ, 'तपाईंबाट आफ्नो क्षेत्रका मतदातालाई प्रभाव पार्ने गरी रकम हस्तान्तरण भएको बारे के कसो भएको हो ? यदि तपाईँबाट नगद वितरण कार्य भएको हो भने निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र उपदफा (४) तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २१ को उपदफा (२) बमोजिम किन कारबाही हुनुनपर्ने हो ?'

कुनै पनि माध्यमबाट स्पष्टीकरण सोधिएको पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले भनेको छ । 

आमनिर्वाचन २०७९

कान्तिपुर

Link copied successfully