पाल्पामा समानुपातिकतर्फको ४ लाख ५१ हजार मतपत्र आइपुग्यो 

कार्तिक ६, २०७९

माधव अर्याल

पाल्पा — आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पाल्पालाई आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र आइतबार आइपुगेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको ४ लाख ५१ हजार थान मतपत्र रुजु गरेर भण्डारण गरिएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिए ।

निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत गोपालप्रसाद ढकालले निर्वाचन क्षेत्रमा ९६ हजार ३६ मतदाता रहेकामा प्रतिनिधिसभातर्फका लागि एक लाख ६ हजार थान मतपत्र प्राप्त भएको छ । 

प्रदेशसभा १ (१) मा ४९ हजार २ सय ५१ मतदाताका लागि ५६ हजार थान र प्रदेशसभा १ (२) मा ४६ हजार ७ सय ८२ जना मतदाताका लागि ५३ हजार थान मतपत्र प्राप्त भएको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिए । 

निर्वाचन क्षेत्र नं २ मा एक लाख ५ हजार २ सय ९३ मतदाताका लागि प्रतिनिधिसभातर्फ १ लाख १६ हजार थान मतपत्र प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद बस्यालले जानकारी दिए । उनका अनुसार २ नम्बर निर्वाचन क्षेत्रको प्रदेशसभा (१) मा ५६ हजार १ सय २० रहेकामा ६४ हजार र २ (२)का लागि ४९ हजार १ सय ७३ मतदाता रहेकामा ५६ हजार थान मतपत्र प्राप्त भएको छ । 

निर्वाचनका लागि जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा २ लाख १ हजार ३ सय २६ मतदाता कायम छन् । जिल्लाभरमा एक सय १८ मतदानस्थलमा दुई सय ४६ मतदान केन्द्र कायम गरिएको छ ।

आमनिर्वाचन २०७९

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully