वीरेन्द्रनगर — कर्णाली प्रदेशमा सिफारिसको समयमा धमाधम आकांक्षी महिलाहरूको नाम अगाडि आए पनि अन्नतः उम्मेदवारी दर्तापछि भने महिलाको संख्या न्यून छ । प्रत्यक्ष निर्वाचनमै आकांक्षी रहेका महिला उम्मेदवारलाई ठूला दलहरूले फेरि पनि समानुपातिकमै थन्क्याएका छन् ।
प्रतिनिधिसभाका १२ र प्रदेशसभाका २४ निर्वाचन क्षेत्र रहेको प्रदेशमा जम्मा ८ जना मात्र उम्मेदवार महिला छन् । जसमा ५ जना प्रतिनिधिसभातर्फ र ३ जना प्रदेशसभातर्फ उम्मेदवार छन् । सत्तारूढ गठबन्धनले एक महिलालाई मात्रै उम्मेदवार बनाएको छ । जो माओवादी केन्द्रकी गोमा गौतम (कुँवर) हुन् । उनी जुम्लामा प्रतिस्पर्धा गर्दै छिन् । कुँवरको प्रतिस्पर्धा एमालेका रतननाथ योगी र राप्रपाका ज्ञानेन्द्र शाहीसँग हुँदै छ । माओवादीले उनै एक महिलालाई मात्र उम्मेदवार बनाउँदा अन्य ठूला दलहरू कांग्रेस, एमाले र नेकपा (एकीकृत समाजवादी) ले महिला उम्मेदवार नै उठाएको छैन । साना दलबाट भने कर्णालीका केही क्षेत्रबाट महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । उम्मेदवारी दिने चर्चा चल्ने समयमा महिलालाई उठाउने प्रतिवद्धता जनाएका दलहरूले अन्नतः उनीहरूमाथि विश्वास गरेनन् ।
उनीहरूले यस पटक पनि पुरुष उम्मेदवारलाई नै अघि सारेका छन् । राप्रपाले प्रदेशभर २ महिलालाई चुनावी मैदानमा उतारेको छ । प्रतिनिधिसभाका लागि दैलेख क्षेत्र–१ मा पार्टी महामन्त्री कुन्तीकुमारी शाही चुनाव लड्दै छिन् । उनीसँगै सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा र एमालेका रवीन्द्रराज शर्मा चुनावी मैदानमा छन् । यस्तै, राप्रपाले सुर्खेत क्षेत्र–२ बाट वीरेन्द्राकुमारी चन्दलाई पनि उम्मेदवार बनाएको छ ।
यस्तै, नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभातर्फ एक महिलालाई उम्मेदवार बनाएको छ । नेमकिपाका तर्फबाट सुर्खेत क्षेत्र–२ बाट तुल्क्षी खड्का उम्मेदवार बनेकी छन् । यही क्षेत्रमा नेसनलिस्ट पिपुल्स पार्टीले पनि महिला उम्मेदवारका रूपमा कुमारी राई अघि सारेको छ ।
प्रदेशसभा सदस्यका लागि प्रदेशभर २४ स्थान रहेकामा ३ जना मात्रै महिला उम्मेदवार छन् । ठूला दलबाट महिला उपस्थिति शून्य छ । नेमकिपाले सुर्खेत क्षेत्र–१ (२) मा मनकली रामजाली र क्षेत्र–२ (१) मा विजयकला रानालाई अघि सारेको छ । यस्तै, दैलेख क्षेत्र–१ (२) मा पनि नेमकिपाकै लक्ष्मीकुमारी सिंह प्रत्यक्षतर्फ उम्मेदवार बनेकी छन् ।
दलहरूले विगतमा जस्तै महिलालाई समानुपातिक उम्मेदवारमा थन्क्याएर प्रत्यक्षतर्फ पुरुषलाई नै अघि सारेका छन् । ०७४ को निर्वाचनमा कर्णाली प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएर १३ जना महिला सांसद भएका थिए । तर, प्रत्यक्षतर्फ भने महिलाको उम्मेदवारी नै परेको थिएन । यस पटक पनि दलहरूले सोही प्रवृत्ति दोहोर्याएका हुन् ।
सदनमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने संवैधानिक बाध्यताका कारण यसपल्ट पनि प्रदेशसभामा उक्त कोटा समानुपातिकबाटै पूर्ण हुने देखिएको छ ।
