‘राजनीति हो कहिले आफ्ना लागि त कहिले अर्काका लागि भोट माग्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो’
विराटनगर — मोरङ निर्वाचन क्षेत्र नम्बर–४ बाट २०५६ सालदेखि २०७४ सम्म प्रतिनिधिसभा र संविधानसभाको निर्वाचनमा आफ्नै लागि भोट माग्दै आएका कांग्रेस नेता महेश आचार्यको दैनिकी यसपालि भने निर्वाचनमा फेरिएको छ ।
यसपटक आचायलाई आफूलाई नभई गठबन्धनका उम्मेदवारलाई भोट माग्नु पर्ने बाध्यता छ । पार्टीभित्रको आन्तरिक संघर्षबीच आचार्य प्रतिनिधिसभाको उम्मेदवार हुन अन्तिम समयसम्म प्रयासरत थिए । नेताबीच टिकटका लागि रस्साकस्सी हुँदै गर्दा उनले कान्तिपुरसँग भनेका थिए, ‘पार्टीले टिकट दिए संसदीय निर्वाचनका नाममा आफनो उम्मेदवारी अन्तिम हुने छ । तर सत्ता गठबन्धनमा यो क्षेत्र माओवादी केन्द्रको भागमा परेपछि उनी यसबेला प्रतिक्रियाविहीन हुँदै गोलाकारभित्रको हँसिया हतौडामा भोट माग्न विवश छन् ।
यसलाई आचार्य स्वाभाविक मान्छन । ‘राजनीति हो कहिले आफ्ना लागि त कहिले अर्काका लागि भोट माग्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो,’ उनले भने, ‘अढाई दशकसम्म पार्टीले ममाथि लगानी गरेको छ त्यो लगानी तिर्न पार्टीले खटाएको काम गर्न तयार छु ।’ हाल काठमाडौंमा रहेका उनले तिहारपछि विराटनगर आएर गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिए ।
आचार्य नेपाली राजनीतिमा परिचित अनुहार हुन् । कांग्रेसका प्रखर वक्तासमेत मानिएका उनको भाषण सुन्न कुनै समय श्रोताको भीड लाग्ने गर्थो । उनी सफल अर्थमन्त्रीका रूपमा पनि परिचित छन् । उनी अर्थमन्त्री हुँदा मुलुकको जीडीपी ६ पुगेको थियो ।
२०७४ सालको निर्वाचनमा आचार्य माओवादी केन्द्रका अमनलाल मोदीसँग ७ हजार बढी मतले पराजित भएसँगै उनको राजनीतिक यात्रा ओरालो लागेको थियो । त्यति मात्र होइन उनी पार्टीको हालै सम्पन्न १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहमा नपरेपछि एकल प्रयासमा उपसभापतिका उम्मेदवार बनेका थिए । महाधिवेशनमा लज्जास्पद हार बेहोरेपछि आचार्यको पार्टीभित्रको भूमिका साँगुरिँदै गएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनबाट यो क्षेत्रमा मोदी नै उम्मेदवार छन् र आचार्यलाई उनको सारथी बन्नुको विकल्प छैन ।
करिब अढाई दशकसम्म एउटै निर्वाचन क्षेत्रबाट चुनाव लडेका आचार्य २०५६ र २०७० को निर्वाचनमा विजयी हुँदा २०६४ र २०७४ को निर्वाचनमा पराजित भए । यस अवधिमा उनी पाँच पटक मन्त्री र एक पटक राष्ट्रिय सभाको सदस्य बने ।
कांग्रेसले यो क्षेत्रलाई आफ्नो आधार क्षेत्र मान्दै आए पनि केन्द्र, जिल्ला, क्षेत्र र वडा तहका नेतैपिच्छेका गुट र उपगुटले एकले अर्काको अस्तित्व स्वीकार नगर्दा अघिल्लो निर्वाचनमा कांग्रेसीले नै आचार्यलाई हराएर माओवादी केन्द्रका मोदीको जितको आधार बनाइदिएका थिए ।
यसपटक मोदीको प्रतिस्पर्धा एमालेका केन्द्रीय सदस्य विनोद ढकालसँग हुँदै छ । ढकाल यो क्षेत्रका लागि नयाँ अनुहार हुन् । यसअघि उनी २०६५ को उपनिर्वाचनमा क्षेत्र नम्बर ६ मा कांग्रेसका शेखर कोइरालासँग पराजित भएका थए । उनी अघिल्लो स्थानीय तह निर्वाचनमा विराटनगर महानगरको मेयरमा कांग्रेसका भीम पराजुलीसँग पनि पराजित भएका थिए । पराजुली अहिले यही क्षेत्रको २ बाट प्रदेशसभा सदस्य उम्मेदवार छन् । पराजुलीका प्रतिस्पर्धी एमालेबाट प्रदेशका पूर्वमन्त्री जीवन घिमिरे र जसपाका सञ्जय सिंह छन् । एमाले र जसपाबीचको गठबन्धनमा प्रदेशतर्फ यो क्षेत्र जसपालाई परे पनि अन्तिम समयमा एमालेले आफ्नो उम्मेदवार उठाएपछि जसपाले पनि उम्मेदवारी दिएको हो ।
प्रदेशसभाका लागि कांग्रेसका युवा नेता गुरुराज घिमिरे र एमालेका जयप्रकाश चौधरी आमने–सामने छन् । यहाँ कांग्रेसका असन्तुष्टि नन्दकुमार सरदार कांग्रेस छाडेर हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेर घिमिरेलाई अप्ठ्यारोमा पारेका छन् ।
गठबन्धनमा कांग्रेसको भोट अन्यत्र नगए आफू विजयी हुनेमा मोदी ढुक्क देखिन्छन् । उता कांग्रेसको यो आधार क्षेत्रमा पार्टीको आफ्नो उम्मेदवार नहुँदा असन्तुष्ट कांग्रेसीको भोट आफूलाई आउने आशामा ढकाल पनि विजयी हुनेमा विश्वस्त देखिन्छन् ।
१ लाख १० हजार ९३ मतदाता रहेको यो क्षेत्रमा विराटनगर महानगरको वडा नम्बर १, २, ३, , १० र १९, बेलबारी नगरपालिकाको वडा ५, ६ र ७ सहित कटहरी र ग्रामथान गाउँपालिका पर्छन् । यो क्षेत्रमा थारु, धिमाल र चौधरीको बाहुल्यता छ ।
यस क्षेत्रमा गत स्थानीय निर्वाचनमा दलगत वडाध्यक्षका उम्मेदवारले पाएको मतको आँकडामा एमाले पहिलो छ । एमालेका उम्मेदवारले २५ हजार ७ सय ३० मत ल्याउँदा कांग्रेसका उम्मेदवारले २१ हजार ८ सय ९४ मत पाएका थिए । त्यसैगरी माओवादी केन्द्रका उम्मेदवारले ९ हजार ९ सय ९९ मत ल्याउँदा राप्रपाले ४ हजार ६ सय ७४, जसपाले ३ हार १ सय १२ र नेकपा समाजवादीका उम्मेदवारले १ हजार २ सय ५५ मत पाएको तथ्यांक छ ।
सत्ता गठबन्धनमा यो क्षेत्र भागमा परेको माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारले गत स्थानीय निर्वाचनमा पाएको मत र कांग्रेसको मतमा ठूलो अन्तर भएकै कारण यहाँ कांग्रेसभित्र ठूलो असन्तुष्टि छ । कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादीमा अन्तर्घात नभए मोदीको पल्ला भारी हुने देखिन्छ ।
