व्यक्तिगत रुपमा लाञ्छना लगाउँदै भ्रमपूर्ण प्रचार गर्ने झुटा फेसबुक पेज र ग्रुप तत्काल नहटाए आयोगले विद्युतीय कारोवार ऐन तथा निर्वाचन कसुर तथा सजाय ऐन अनुसार कारबाही गर्नसक्ने
काठमाडौँ — निर्वाचन आयोगले उम्मेदवार र नेताहरूलाई लाञ्छना लगाउँदै बनाइएका झुठ फेसबुक पेज तथा ग्रुपहरू हटाउन चेतावनी दिएको छ ।
सामाजिक सञ्जालमा विभिन्न पेज तथा ग्रुप निर्माण गरी व्यक्तिगत लाञ्छना लगाइएकोप्रति आयोगले ध्यानाकर्षण भएको भन्दै त्यस्ता पेज र ग्रुप हटाउन आयोगले निर्देशन दिएको हो ।
आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै भनेको छ, 'मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवार तथा दलहरूको उम्मेदवारी दर्ता भइसकेको सन्दर्भमा नो नट अगेन समेतका फेसबुक पेज र ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरुको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य / श्रव्यदृश्य सामग्री प्रकाशन गरेकोप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको छ ।'
नेताहरूलाई लाञ्छना लगाउँदै बनेका त्यस्ता ग्रुप र पेज तत्काल हटाइ अब यस्ता किसिमका गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराइएको पनि आयोगले विज्ञप्ति मार्फत् चेतावनी दिएको छ ।
'झुठा फेसबुक पेज / ग्रुपहरु सिर्जना गरी दलका नेताहरुविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ निर्वाचन (कसुर तथा सजाय ऐन, २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकुल रहेको देखिन्छ,' आयोगले विज्ञप्तिमा उल्लेख गरेको छ ।
तर त्यस्तो कसुर गर्ने व्यक्तिहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था स्मरण गराउँदै आयोगले झुठा फेसबुक पेज / ग्रुपहरु तत्काल नहटाए कानुन बमोजिम कारबाही गर्नेसमेत चेतावनी दिएको छ ।
