कैलाली-४ मा ‘प्रतिष्ठा’ को संघर्ष

२०६४ देखि नै यही क्षे त्रमा चुनाव लड्दै आएका एमालेका लेखराज भट्ट र डोटीबाट झरेका कांग्रेसका वीरबहादुर बलायरपहिलो पटक आमनेसामने

कार्तिक ४, २०७९

अर्जुन शाह

धनगढी — एकातिर एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, अर्कोतिर कांग्रेस प्रदेश सभापति वीरबहादुर बलायर । सुदूरपश्चिमका यी दुई नेताबीच पहिलो पटक प्रतिस्पर्धा हुँदै छ कैलाली–४ मा । दुवै उम्मेदवारले यो प्रतिस्पर्धालाई ‘प्रतिष्ठा’ का रूपमा हेरेका छन् ।

प्रतिनिधिसभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा प्रदेशका ‘हेभिवेट’ मानिने र पटक–पटक मन्त्रीसमेत भएका नेताबीचको प्रतिस्पर्धा उनीहरूको राजनीतिक भविष्यसँग पनि जोडिएको छ । भट्ट र बलायरको आ–आफ्नै राजनीतिक विरासत छ । माओवादी त्यागेर एमालेमा गएका भट्ट सोही क्षेत्रबाट चौथो पटक चुनाव लड्न लागेका हुन् । बलायरका लागि कैलाली ४ नयाँ हो । डोटीबाट तीन पटक चुनाव लडिसकेका बलायरको रोजाइ यस पटक पनि डोटी नै थियो । तर गठबन्धन दलहरूको भागबन्डाका कारण डोटी छाड्नुपर्ने भएपछि उनी कैलाली ४ मा झरेका हुन् । भट्टको पुर्ख्यौली थलो पनि डोटी नै हो । 

सुरुदेखि माओवादीमा रहेका भट्टले यसपल्ट पार्टी फेरेका भए पनि यस निर्वाचन क्षेत्रका सदावहार उम्मेदवार हुन् । उनले पहिलो संविधानसभा निर्वाचन २०६४ मा जितेका थिए । २०७० मा पराजित भए । २०७४ मा उनले कांग्रेस उम्मेदवार सुनीलकुमार भण्डारीलाई पराजित गर्दै दोस्रो पटक चुनाव जितेका थिए । वाम गठबन्धनबाट २०७४ मा करिब ११ हजार मतान्तरले जितेका भट्टले कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारको सामना गर्नुपर्ने भएको छ । स्थानीय तहको मत परिणामका आधारमा एमाले गठबन्धन दलको कुल मतभन्दा झन्डै १५ हजार मतले पछाडि छ ।

कैलालीका गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका, चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाको वडा नम्बर ५ मिलेर बनेको कैलाली–४ मा ९३ हजार ३ सय ८४ मतदाता छन् । गोदावरीमा प्रमुखसहित सातवटा वडा कांग्रेसले जितेको छ । नगर प्रमुखमा भट्टका सहोदर भाइ गोकर्ण भट्ट एमालेबाट उम्मेदवार भएका बेला कांग्रेसका वीरेन्द्र भट्टले झन्डै चार हजार मतान्तरले जितेका थिए । एकीकृत समाजवादीसमेत थपिएकाले गठबन्धन दलको मत अझ बढी हुन आएको छ तर प्रतिनिधिसभाको निर्वाचनमा स्थानीय तहको मत फेरबदल हुन सक्ने दुवै उम्मेदवारको बुझाइ छ । स्थानीय निर्वाचनमा गौरीगंगामा माओवादीले एमालेलाई सात हजारभन्दा बढी मतान्तरले पराजित गरेको थियो । 

चुनावी घरदैलोका क्रममा दुवै उम्मेदवारले प्रदेश राजधानी र विकास निर्माणको मुद्दालाई प्राथमिकतासाथ उठाएका छन् । प्रदेशसभाले यसअघि नै गोदावरी राजधानी घोषणा गरिसक्दा पनि कार्यान्वयन प्रक्रिया अलपत्र छ । राजधानी बनाउने भनिएको गोदावरी यही क्षेत्रमा पर्छ । दुवै प्रतिस्पर्धीले गोदावरीलाई राजधानी बनाउने निर्णय कार्यान्वयन गर्ने बताइरहेका छन् । 

यसअघि डोटीमा राजधानी हुनुपर्ने बताउँदै आएका बलायरले पनि अहिले गोदावरीलाई नै प्रदेश राजधानी बनाउने प्रतिबद्धता मतदातासमक्ष गर्न थालेका छन् । ‘मैले जितेपछि सानोतिनो हैन, राम्रै विकासे मन्त्रालयको मन्त्री पाउँछु,’ उनले भनेका छन्, ‘प्रदेशको राजधानी पनि मेरै निर्वाचन क्षेत्रमा हुनेछ ।’ भट्टले पनि आफ्नै प्रयासका कारण यसअघि गोदावरी राजधानी निर्क्योल भएको बताएका छन् । गेटा मेडिकल कलेजको काम पनि आफ्नै प्रयासमा भएको उनको भनाइ छ ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully