मनाङी उम्मेदवार काठमाडौंमा घरदैलो गर्दै

कार्तिक ४, २०७९

आश गुरुङ

लमजुङ,म्याग्दी — प्रतिनिधिसभा सदस्यका लागि मनाङमा उम्मेदवारी दिएका एमालेका पोल्देन छोपाङ गुरुङ र सत्ता गठबन्धनबाट कांग्रेसका टेकबहादुर गुरुङ काठमाडौंमा घरदैलो गर्दै छन् । मनोनयनदेखि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको दिनसम्म मनाङ बसेर उनीहरू काठमाडौं फर्केका हुन् ।

प्रदेश १ का एमाले उम्मेदवार राजनबहादुर गुरुङ र गठबन्धनबाट कांग्रेस उम्मेदवार मुनिन्द्रजंग गुरुङ पनि केही दिनअघि काठमाडौं पुगेका छन् । मनाङका स्थायी बासिन्दा राजनबहादुर र मुनिन्द्रजंगसमेत उम्मेदवारी दर्तापछि काठमाडौं जानुको उद्देश्य हो, मतदातासँग भेटघाट । मनाङका मतदाताको ठूलो हिस्सा काठमाडौंमा छ । अहिले मुख्य प्रतिस्पर्धी उम्मेदवारहरू तिनै मतदातालाई भेटेर आफ्नो लागि भोट मागिरहेका छन् । 

मनाङमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङ र प्रदेश १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका मिफेलधिन्दु गुरुङ मात्रै छन् । मनाङको प्रदेश २ मा राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध भइसकेका छन् । स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिएपछि प्रदेशसभामा उनको ढोका खुलेको हो । स्वतन्त्र उम्मेदवार दोर्जेको उम्मेदवारी फिर्ता गराउन मनाङेलाई एमालेले सहयोग गरेको थियो । 

एमाले उम्मेदवार पोल्देन र कांग्रेस उम्मेदवार टेकबहादुर दुवै काठमाडौंमा अहिले पारिवारिक भेटघाट चलिरहेको बताउँछन् । दुवै उम्मेदवार मनाङ ङिस्याङ गाउँपालिका–८ टंकीका हुन् । पोल्देनले आफ्नो स्याउबारी रहेको मनाङ ङिस्याङ–१, भ्राताङमा पनि बासस्थान बनाएका छन् । एमाले मनाङका अध्यक्ष कप्ली गुरुङका अनुसार उम्मेदवारहरूले दलीय राजनीतिभन्दा पनि सबैले आ–आफ्नो पारिवारिक सम्बन्ध समात्ने गर्छन् । कांग्रेस सभापति शंकर गुरुङले उम्मेदवार पारिवारिक भेटघाटमा व्यस्त रहेको बताए । 

प्रदेश १ का कांग्रेस उम्मेदवार मुनिन्द्रजंग र एमाले उम्मेदवार राजनबहादुर पनि काठमाडौंमा साथीभाइ र परिवारजनसँग भेटघाट भइरहेको बताउँछन् । ‘मेरो आफ्नो काम पनि अलिअलि छ । साथीहरू भेटघाटमा पनि छौं । पारिवारिक भेटघाट भइरहेको छ,’ मुनिन्द्रजंगले भने । राजनबहादुरले उम्मेदवारको प्रायः भेटघाट गोप्य नै हुने भएकाले विस्तृत खुलाउन आवश्यक नरहेको बताए । 

उम्मेदवारहरूले पार्टीका नेताहरूसँग बसेर चुनावी रणनीति पनि काठमाडौंमै बनाउँछन् । चुनावमा जसले बढी आफन्तलाई रिझाउन सक्यो, मनाङमा उसैले जित्ने गरेको छ । त्यसैले उम्मेदवारहरू सकेसम्म सबै आफन्तलाई भेट्ने योजनामा छन् । यस्ता भेटघाटमा मनाङका लागि के गर्न सकिन्छ भन्ने योजनासमेत बनाउने गरेको एमाले अध्यक्ष कप्ली गुरुङले बताए । ‘अधिकांश मतदाता काठमाडौंमा बस्छन् । पोखरा, चितवन, बेंसीसहरमा पनि मतदाता छन् । हामी सबैलाई समेटेर जाने पक्षमा छौं,’ उनले भने ।

एमालेले मनाङमा ०७४ को चुनावमा पहिलोपटक जितेको थियो । त्यतिबेला पनि पोल्देन छोपाङ र टेकबहादुर नै प्रतिस्पर्धी थिए । पूर्वराज्यमन्त्रीसमेत रहेका कांग्रेसका टेकबहादुर गुरुङलाई २ सय ४८ मतले उछिन्दै एमालेका पोल्देन छोपाङ त्यतिबेला निर्वाचित भएका थिए । पोल्देन छोपाङको २ हजार १ सय ६७ सय र टेकबहादुरले १ हजार ९ सय १९ मत थियो । 

जिल्ला निर्वाचन अधिकारी मनाङका प्रमुख पुष्पराज शर्माका अनुसार मनाङमा ६ हजार ७ सय ७९ मतदाता छन्, जसमा महिला ३ हजार ४ सय ९८ र पुरुष ३ हजार २ सय ८१ छन् । प्रदेश (१) अन्तर्गत चामे र नासों गाउँपालिकामा महिला १ हजार ३ सय ७० र पुरुष १ हजार २ सय ५४ गरी २ हजार ६ सय २४ मतदाता छन् । प्रदेश (२) को नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिकामा महिला २ हजार १ सय २८ र पुरुष २ हजार २७ गरी ४ हजार १ सय ५५ मतदाता छन् । सबैभन्दा कम नार्पाभूमि गाउँपालिकामा महिला २ सय ६१ र पुरुष २ सय ७ गरी ४ सय ६८ मतदाता छन् । नार्पाभूमि नेपालकै सबैभन्दा कम मतदाता रहेको स्थानीय तह हो ।

एमालेले मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, चामे गाउँपालिकाको अध्यक्ष जितेको थियो । नार्पाभूमिमा एमालेका उपाध्यक्ष निर्विरोध भएका थिए । स्वतन्त्र उम्मेदवारलाई हराउँदै कांग्रेसका कोन्जो तेन्जिङ लामा अध्यक्षमा निर्वाचित भए । नासों गाउँपालिका अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले जितेका छन् । चामे गाउँपालिकामा उपाध्यक्ष कांग्रेसले जितेको छ । जिल्ला समन्वय समिति प्रमुखमा एमाले निर्वाचित भएको थियो । 

बेंसी झर्दै मुस्ताङका मतदाता

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरूले विकासे एजेन्डा बोकेर मत माग्न घरदैलो गरिरहेका बेला हिमालपारिको मुस्ताङका लोमन्थाङ, लोघेकर–दामोदरकुण्ड तथा वारागाउँमुक्ति क्षेत्र गाउँपालिकाका मतदाता घुम्ती व्यापार र जाडो छल्न धमाधम बेंसी झरिरहेका छन् । धेरै व्यापारी नेपाल र भारतका विभिन्न सहरमा पुगिसकेका छन् ।

लोघेकर–दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्टका अनुसार उपल्लो मुस्ताङका ६० प्रतिशत मतदाता घुम्ती व्यापारका लागि पोखरा, काठमाडौं र भारतका विभिन्न सहरमा पुगेका छन् । केही जाँदै छन् । हिउँदको चिसो समयमा मुस्ताङीहरू घुम्ती व्यापारका लागि भारतका विभिन्न सहर पुग्छन । भारतको देहरादुनमा मुस्ताङीलाई लक्ष्य गरी आयोजना गरिएको शान्ति पूजामा सहभागी हुन पनि अधिकांश मुस्ताङी असोजमै बेंसी झरेका थिए । ‘उम्मेदवारले सहर झरेका मतदाता फर्काउने प्रयास गर्लान् तर व्यापारको मुख्य सिजन हुने भएकाले मुस्किलले २० प्रतिशतलाई फर्काउन सक्छन्,’ पालिका अध्यक्ष विष्टले भने, ‘माथि चिसो बढेको छ । हिमपातको सिजन भएकाले सहरमा सुरक्षित बुढाबुढीलाई भोट हाल्नका लागि मतदान केन्द्रमा कसरी लैजाने समस्या हुन्छ ।’ काठमाडौं र पोखरा वरपरका बस्तीमा घुम्ती व्यापार गर्नेलाई उम्मेदवारले फर्काउन सक्ने उनले बताए । 

मुस्ताङको तल्लो भेगका पनि अधिकांश मतदाता पोखरा, काठमाडौंलगायत सहरमा बस्छन् । उनीहरू निर्वाचनका वेला उम्मेदवारले व्यवस्था गरेका गाडीमा घर आउँछन् । उम्मेदवारका लागि सहरका मतदाता महँगा तर निर्णायक हुन्छन् । 

एकमात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङको उपल्लो भेगमा पर्ने लोमन्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिका प्रदेश निर्वाचन क्षेत्र १ र तल्लो भेगमा पर्ने थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका प्रदेश निर्वाचन क्षेत्र २ मा पर्छन् । खेती थन्क्याउने र पर्यटन सिजन भएकाले तल्लो भेगका मतदाता भने अझै बेंसी भरेका छैनन् । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार मुस्ताङमा १० हजार ९ सय ५७ जना मतदाता रहेका छन् । स्थानीय निर्वाचनपछि ४ सय ७२ जना मतदाता थपिएका छन ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully