गोरखामा बदलिएको माओवादीको चित्र

पार्टीले वर्गीय लडाइँ भुलेको र पार्टीभित्र योग्य कार्यकर्ताभन्दा नेताका आसेपासेको बोलवाला रहेको टिप्पणी

कार्तिक ४, २०७९

हरिराम उप्रेती

गोरखा — गत शुक्रबार सदरमुकामस्थित पाटेचौरमा भएको पार्टीको आन्तरिक प्रशिक्षण कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्सेतुङ चिङकाङसाङ फर्किएको प्रसंग निकाल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भक्कानिए । 

पार्टी समस्या र घेराबन्दी, दुश्मनबाट पार पाउन माओत्सेतुङ ४० वर्षपछि छापामार युद्ध सुरु भएको चिङकाङसाङ फर्किर्एको प्रसंग निकाल्दै उनले आफू फेरि जनयुद्धको आधार इलाका गोरखा आउनुको सान्दर्भिकता पुष्टि गर्न खोजेका थिए । चिङकाङसाङको प्रसंग निकाले पनि बृहत् शान्ति सम्झौतापछिका १६ वर्षमा गोरखामा धेरै कुरा बदलिइसकेको छ । यस्तो परिवर्तनबाट माओवादी पनि अछूतो छैन । 

१० वर्षे द्वन्द्वको तयारीका क्रममा माओवादीले गोरखालाई पहिलो आधारभूमि बनाएको थियो । ०५२ असोजमा पार्टीका १९ मध्ये १७ नेताको अन्तिम बैठक च्याङ्लीस्थित खोपबहादुर कँडेलको गोठमा बसेको थियो, जसले ‘जनयुद्ध’ मा जाने अन्तिम निर्णय गरेको थियो । सहभागीले ‘युद्धमा होमिँदा फर्किएर नआउन पनि सक्छौं’ भनेर सामूहिक फोटो खिचाएका थिए ।

त्यतिबेला सिरानचोकमा हतियार चलाउने प्रारम्भिक तालिम पनि भएको थियो । जनयुद्धसँग गोरखाको साइनो यतिमै सीमित छैन । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल र सुरेश वाग्लेसमेत यही जिल्लाका हुन् । दशक लामो सशस्त्र द्वन्द्व र शान्ति प्रक्रियापछि बसेको माओवादीको विस्तारित बैठक यहींको पालुङटारमा भएको थियो 

द्वन्द्वका बेला केन्द्रमा रहेका नेताहरू बिस्तारै पाखा लाग्ने र स्वार्थी समूह पार्टीमा भित्रिँदै जाने दृश्य माओवादी स्वयंलाई नबिझाउने भइसकेको छ । सायद यही कुरालाई ख्याल गरेझैं गरेर हुनुपर्छ दाहालले चिङकाङसाङ फर्किर्एको प्रसंग जोडेका थिए । शान्ति प्रक्रियापछि बसेको माओवादीको विस्तारित बैठकका बेला सर्वसाधारणका घरमा बाँडिएर बसेका थिए । यस्तो अभ्यास ०६४ सम्म पनि थियो । तर त्यसपछिका दिनमा माओवादीका नेता गोरखा झर्दा होटलमै बस्न रुचाएको देखिन्छ ।

अरू त के कुरा उम्मेदवारी दर्ताका दिन असोज २३ मा गोरखा आएका दाहाल पनि गोरखा गार्डेन होटलमा बास बसे । असोज २९ मा दोस्रो पटक गोरखा झरेका बेला पनि दाहालले जनताको घर खोजेनन्, होटल नै रोजे । ०६४ को संविधानसभा निर्वाचनको परिदृश्यभन्दा ०७०, ०७४ हुँदै ०७९ सम्म आइपुग्दा भड्किलो चुनाव प्रचारशैली माओवादीले पनि अपनाएको छ । 

०७० को संविधानसभा निर्वाचन गोरखा–३ मा माओवादी उम्मेदवार छमबहादुर तमु विजयी भएका थिए । त्यतिबेला उनले व्यक्तिगत रूपमा जम्मा २० हजार रुपैयाँ मात्र खर्चेका थिए । कुनै भड्किलो प्रचार थिएन । आउजाउका लागि घोडाको प्रयोग गर्थे । गुरुङलाई स्वस्फूर्त सहयोग गर्नेहरू पनि उत्तिकै थिए । त्यो दिन सम्झिँदै उनले सुनाए, ‘ठूलो भोजभतेर गर्नुपरेन, मकै, सातु लिएर तातोपानी र चियासँग खाँदै हिँड्थ्यौं ।’ दुईवटा संविधानसभा निर्वाचनलाई नजिकबाट नियालेका गुरुङलाई त्यसपछिका निर्वाचन प्रचार खर्चालु भएकामा चित्त दुखाइ छ । उनले ०६४ को तुलनामा अहिलेको निर्वाचन खर्च धान्नै नसक्ने स्थिति रहेको बताए ।

चुनाव खर्चिलो बन्नुका पछाडि गठबन्धनको कार्यशैली पनि जिम्मेवार रहेको उनको बुझाइ छ । ‘गठबन्धन भनेपछि उम्मेदवार उत्साहित हुने भयो, प्रचारका लागि मान्छे धेरै बोकेर हिँड्न थाले,’ उनले भने, ‘पहिले इमानदार र निष्ठाको राजनीति थियो, अहिले ठेक्कापट्टा गर्ने, ठूलाबडाले टिकट पाउन थाले, मतदातालाई नै यो मान्छे धनी छ भन्ने छाप पर्‍यो ।’ 

माओवादीकै स्थानीय समर्थकहरूसमेत पार्टीले पहिले भन्ने गरेको वर्गको लडाइँ भुलेको र पार्टीभित्र योग्य कार्यकर्ताभन्दा नेताका आसेपासेका बोलवाला रहेको टिप्पणी गर्छन् । ‘नेताहरू जनयुद्धमा माछा थिए, अहिले चरा भए,’ द्वन्द्वपीडित सुधन अधिकारी भन्छन्, ‘सहिद, बेपत्ता परिवार र एक तहका कार्यकर्ता अहिले पनि भुइँमान्छेसरह छन् । नेताले धरातल भुलेर तल्लो तहका कार्यकर्तालाई छाडेका छन् ।’ टिकट वितरणको क्रममा पनि कार्यकर्ताको मूल्यांकन नगरी आसेपासे र नेताको वरिपरि रहने र पैसा कसले धेरै हाल्न सक्छ भन्ने कुराले प्राथमिकता पाएको उनले बताए । 

०६४ अघि माओवादीमा पूर्णकालीन कार्यकर्ताको सामूहिकता थियो । उनीहरू मेसमा खान्थे । ०६४ को निर्वाचनमा त पार्टीले तीनवटै निर्वाचन क्षेत्रमा भूगोलअनुसार जिम्मेवारी बाँडफाँट गरेर कार्यकर्तालाई परिचालन गरेको थियो । त्यतिबेला निर्वाचनमा खटिएका माओवादीका रोहित पाण्डेले सुनाए, ‘प्रचारमा पुग्दा जनताका घरमा बास बसिन्थ्यो, त्यसले एउटा सम्बन्ध बढ्थ्यो । जे दिन्थे त्यही खाइन्थ्यो, जनताले स्वस्फूर्त रूपमा दिएका तिउन–तरकारी मेसमा पकाएर खान्थ्यौं ।’

गत स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टीबाट भीमसेन थापा गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका पाण्डेले चुनावमा मुद्दाभन्दा दौडधुपले प्राथमिकता पाउन थालेको बताए । ‘क्षणिक समयको स्वार्थमा कार्यकर्ता दौडन थाले, अहिले मुद्दाभन्दा पनि सत्तामा कसरी पुग्ने भन्ने दाउपेच छ,’ उनी भन्छन्, ‘माओवादीप्रति जनताको आस थियो, सत्ता र शक्तिकेन्द्रित हुन थालेपछि यस्तै रहेछ भन्ने बुझाइ पनि बढ्यो ।’

जनयुद्धकालमा आफ्ना जेथा पार्टीलाई बुझाएर युद्धमा होमिएका नेता–कार्यकर्ता पुरानै निजी सम्पत्तिको संरक्षणमा छन् । माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि चितवनमा नयाँ घर बनाएका छन् । बाबुराम भट्टराईले भूकम्पले भत्काएको खोप्लाङको घर रेक्ट्रोफिटिङ (मर्मत) गरेका छन् । गोरखा घर भएका माओवादी केन्द्रका सचिव हितराज पाण्डेले पनि गाईखुरमा पार्टीलाई बुझाएको जग्गामा घर बनाएका छन् । शान्ति प्रक्रियामा आएपछि माओवादी सुरुसुरुमा सामूहिक रूपमा बस्दा कृषिमा जोडिएका थिए । भुसुन्डे फाँटमा माछा र पाडापालन गर्थे, त्यो अहिले अस्तित्वमा छैन । 

अहिलेको निर्वाचनमा नयाँ ढंगबाट एकीकृत र केन्द्रीकृत भएर अघि बढ्दा नयाँ खालको माहोल आएको पूर्वसंविधानसभा सदस्य परशुराम रम्तेल बताउँछन् । निर्वाचन आयोगको आचारसंहिताले विकृत रूपलाई रोक्न खोजेको उनको मत छ । ०६४ को तुलनामा माओवादीभित्र व्यक्तिवादी प्रवृत्ति हावी भएको रम्तेल बताउँछन् । संस्थागत पद्धतिलाई व्यक्तिवादी प्रवृत्तिले कमजोर पर्दा चुनावमा भड्किलो प्रचारशैलीले प्रश्रय पाएको उनको बुझाइ छ ।

‘०६४ मा क्रान्तिकारी शक्ति, युद्धको रापतापले उत्साह थियो, आम जनतामा नयाँ पार्टी भन्ने बुझाइ थियो,’ उनले भने, ‘०७० सम्म पुग्दा टुटफुट पैदा हुन गयो, एक शक्ति बहिष्कारतर्फ गयो, क्रान्तिकारी शक्ति क्षयीकरण हुँदा माओवादीको रापताप घट्दै गयो, क्रान्तिकारीपन पनि कमजोर हुँदै गयो ।’

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully