नेतृत्वसँगको निकटताका कारण ०५१ सालदेखि नै अवसर पाइरहेका पाण्डेलाई स्थानीय तह निर्वाचनमा पार्टीले पाएको मतका आधारमा यसपटक जित निकाल्न सजिलो छैन
पाल्पा — अघिल्ला चुनावमा सोमप्रसाद पाण्डेका सहयोगी हुन्थे ठाकुर गैरे । लामो समय एमालेबाट राजनीति गरेका पाण्डे र गैरे यस पटक फरक दलबाट पाल्पा–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । पार्टी विभाजनपछि उनीहरूको बाटो मोडिएको हो । जिल्लास्थित कार्यकर्ता वर्षौंदेखि पाण्डेको छायामा परेका गैरेले यस पटक कडा टक्कर दिने सुनाउँछन्, नयाँ अनुहार पनि भएकाले यहाँको निर्वाचनमा धेरैको चासो छ ।
एकीकृत समाजवादीका तर्फबाट पाण्डे यसपालि छैटौं पटक प्रतिस्पर्धामा छन् भने अनेरास्ववियुको अध्यक्ष हुँदै पार्टी राजनीतिमा सक्रिय गैरे पहिलो पटक एमालेबाट उम्मेदवार बनेका हुन् । ‘गैरे कति पटक उहाँलाई मात्र जिताउनुहुन्छ भन्नुहुन्छ,’ तानसेन–६ का मतदाता बसन्तमान श्रेष्ठले भने, ‘एकपटक अवसर दिनुस् भनिरहनुभएको छ ।’ दुवै जना वामपन्थी धारका उम्मेदवार भएकाले कसले जित्छ भन्न नसकिने उनले बताए । ‘नयाँ अनुहारलाई यसपालि मत दिऊँ भन्नेहरू पनि छन्,’ उनले भने ।
२०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन तीनै क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । २०५१ पछिका प्रायः निर्वाचनमा वाम वर्चस्व रहँदै आएको छ । २०७० सालमा साविकको क्षेत्र नम्बर ३ बाट कांग्रेसका हरिप्रसाद नेपालले विजय हासिल गरे । २०६४ मा तत्कालीन क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रकी लीला सोमई विजयी भएकी थिइन् । २०७४ बाट दुई निर्वाचन क्षेत्र कायम गरिएकामा दुवैमा एमालेले जितेको थियो । २०५१ सालपछि कांग्रेसले क्षेत्र १ बाट चुनाव जितेको छैन । त्यसैले यो क्षेत्रमा यस पटक एमाले ढुक्क देखिन्छ ।
विगतमा यी उम्मेदवार एउटै पार्टीमा रहेकाले गैरे छायामा पर्दै आएका थिए । ‘पार्टीका शीर्ष नेताकै नजिकको नाताका कारण पाण्डेजीले निरन्तर अवसर पाइरहनुभयो,’ अर्का मतदाता भन्छन्, ‘६/६ पटक चुनावमा उठिरहनेभन्दा यसपालि नयाँ उम्मेदवारलाई ठाउँ दिनुपर्छ भनेर बहस पनि भइरहेका छन् ।’ स्थानीय तहको चुनावको आधार मत हेर्दा गठबन्धन केही अगाडि देखिन्छ तर मतदाता अझै खुली नसकेकाले अनुमान गर्न गाह्रो छ ।
त्रिभुवन बहुमुखी क्याम्पसका उपप्रध्यापक सन्तोष खनाल पनि क्षेत्र नम्बर २ मा प्रतिस्पर्धा कडा र रोचक हुने बताउँछन् । पाल्पा–२ मा दल र स्वतन्त्र गरी प्रतिनिधिसभामा १३ उम्मेदवार छन् । २०७४ मा क्षेत्र २ बाट वाम गठबन्धनका तर्फबाट पाण्डे नै उम्मेदवार थिए । कांग्रेसका हरिप्रसाद नेपाललाई पराजित गरी उनी विजयी भएका हुन् । यस पटक २०७४ को स्थिति यस क्षेत्रमा छैन । यसपालि कांग्रेस, माओवादी, जनमोर्चा र एकीकृत समाजवादी एकै ठाउँमा छन् ।
स्थानीय निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा भने एमाले अगाडि छन् । ‘स्थानीय निर्वाचनमा पाएको मत मेरो चुनाव जित्ने आधार हो,’ गैरेले भने, ‘कांग्रेसको उम्मेदवार छैनन्, त्यसैले राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने उम्मेदवार मलाई मानेका छन् ।’ एमालेले क्षेत्र २ मा स्थानीय तह निर्वाचनमा ३० हजार ५ सय ३६ मत पाएको थियो । कांग्रेसले २९ हजार ३९, माओवादीले ४ हजार ३ सय १३ र एकीकृत समाजवादीले ४ सय ३३ मत पाएको थियो । राष्ट्रिय जनमोर्चाले ८ सय ८४ मत पाएको छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल पाण्डेय भने स्थानीय तह निर्वाचनको मत मूल्यांकनको आधार नहुने बताउँछन् ।
तानसेन नगरपालिकाका पूर्वनगर प्रमुख अशोककुमार शाही, उपप्रमुख लक्ष्मी पाठक, साविक ठिमुरे गाविसका अध्यक्ष भएका कृष्ण जीसीलगायत धेरै नेता भने अहिले एकीकृत समाजवादीमा छन् । ‘स्थानीय तह निर्वाचनमा कांग्रेस महाधिवेशन र टिकट वितरणमा केही असन्तुष्टि थिए,’ कांग्रेस सभापति हिमालदत्त श्रेष्ठले भने, ‘अहिले त्यस्तो हुँदैन । एकढिक्का भएर अघि बढेको छ ।’ स्थानीय निर्वाचनमा यही गठबन्धन थियो ।
पाल्पा–२ अन्तर्गत तानसेन नगरपालिका, बगनासकाली, रिब्दीकोट, तिनाउ, रैनादेवी छहरा गाउँपालिका पर्छन् । तिनाउको ५ नम्बर वडा, नगरपालिकाको ८ नम्बर वडा भने क्षेत्र १ मा गाभिएको छ । माथागढीको १ नम्बर वडा क्षेत्र २ मा छ । यो क्षेत्रमा पर्ने ४४ वडामध्ये तानसेन नगरपालिकामा १०, रिब्दीकोटमा आठमध्ये ६, रैनादेवी छहरामा आठमा ६ वडा गठबन्धनले जितेको छ । तिनाउमा ५ मध्ये दुई वडामा गठबन्धनले जितेको छ । तानसेनमा नगर प्रमुख, उपप्रमुख, रिब्दीकोटमा अध्यक्ष, उपाध्यक्ष, रैनादेवी छहरामा अध्यक्ष, उपाध्यक्ष र तिनाउमा उपाध्यक्ष गठबन्धनले जितेको छ । एमालेले तिनाउमा प्रमुख जितेको छ ।
गठबन्धनका उम्मेदवार पाण्डे जनताका लागि विगतमा काम गरेकाले जितको आधार बनेको बताउँछन् । ‘गठबन्धनको मत नै जितको आधार हो,’ उनले भने, ‘विकास निर्माणका क्षेत्रमा विगतमा गरेका अधुरा कामलाई पूरा गर्ने प्रतिबद्धता मैले जनतासमक्ष गरेको छु, यसले मलाई जितसम्म पुर्याउने छ ।’ क्षेत्र नम्बर २ बाट गठबन्धनका पाण्डे, एमालेका गैरेबाहेक जनसमाजवादी पार्टी नेपालका देवबहादुर हिस्की, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरे, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगर, नेपाल मजदुर किसान पार्टीका शिवसुन्दर भुख्वा, मंगोल नेसनल अर्गनाइजेसनका मनबहादुर दर्लामी, नेपाल आमा पार्टीका तारा बहादुर खत्री, जनता समाजवादी पार्टीबाट दुर्पता सोमई उम्मेदवार छन् । यहाँ स्वतन्त्र उम्मेदवारी पनि परेको छ । क्षेत्र नम्बर २ मा १ लाख ५ हजार २ सय ९३ मतदाता छन् ।
नयाँबीच प्रतिस्पर्धा
पाल्पा–१ मा प्रतिनिधिसभाका लागि गठबन्धन र एमालेबाट दुवै नयाँ प्रतिस्पर्धी छन् । यस क्षेत्रमा २०५१ पछिका सबै निर्वाचनमा एमालेले विजयी हासिल गरेको छ । एमालेबाट लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य नारायणप्रसाद आचार्य र गठबन्धनका तर्फबाट कांग्रेसका जिल्ला उपसभापति ज्ञानबहादुर गाहा प्रतिस्पर्धामा छन् ।
आचार्य एमालेको संगठन बलियो भएको र जनतासामु सधैं सम्पर्कमा रहेकाले जितको दाबी गर्छन् । विगतमा एमालेले जिते पनि शिक्षा, स्वास्थ्य, विद्युत्लगायत विकास निर्माणका काम गर्न नसकेकाले यस पटक जनताले आफूलाई मत दिने गाहा बताउँछन् । ‘जनताको चाहनालाई पूरा गर्ने गरी योजना बनाएको छु,’ एमाले उम्मेदवार आचार्यले भने । कालीगण्डकी करिडोर समयमा सम्पन्न गर्ने, कालीगण्डकी नदीमा जलयात्राको प्रारम्भ गर्ने, रामपुरदेखि रोल्पा एक्सप्रेस हाइवे, रामपुर–मित्याल–माथागढी–झुम्सासम्म सडक बनाउने कामलाई योजनाको रूपमा अघि बढाउने उनले बताए ।
कांग्रेसका गाहाले २०५१ सालदेखि कम्युनिस्टले चुनाव जिते पनि जनताको जीवनस्तर उठ्न नसकेको बताए । ‘पोल पुगेर बत्ती नबलेको, धारा लगेर पानी पिउन नपाएको, मोटरबाटो लगेको सवारी साधन चल्न नसकेको अवस्था छ,’ उनले भने, ‘यस्ता कामलाई पूरा गर्ने गरी योजना अघि बढाएर मतदातासमक्ष पुगेको छु ।’ क्षेत्र १ अन्तर्गत रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा, माथागढी गाउँपालिका छन् । तानसेनको वडा ८, तिनाउको ५ पनि क्षेत्र १ मा पर्छ । यहाँका रामपुर नगरपालिकामा बाहेक सबैमा एमालेका अध्यक्ष र उपाध्यक्षले स्थानीय निर्वाचनमा जितेका छन् ।
क्षेत्र १ मा ९६ हजार ३६ मतदाता छन् । क्षेत्र १ मा कांग्रेसका गाहा र एमालेका आचार्यबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिञ्जाली, राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामी, जनता समाजवादीका मेहरमान राना र मंगोल नेसनल अर्गनाइजेसनका थम्मनबहादुर बुढा उम्मेदवार छन् । स्वतन्त्रबाट विपिन कँडेल, नारायण न्यौपाने, राजु सुनार र डोलराज तिमिल्सेनाले पनि उम्मेदवारी दिएका छन् ।
