तेह्रथुम — प्रदेशसभा निर्वाचनका लागि निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धन र नेकपा एमाले बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ४० वर्षीय दुर्गाप्रसाद चापागाई चुनावी मैदानमा छन् । उनी युवा मतदाताको मुख्य रोजाइमा छन् ।
एमालेले भने चापागाईंसँग प्रतिस्पर्धामा ६९ वर्षीय तेजमान कन्दङवालाई उतारेको छ । एमालेको जिल्ला अध्यक्षसमेत रहेका कन्दङवा निवर्तमान प्रदेशसभा सदस्य समेत हुन् ।
यो क्षेत्रमा आठराई, फेदाप र मेन्छ्यायेम गरी तीन गाउँपालिका पर्दछन् । ०७४ मा तीन वटै स्थानीय तहमा एमाले विजयी भएको थियो । तर गत स्थानीय तह निर्वाचनमा कन्दङवाले आफ्नो विरासत जोगाउन सकेनन् ।
फेदाप र आठराई गाउँपालिकामा कांग्रेस-माओवादी केन्द्रको गठबन्धन विजयी भयो । यी दुवै स्थानीय तहको वडामा समेत कांग्रेसका उम्मेदवार बहुमतसहित विजयी भए । त्यसले गर्दा पनि यस पटक कन्दङवालाई चुनाव जित्न थप मिहिनेत गर्नुपर्ने देखिन्छ ।
त्यसको फाइदा गठबन्धनका उम्मेदवार चापागाईले लिन सक्नेछन् । यो क्षेत्रमा ३२ हजार ८ सय १२ मतदाता छन् ।
प्रदेशसभा निर्वाचन क्षेत्र-१ मा पनि गठबन्धनबाट कांग्रेसका सन्तोष सुब्बा र एमालेका किशोरचन्द्र दुलालबीच प्रतिस्पर्धा छ । यहाँ पनि प्रतिस्पर्धा भने पाका र युवाबीचमै हो । एमालेको प्रदेश कमिटी सदस्य रहेका ६५ वर्षीय किशोरचन्द्र दुलाललाई गठबन्धनबाट कांग्रेस उम्मेदवार ४४ वर्षीय सुब्बाले टक्कर दिएका छन् । कांग्रेसको पुर्वजिल्ला सचिव रहेका सुब्बा महासमिति सदस्य छन् ।
दुलाल पूर्वजिविस सभापति भइसकेका नेता हुन् । पार्टी राजनीतिमा मात्रै रहेका सुब्बा जिल्लामा युवा मतदातामाझ लोकप्रिय मानिन्छन् । शिक्षण पेसा छोडेर तत्कालीन जिल्ला विकास समितिको नेतृत्व गरिसकेका दुलाल सुब्बाका लागि बलियो प्रतिद्वन्द्वी हुन् ।
गठबन्धन दलको सहमतीविरुद्ध उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्ण चोङवाङले उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई सघाएका छन् । म्याङलुङ र लालीगुराँस नगरपालिका र छथर गाउँपालिका रहेको यो क्षेत्रमा लालीगुराँस नगरपालिकाबाहेक बाँकी दुई स्थानीय तह एमालेले जितेको छ ।
२०७४ को प्रदेशसभा निर्वाचनमा पनि एमालेका तत्कालीन जिल्ला अध्यक्ष रहेका लक्ष्मण तिवारी विजयी भएका थिए । जिल्लाका चर्चित युवा नेता तिवारीले यसपटक टिकट नपाएपछि त्यसको फाइदा गठबन्धनका सुब्बालाई हुने संभावना पनि बलियो छ ।
यो निर्वाचन क्षेत्रमा ३९ हजार १ सय २१ मतदाता छन् । यहाँको छथर गाउँपालिका र म्याङलुङ नगरपालिका एमालेको बलियो क्षेत्र मानिन्छ ।
जिल्लाको खोरुङगा खोलाबाट ७.५ मेघाबाट विद्युत् उत्पादन गरेर जिल्लालाई उज्यालो बनाउने कामको अगुवाइ गरेको एमाललेसँग मतदाताको झुकाव राम्रै रहेको फेदाप गाउँपालिका–१ सिम्लेका युवा सञ्जय मास्केको भनाइ छ । तर पछिल्लो समय जिल्लाको प्रदेश निर्वाचन क्षेत्र २ का आठराई, फेदाप र मेन्छ्यायेम गाउँपालिकाभित्र विद्युतीकरण र ग्रामीण सडक निर्माणमा उल्लेख्य सहयोग गरेका माओवादीका केन्द्रीय सदस्यसमेत रहेका उम्मेदवार चापागाई बलियो दाबेदारको रूपमा देखा परेका छन् ।
चापागाई वर्षमान पुन अर्थ र ऊर्जामन्त्री हुँदा स्वकीय सचिव थिए । त्यस बखत चापागाईले जिल्लाको विकास निर्माणमा उल्लेख्य बजेट भित्र्याउन भूमिका खेलेका थिए । पछिल्लो समय जिल्लामा सडक सञ्जालको विस्तार, व्यावसायिक कृषि क्षेत्रको विकास र स्वरोजगारका अवसरहरू सिर्जना भएका छन् । यसको जस पनि उनले लिन खोजिरहेका छन् ।
आफ्नो क्षेत्रमा युवा मतदाता थपिएको र कसलाई मत दिँदा काम गर्न सक्छ भनेर निर्णय गर्न सक्ने अवस्थामा धेरै मतदाता पुगेकाले आफ्नो जित सुनिश्चित भएको उनको दाबी छ । ‘म यसअघि टेस्ट नभएको उम्मेदवार भएकाले पनि मेरो पक्षमा धेरै मतदाता छन्,’ चापागाईले भने । स्थानीय तहको निर्वाचनको परिणामका आधारमा गठबन्धनका उम्मेदवार चापागाईको जित नजिक देखिएको माओवादी निकटको दाबी छ ।
