बाँस्कोटा आफ्नै क्षेत्रमा कति सुरक्षित ?

एमालेका प्रभावशाली नेताले पार्टी छोड्दा धक्का, प्रतिस्पर्धी हुमागाईंलाई गठबन्धनको मतको भर

कार्तिक ३, २०७९

कान्तिपुर संवाददाता

काभ्रे — सार्वजनिक अभिव्यक्तिले विवादमा आइरहने र नेकपा एमाले अध्यक्ष केपी ओलीसँग निकट भएका पूर्वमन्त्री गोकुल बाँस्कोटाको चुनावी मैदान काभ्रे २ मा यसपटक धेरैको चासो देखिन्छ । यस्तो चासो बढ्नुका पछाडि उनका बलिया प्रतिस्पर्धी एवं सत्ता गठबन्धनका उम्मेदवार तथा पूर्व सांसद कांग्रेसका पूर्वकेन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं हुनु पनि हो । यो क्षेत्रमा अन्य दल र स्वतन्त गरी १६ उम्मेदवार छन् । 

२०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा एमाले वाग्मती अञ्चलमा एक मात्रै क्षेत्रमा विजयी भएको थियो । काभ्रेको साबिक क्षेत्र नं ३ मा एमालेका कृष्णप्रसाद सापकोटा १६ हजार ५ सय ९४ मतसहित विजयी भएका थिए । २०७० सालमा भएको संविधानसभाको अर्को निर्वाचनमा भने यो क्षेत्रमा एमालेले जित्न सकेन । कांग्रेसका कञ्चनचन्द्र बादेले एमालेका गोकुल बाँस्कोटालाई पराजित गरे । २०७४ मा यही क्षेत्रबाट वाम गठबन्धनका तर्फबाट बाँस्कोटा उम्मेदवार बनेका थिए । उनी ५४ हजार ४ सय २७ मत ल्याएर विजयी भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका मधु आचार्यलाई १७ हजार ८ सय ४८ मतले पछि पारेका थिए । 

तर २०७४ को चुनावको जस्तो स्थिति अहिले काभ्रे २ मा छैन । ठूलो मतान्तरले चुनाव जितेका बाँस्कोटालाई यसपटक चुनाव जित्न गाह्रो देखिन्छ । किनकि उनीसँग प्रतिस्पर्धामा देखिएका कांग्रेसका शिवप्रसाद हुमागाईं पार्टीभित्र प्रभावशाली र पुराना नेता हुन् । हालको क्षेत्र नं २ नै पर्ने साबिक क्षेत्र नं ३ मा २०५६ सालको निर्वाचनमा उनी निर्वाचित भएका थिए । त्यसका अलवा माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ पाएकाले उनी बलियो उम्मेदवारका रूपमा दरिएका छन् । 

पार्टी विभाजनको असर पनि बाँस्कोटालाई पर्ने नै देखिन्छ । एमालेकै जिल्लास्तरीय नेताहरू फुटको असर काभ्रेका अन्य क्षेत्रमा भन्दा २ मा बढी परेको बताउँछन् । एमालेबाट लामो समय जिल्ला विकास समिति सभापति भएका र संविधानसभा निर्वाचन २०६४ मा जितेका कृष्णप्रसाद सापकोटा, पूर्वपार्टी सचिव एवं संविधानसभा निर्वाचन २०७० मा निर्वाचित विदुर सापकोटा, २०७४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाँस्कोटासँगै निर्वाचित भएका प्रदेशसभा सदस्य लक्ष्मण लम्साल र वसुन्धरा हुमागाईं अहिले एकीकृत समाजवादीमा छन् । एमालेका तत्कालीन प्रभावशाली नेताहरू पार्टीबाहिर हुनुले पनि बाँस्कोटाको स्थिति पहिलेभन्दा कमजोर बनाएको आँकलन गरिन्छ । 

स्थानीय तह निर्वाचनको मतपरिणामले पनि यो क्षेत्रमा एमालेलाई बलियो देखाउँदैन । काभ्रे–२ अन्तर्गत मण्डनदेउपुर, पाँचखाल, बनेपा नगरपालिका र भुम्लु गाउँपालिकाका सम्पूर्ण वडा, धुलिखेल नगरपालिकाका १२ मध्ये ७ वटा वडा, पनौती नगरपालिकाका १२ मध्ये ५ वटा वडा, बेथानचोक गाउँपालिकाका ५ वटा वडा क्षेत्र नं २ मा पर्छ । यो क्षेत्रमा पर्ने ६६ वडा मध्ये ४१ वटामा गठबन्धन दल र २५ वटामा एमालेका उम्मेदवार विजयी भएका छन् । स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा पर्ने मण्डनदेउपुर, पाँचखाल, बनेपा र पनौती, बेथानचोक, भुम्लुमा गठबन्धन आबद्ध दल विजयी भएका थिए भने धुलिखेल नगरपालिकामा मात्रै एमालेका प्रमुख निर्वाचित भएका छन् । बनेपा, पनौती र पाँचखालमा भने एमालेका उपप्रमुखले जितेका थिए । 

खरो स्वभावका बाँस्कोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदसम्बन्धी अडियो लिक भएपछि ७० करोडको भ्रष्टाचारका आरोप खेपेका थिए । पुष्टि नभए पनि उक्त आरोपछि उनी विवादित मात्रै बनेनन्, यो आरोपका विषयमा उनले दिएको सार्वजनिक अभिव्यक्ति पनि सामाजिक सञ्जालमा विवादित बने । बाँस्कोटा भने यस्ता आरोपहरूको वास्ता गर्दैनन् । उनी आफू सरकारमा हुँदा काभ्रेमा भित्र्याएको विकास आयोजनालाई नै आफ्नो जितको आधार मान्छन् ।

पार्टीप्रति प्रतिबद्धत मत, तत्कालीन नेकपाको एकता प्रक्रियाबाट एमालेमा नै रहेका माओवादीका नेता कार्यकर्ता र पछिल्लो समय प्रवेश हुने कार्यकर्ता संख्या नै आफ्नो जितको आधार भएको बाँस्कोटाले विभिन्न मञ्चमा बताउँदै आएका छन् । ‘काभ्रेली जनताले गोकुल बाँस्कोटा को हुन्, चिनेका छन्, बुझेका छन्,’ उनले भन्ने गरेका छन्, ‘यस पटकको निर्वाचनमा जितको आधार भनेकै यहाँका जनताले गरेको विश्वास हो, जनतासँग गरेको प्रतिबद्धताअनुसार काम गरेकै छु । मेरो कामको परीक्षण र मूल्यांकन गर्न मतदातालाई छोडिदिएको छु ।’ 

कांग्रेसीजन भने गठबन्धनको मत नै आफ्नो जितको प्रमुख आधार रहेको बताउँछन् । गठबन्धनका कांग्रेस उम्मेदवार हुमागाईं जनताले समृद्धि, सुशासन चाहेकाले आफू निर्वाचित हुने दाबी गरे । ‘जनताले संविधानको रक्षा र सुशासन चाहेका छन्,’ उनले भने, ‘म निर्वाचित भए भने काभ्रेलीको शिर निहुरिन दिने छैन, विकास, समृद्धि र सुशासनका लागि काभ्रेलीले हामीलाई विजयी गराउनुहुनेछ ।’

मंसिर ४ मा हुने निर्वाचनका लागि जिल्लाका कुल ३ लाख १० हजार ६३ मतदातामध्ये प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा ७९ हजार १ सय ७४ पुरुष र ७८ हजार २ सय ६७ महिला गरी १ लाख ५७ हजार ४ सय ४२ मतदाता छन् । 

कान्तिपुर

Link copied successfully