चित्रबहादुरको ‘अन्तिम लडाइँ’

गठबन्धनको साथ र पार्टीको आग्रहले चुनाव लडेको दाबी, संसद् पुगेर राष्ट्रियताको पक्षमा आवाज उठाउने आश्वासन

कार्तिक ४, २०७९

प्रकाश बराल

बागलुङ — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ८१ वर्षको उमेरमा प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दै छन् । उनी सत्ता गठबन्धनका तर्फबाट बागलुङ–१ मा उम्मेदवार छन् । २०५६, २०६४ र २०७० सालमा बागलुङको प्रतिनिधित्व गरेर संसद् पुगेका केसी बुढेसकालमा फेरि छोरा उमेरका एमालेका सूर्य पाठकसँग प्रतिस्पर्धामा होमिएका हुन् । 

२०७४ मा टेम्पोबाट लडेर घाइते भएकाले उम्मेदवारी नदिएका केसी अहिले सशक्त उम्मेदवारका रूपमा चिनिएका छन् । गत निर्वाचनमा राजमोको समेत मत पाएर जितेका एमालेका पाठक अहिले केसीकै प्रतिस्पर्धी हुन् । केसीले यो उमेरमा गठबन्धनको साथ र पार्टीको आग्रहले चुनाव लडेको बताए । उनले राष्ट्रिय एजेन्डाको अन्तिम लडाइँ भएको दाबी गरेका छन् । ‘राष्ट्र, राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि यो अन्तिम लडाइँ हो,’ केसीले भने, ‘मेरो बाटो सही रहेछ भनेर धेरैले स्विकारेका छन् । जनमतले पनि लडाइँ जित्नु छ ।’

संसद्मा पुगेर केसीले राष्ट्रियताको पक्षमा आवाज उठाउने बताए । ‘बाहिरी शक्तिको गतिविधिले देश तहसनहस बनाइसकेको छ, त्यसैले गतिलो आवाज उठाउनुपर्नेछ,’ उनले भने, ‘गणतन्त्रमाथि आएको कालो बादल हटाउन पहल गर्नेछु ।’ उनले गणतन्त्र, धर्म निरपेक्षताजस्ता विषय खतरामा परिरहेको बताए । उनले ठूला दलबाटै राष्ट्रियता खतरामा परेको टिप्पणी गरे । ‘संघीयता धान्न नसक्ने प्रणाली हो भनेर मैले संविधान जारी नगर्दै भनेको थिएँ,’ उनले भने, ‘अहिले अरू पार्टीका कार्यकर्ताले पनि तपाईंको एजेन्डा ठिक छ भन्दै मतदान गर्ने आश्वासन दिएका छन् ।’ 

केसीविरुद्ध अन्य दलले लगाएको एकमात्रै आरोप हो– बुढ्यौली उमेर । उक्त आरोप केसी आफैंले स्विकारेका छन् । ‘म कहाँ तन्नेरी छु त, बुढो भएकै हो,’ उनले भने । उम्मेदवारी दर्ता गरेकै दिन केसीले आफू तन्नेरी भएर नभई देशको आवश्यकताले उम्मेदवार बनेको प्रतिक्रिया दिएका थिए । ‘बूढो भएको भन्ने हो भने अमेरिकी राष्ट्रपति पनि ८० पुग्न लागे, मोहम्मद महाथीर पनि बुढै छन्,’ उनले भने, ‘हिजो गिरिजाबाबु र मनमोहन पनि बुढै भएर देशको नेतृत्व सम्हालेका थिए । मैले त संसद्मा 

पुगेर आवाज मात्रै उठाउन खोजेको हुँ । सत्तामा जान खोजेको पनि होइन ।’ 

गठबन्धनका शीर्ष नेताको आग्रह र पार्टीले गोप्य मतदानबाट आफ्नै नाम सिफारिस गरेपछि उम्मेदवार बन्न तयार भएको उनले दाबी गरे । केसीले गठबन्धनका लागि मत ट्रान्सफर गराउने चुनौती देखेका छन् । स्थानीय निर्वाचनमा गठबन्धन अधिकांश स्थानमा सफल भएकाले खासै फरक नपरे पनि केही मतदातालाई फरक दलको चिह्नमा मतदान गराउने काम कठिन भएको उनले बताए । ‘समस्यामा जकडिएका जनतालाई गणतन्त्रको रक्षा किन गर्ने भन्दा पनि दैनिक जीवन कसरी चलाउने भन्ने पीर छ, उनीहरूलाई महँगी घटोस्, उपचार पद्धति सस्तो होस् भन्ने छ,’ केसीले भने, ‘हामीले त्यसतर्फ पनि सम्बोधन गर्न सक्नुपर्छ ।’ 

भण्डाफोर नीतिमात्रै लिएका केसीले यस पटक भने नागरिकको दैनिकी सुधार्ने प्रतिबद्धतासमेत जनाए । जनजीविकामा साथ दिएर मत ट्रान्सफर गर्ने उनले बताए । भ्रष्टाचारविरुद्ध भण्डाफोर गर्ने शक्तिसमेत राजमो भएको केसीको दाबी छ । उनले आफूमाथि भ्रष्टाचार, अनियमितता र घुसखोरीको आरोप लगाउन चुनौती दिए ।

‘चित्रबहादुरले भ्रष्टाचार गरेको छ कि, गाडी सुविधा लिएको छ कि, विदेशीको अगाडि घुँडा टेकेको छ ?’ उनले भने, ‘चित्रबहादुर आयो भने भ्रष्टाचार गर्न दिँंदैन भन्ने धेरैलाई लागेकाले विरोध गरेका छन् ।’ उनले शक्तिमा बसेर राज्यस्रोत दोहन गर्नेविरुद्ध निरन्तर भण्डाफोर हुने टिप्पणी गरे । ‘उमेरका नेता धेरै छन् तर पनि बुढाले जति देशको माया गर्न सकेनन्,’ उनले भने, ‘उमेरको कुरा हैन, कसको एजेन्डा जनताको पक्षमा छ भनेर विश्लेषण गरौं ।’ कृत्रिम नारामा जनता अब नझुक्किने उनले बताए । केसीकै क्षेत्रको प्रदेशसभा (१) मा भने नाति उमेरका डिल्लीराम सुवेदी कांग्रेस उमेदवार छन् ।

२०१४ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनेका केसी २०३१ सालमा केन्द्रीय सदस्य भएका थिए । २०४१ सालमा मसालको महामन्त्री र २०४४ सालमा संयुक्त राष्ट्रिय जनआन्दोलन समितिको अध्यक्ष भएका केसी २०५२ मा गठन भएको राजमोको केन्द्रीय अध्यक्ष हुन् । उनले संघीयताको विरोध गर्दै आएका छन् । केसीको उम्मेदवारीले यो पटक बागलुङमा पैसा खर्चने प्रवृत्ति पनि देखिएको छैन । ‘घरघरै झन्डा हाल्ने, भाषण र आमसभा गर्ने काम भएको छैन,’ नागरिक समाजका अगुवा काजीगाउँले श्रेष्ठले भने, ‘हूल बाँधेर भोट माग्ने र लाखौं खर्चने पनि कसैले गरेका छैनन् ।’ खेतबारीमा काम गरेका किसानलाई भेट्ने, आफ्नो विचार राख्ने काममा सबै उम्मेदवार लागेका छन् । 

केसीका प्रतिस्पर्धी एमालेका पाठकले पनि घरदैलो अभियान चलाएको बताए । यहाँ राप्रपाका लक्ष्मीप्रसाद सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल र स्वतन्त्र उमेदवार चन्द्रबहादुर क्षेत्री पनि प्रतिस्पर्धामा छन् । प्रचारको शैली सबैको घरदैलो नै हो । ‘अन्तिममा एक–दुईवटा आमसभा गर्ने, नत्र घरदैलो नै गर्ने हो,’ सापकोटाले भने, ‘जनता बुझ्ने भइसके, खोक्रा नारा दिएर भाषण गर्नुको अर्थ छैन ।’ राष्ट्रियता जोगाउन उम्मेदवार बनेको उनले बताए । कँडेलले पनि राष्ट्रियताकै नारा उठाएका छन् । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully