काठमाडौँ — प्रदेश १ मा प्रतिनिधिसभातर्फ २८ वटा निर्वाचन क्षेत्र छन् । सबै क्षेत्रमा मुलतः नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धनकै बीच प्रतिस्पर्धा हुने निश्चित छ । तीमध्ये पनि केही क्षेत्रमा चर्चित अनुहारबीचमै कडा टक्कर हुने देखिएको छ । यहाँ प्रदेश–१ मा कडा प्रतिस्पर्धा हुन सक्ने ६ क्षेत्रबारे चर्चा गरिएको छ ।
झापा–१ मा शर्मा र खरेल
झापा–१ मा दुई चर्चित अनुहारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र विपक्षी गठबन्धनबाट नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नी खरेल उम्मेदवार छन् । यहाँ १३ राजनीतिक दल र ३ स्वतन्त्र गरी १६ जनाको उम्मेदवारी दर्ता भएको छ । तर, अघिल्ला निर्वाचनको परिणाम र दलको संगठनलाई आधार मान्दा शर्मा र खरेल नै मुख्य प्रतिस्पर्धी हुने देखिन्छ । कांग्रेस उम्मेदवार शर्मालाई माओवादी केन्द्रको समर्थन छ भने एमालेका उम्मेदवार खरेललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेको छ ।
कांग्रेसमा नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै पार्टीको राजनीतिमा आएका महामन्त्री शर्मा कांग्रेसमा प्रवक्ताको जिम्मेवारी निभाइसकेका नेता हुन् । पार्टीभित्र लोकप्रिय छवि बनाएका उनले गत मंसिरमा भएको महाधिवेशनमा दुई ठूला गुटको घेराबन्दीलाई चिरेर महामन्त्री जिते । तर संसदीय राजनीतिमा भने उनले प्रवेश नै पाएका छैनन् ।
०६४ र ०७० मा समानुपातिकबाट संविधानसभा सदस्य र कानुनमन्त्रीसमेत बनिसकेका खरेल पूर्व महान्यायधिवक्ता समेत हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रिय पात्र उनले पटक–पटक अवसर पाएपनि उनका लागि चुनावी प्रतिस्पर्धा भने पहिलो हो । स्थानीय तहको परिणाम केलाउँदा झापा–१ मा एमालेको मत गठबन्धन दलको सबै मतभन्दा पनि धेरै छ । झापा–२ बाट उम्मेदवार सिफारिस भएका खरेल त्यही स्थानीय तहको परिणाम हेरेर झापा–१ बाट उम्मेदवार बन्न तयार भएका हुन् ।
०७० मा एमालेकै रविन कोइराला र ०७४ मा बामगठबन्धनबाट नेकपा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका कांग्रेस उम्मेदवार शर्मा भने यसपटक गठबन्धनको बलमा चुनाव जित्ने दाउमा छन् । एमालेको स्थानीय कमिटीले यहाँबाट फेरि पनि रविन कोइरालालाई नै उम्मेदवार बनाउन सिफारिस गरेको थियो । तर, खरेललाई उम्मेदवार बनाएपछि यसपटक मतदाताको सेण्टिमेण्ट आफूतिर रहने शर्माको विश्वास देखिन्छ ।
०७४ मा बामगठबन्धनका कार्कीले ३६ हजार १७३ मत ल्याएर चुनाव जित्दा शर्माले ३३ हजार ३१० मत पाएका थिए ।
झापा–३ मा सिटौला र लिङ्देनको चौथो भिडन्त
झापा–३ बाट प्रतिनिधिसभा सदस्यका लागि १५ राजनीतिक दल र ३ स्वतन्त्र गरी १८ जनाको उम्मेदवारी परेको छ । तर, मुख्य प्रतिस्पर्धी भने फेरि पनि कृष्णप्रसाद सिटौला र राजेन्द्र लिङ्देन नै हुन् । सिटौलाले सत्ता गठबन्धनमा नेपाली कांग्रेसबाट र लिङ्देनले विपक्षी गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन् । यहाँ सिटौला र लिङ्देनबीच यो चौथो भिडन्त हो ।
सिटौला–लिङ्देन तीन पटक आमनेसामने हुँदा सिटौलाले दुई पटक जितेका छन् भने लिङ्देनले एकपटक । सिटौलाले लिङ्देनलाई ०५६ र ०७० को निर्वाचतमा जितेका थिए । ०६४ मा भने लिङ्देन उम्मेदवार नै बनेनन् । तेस्रोपटकको भिडन्तमा भने लिङ्देनले सिटौलालाई पराजित गरेका थिए । ०७४ मा सिटौलाले ३१ हजार १७१ मत प्राप्त गर्दा लिङ्देनले ४४ हजार ६१४ मत प्राप्त गरी चुनाव जितेका थिए ।
तर, ०७४ मा लिङ्देनले बामगठबन्धनको साथ पाएका थिए । यसपटक उनीसँग एमालेको मात्रै साथ छ । अर्को बामघटक माओवादी केन्द्रको साथ सिटौलासँग छ ।
पार्टीको जिल्ला सभापति हुँदै केन्द्रीय महामन्त्री र गृहमन्त्रीसम्म बनिसकेका सिटौलाले झापामा राम्रो प्रभाव राख्छन् । अहिले पनि झापा जिल्ला सभापति र प्रदेश १ का सभापतिसमेत सिटौला समूहकै नेताहरू छन् । उनलाई आफ्नो चुनावी अभियानमा संगठन परिचालन गर्न समस्या छैन । यसपटक गठबन्धनको बलमा लिङ्देनसँग पाँच वर्षअघिको बदला लिने सिटौलाको दाउ छ ।
तर, लिङ्देन पनि यो पाँच वर्षमा निकै शक्तिशाली बनिसकेका छन् । ०७४ मा उनी पार्टीको महामन्त्रीमात्रै थिए । अहिले उनी पार्टीको अध्यक्ष छन् । गत मंसिरमा भएको महाधिवेशनमा लिङ्देनले राप्रपामा १५ वर्षदेखिको कमल थापाको दलबल तोडेर पार्टी अध्यक्ष जितेका थिए । स्थानीय तहको निर्वाचन परिणामले हौसिएका लिङ्देन यसपटक आफूले जित्ने मात्रै होइन, राप्रपालाई राष्ट्रिय पार्टी बनाउन जोडबल गरिरहेका छन् ।
मोरङ-६ मा कोइराला र पण्डित
प्रदेश १ मा चासोका हेरिएका क्षेत्रमध्ये अर्को हो, मोरङ–६ । यहाँ यसपटक पनि पूरानै अनुहार मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् । यहाँ नेपाली कांग्रेसका नेता शेखर कोइराला र नेकपा एमालेका लालबाबु पण्डितसहित १३ राजनीतिक दल र ३ जना स्वतन्त्रको उम्मेदवारी परेको छ । ०७४ को निर्वाचनमा कांग्रेसका कोइरालालाई एमालेका पण्डितले ६ सय ७५ मतले पराजित गरेका थिए । त्यसबेला भएको बामगठबन्धन र मन्त्री हुँदा प्रशासनिक सुधार र इमान्दार छवि प्रस्तुत गरेको नेताको परिचयले पण्डितलाई साथ जोडबल पुगेको थियो । तर, यसपटक माओवादी केन्द्रको साथ पण्डितसँग छैन, कोइरालासँग छ । त्यसैको बलमा कोइराला पाँच वर्षअघिको बदला लिने दाउमा छन् । ०७४ को चुनावमा कोइरालाले ३३ हजार २६६ मत प्राप्त गर्दा पण्डितले ३३ हजार ९४१ मत ल्याएर चुनाव जितेका थिए ।
जबकि प्रदेशसभातर्फ दुवै क्षेत्रमा कांग्रेसले चुनाव जितेको थियो । नेता कोइरालाले आफूलाई पार्टीभित्र अन्तरघात भएको आरोप लगाएका थिए ।
चुनाव जितेपछि देश दौडाहामा लागेका कोइराला अहिले कांग्रेसमा प्रतिपक्षी धारका नेता हुन् । चिकित्सक पेशाबाट राजनीतिमा आएर कोइराला विरासतको उत्तराधिकारी बनेका कोइराला गत मंसिरमा भएको पार्टीको महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा निकटतम प्रत्यासी बनेका थिए । उमेरले सात दशक काटिसकेका कोइराला यसपटक जित्नैपर्ने दबाबमा छन् । पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभा निर्वाचनमा यही क्षेत्रबाट जितेका कोइराला यसपटक चुनाव जिते प्रधानमन्त्री बाटो खुल्न सक्ने आशामा छन् ।
०७४ मा चुनाव जितेपछि मन्त्री बनेर काम गर्ने मौका पाएका पण्डित अहिले पार्टीको स्थायी कमिटी सदस्य बनेका छन् । उनी ०४८ देखि नै संसदीय राजनीति गर्दै आएका नेता हुन् । उनले ०४८ र ०५६ का संसदीय निर्वाचन पनि जितेका थिए । उनी ०६४ मा भने समानुपातिक कोटाबाट संविधानसभा सदस्य बने । ०७० मा सुशील कोइराला नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री बनेका पण्डित डीभी र ग्रिनकार्ड लिने कर्मचारीमाथि कारबाही गर्ने अडानका कारण चर्चामा आएका थिए ।
सुनसरी-३ मा गच्छदारलाई चौधरीको टक्कर
सुनसरी–३ मा यसपटक पनि बिजयकुमार गच्छदार र भगवती चौधरी चुनावी मैदानमा छन् । यहाँ ११ राजनीतिक दल र १२ स्वतन्त्र गरी २२ जना उम्मेदवार छन् । तर, फेरि पनि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गच्छदार र नेकपा एमालेकी उम्मेदवार चौधरीकै बीचमा कडा टक्कर हुने नेताहरू बताउँछन् । गच्छदार र चौधरी तेस्रो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । ०७४ को निर्वाचनमा गच्छदारले चौधरीलाई ३२१ मतले हराएर आफ्नो ०४८ पछि लगातार चुनाव जित्दै आएको रेकर्डलाई निरन्तरता दिएका थिए । गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा चौधरीले ३८ हजार ६५१ मत पाएकी थिइन् ।
दर्जनौँ पटक मन्त्री र उपप्रधानमन्त्रीसमेत भइसकेका गच्छदारले ०४८, ०५१ र ०५६ का निर्वाचन कांग्रेसबाट जितेका थिए भने ०६४ र ०७० का निर्वाचन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट जितेका थिए । ०७४ मा भने उनी कांग्रेसमै फर्किसकेका थिए । महाधिवेशनमा उपसभापति हारेका गच्छदार अहिले पार्टीको केन्द्रीय सदस्य छन् ।
०६४ को संविधानसभामा मन्त्रिपरिष्दबाट मनोनीत भएर बन तथा भुसंरक्षण राज्यमन्त्री बनेकी चौधरी अहिले एमाले केन्द्रीय सदस्य हुन् । पार्टीभित्रको चुनावी हार र भ्रष्टाचार मुद्दाका कारण गलिसकेका गच्छदारलाई यसपटक पराजित गर्ने र पाँच वर्षअघिको बदला लिने उनको दाउ छ ।
आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा रहेका गच्छदार यसपटक माओवादी केन्द्रसहित दलसँग गठबन्धन भएका कारण जितलाई निरन्तरता दिन कठिन नहुने आशमा छन् । ०७४ मा सांसद निर्वाचित भएपनि बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेपछि पदबाट निलम्बित भएका थिए । अहिले पनि उनीविरुद्व विशेष अदालतमा मुद्दा चलिरहेको छ ।
धनकुटामा थापा र राई
धनकुटामा यसपटक पनि सुनिलबहादुर थापा र राजेन्द्र राईबीचमै मुख्य प्रतिस्पर्धा छ । त्यसो त ७ राजनीतिक दल र २ स्वतन्त्र गरी ९ जनाको उम्मेदवारी छ । तर, यसपटक पनि थापा र राईबीचमै प्रतिस्पर्धा हुने देखिएको छ । धनकुटामा थापा र राई चिरपरिचित प्रतिद्वन्द्वी हुन् । ०७० मा चुनाव जितेका थापालाई ०७४ मा भने बाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार राईले पराजित गरेका थिए । ०७४ मा राप्रपाबाट उम्मेदवारी दिएका उनलाई कांग्रेसको समर्थन थियो । तर, चुनाव हारेपछि उनी कांग्रेसमै प्रवेश गरे, र अहिले केन्द्रीय सदस्य बनेका छन् ।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका पुत्र सुनिल यसपटक बाबुको विरासत फर्काउने दाउमा छन् । तर, त्यो सजिलो भने छैन । उनलाई गठबन्धनमा यसपटक नेकपा माओवादी केन्द्रको समर्थन छ । तर, माओवादी केन्द्रका प्रभावशाली नेता हेमराज भण्डारीले पार्टीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका कारण उनलाई सजिलो भने छैन । एमालेका राईलाई यसपटक जनता समाजवादी पार्टीको समर्थन छ ।
०७४ मा एमालेका राईले ३७ हजार ३ सय ३३ मत प्राप्त गरेका भने थापाले २६ हजार ८ सय ७४ मत प्राप्त गरेका थिए ।
भोजपुरमा शेरधन राई र सुदन किराँती
भोजपुरमा चिरपरिचित दुई प्रतिद्वन्द्वी फेरि चुनावी मैदानमा उत्रिएका छन् । सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले सुदन किराँतीलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेबाट शेरधन राई उम्मेदवार बनेका छन् । भोजपुरमा यसपटक एमालेका शेरधन र कांग्रेससमेतको समर्थनमा उम्मेदवार बनेका माओवादी केन्द्रका सुदनबीच कडा टक्कर हुने देखिएको छ ।
सुदन र शेरधन चुनावी मैदानमा आमने सामने भएको यो तेस्रो पटक हो । त्यसो त यसबीचमा उनीहरूबीच चुनावी सहकार्यसमेत नभएको भने होइन । ०५६ को आमनिर्वाचनमा २८ वर्षमै चुनाव जितेर कान्छा सांसद बनेका शेरधनले ०६४ मै माओवादी केन्द्रका सुदन किराँतीलाई पराजित गरेका थिए । ०७० मा पनि सुदन शेरधनसँगै पराजित भए । ०७४ मा भने बामगठबन्धन भयो । सुदनले प्रतिनिधिसभा सदस्यमा मौका पाउँदा शेरधन प्रदेशसभामा लडे, र प्रदेश १ को पहिलो मुख्यमन्त्री बने ।
०७४ मा सांसद भएपनि सुदनले भने संघीय मन्त्री बन्ने मौका पाएनन् । शेरधन भने यसअघि नै संघीय सरकारको सञ्चार तथा सूचना प्रविधिमन्त्री भइसकेका छन् । तेस्रोपटकको भीडन्तमा शेरधनलाई जितेर मन्त्री बन्ने दाउमा छन् सुदन । तर, एमालेको बलियो संगठन चिर्न उनलाई त्यति सहज भने छैन । भोजपुरमा स्थानीय तहको निर्वाचन परिणामले भने गठबन्धनलाई बलियो देखाएको छ ।
