माओवादीका बहालवाला मुख्यमन्त्री र मन्त्रीले भने पाएनन् टिकट
रूपन्देही — प्रदेशसभाको पहिलो कार्यकालमा दुई जना मुख्यमन्त्री भए । पहिलो मुख्यमन्त्री एमालेका शंकर पोखरेलले प्रदेश सरकार स्थापना र संस्थागत विकासका लागि पर्याप्त काम गरे । दोस्रोपटक पोखरेललाई अल्पमतमा पार्दै मुख्यमन्त्री बनेका माओवादीका कुलप्रसाद केसी भने कामभन्दा बढी विवादित बने ।
कार्यकाल सकिनै लाग्दा पोखरेल प्रदेशबाट संघीय निर्वाचन लड्दै छन् भने माओवादीका केसी टिकट पाउनैबाट वञ्चित भएका छन् ।
पोखरेल २०७४ को निर्वाचनमा एमाले माओवादीको तालमेलपछि मुख्यमन्त्री बन्ने गरी नै दाङ २ (१) बाट निर्वाचित भएका थिए । अहिले दाङ-२ क्षेत्रबाट प्रतिनिधिसभामा उम्मेदवार छन् । २०७४ मा पोखरेल प्रदेशमा झरेपछि माओवादीका कृष्णबहादुर महरा प्रतिनिधिसभामा विजयी भएका थिए । अहिले पोखरेलसँग माओवादीकै रेखा शर्मा गठबन्धनबाट प्रतिस्पर्धामा छिन् । मन्त्रीसमेत भइसकेकी माओवादीकी महिला नेतृ शर्मा र एमाले भित्र प्रभावशाली नेताको रुपमा उदाएका एमाले महासचिव र पूर्व मुख्यमन्त्री पोखरेलबीचको प्रतिस्पर्धा रोचक नै छ ।
लुम्बिनी प्रदेशको पुनः मुख्यमन्त्री बन्ने प्रयासमा रहेका माओवादी नेता केसीले भने टिकट नै पाएनन् । सुरुमा संघीय निर्वाचन लड्ने गरी एक क्षेत्र रहेको रोल्पामा उनले प्रयास गरे । तर, वर्षमान पुनले नछोड्ने भएपछि उनी प्रदेशकै मुख्यमन्त्री सुनिश्चित गरी प्रदेशसभामै लड्ने तयारी गरे । तर, प्रदेश तर्फ २ क्षेत्र रहेको रोल्पामा गठबन्धनले एक क्षेत्र कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनलाई दिनैपर्ने सहमती गर्यो । अर्को क्षेत्रमा अघिल्लो चुनावमा उनैलाई सहयोग गरेका माओवादीका पोलिटब्यूरो सदस्य जोखबहादुर महरा थिए ।
महराले यसपटक प्रदेश नछोड्ने भएपछि केसीलाई अर्को समस्या पर्यो । रोल्पाबाट सम्भावना कम देखेका केसीले त्यसपछि दाङको क्षेत्र नं. १ (१)मा चासो देखाए र अधिकतम प्रयास पनि गरे । तर, प्रदेशमा सुरुमा आन्तरिक मामिला तथा कानुन मन्त्री र डेढ वर्ष मुख्यमन्त्री भएर निरन्तर ५ वर्ष बिताएका केसीले प्रभावकारीभन्दा विवादित काम बढी गरे । त्यसले केन्द्रीय अध्यक्ष पुष्पकमल दाहालकै ‘नोटिस’मा परेका उनले दाङबाट पनि टिकट पाएनन् ।
मुख्यमन्त्री केसी निकट माओवादीका एक नेताकाअनुसार प्रदेश सरकारमा रहँदा पार्टीका लागि उनले कुनै पनि प्रचारात्मक काम गर्न सकेनन् । त्यसैले पनि उनी टिकटका लागि रोजाईमा पर्ने अवस्था नै थिएन । ‘टिकटका लागि उहाँको लडाई अन्तिमसम्म नै जारी थियो,’ उनले भने, ‘तर, पटकपटक सरकारमा हुँदा उपलब्धी भन्दा विवाद धेरै गराएकाले अहिले टिकटबाटै वञ्चित हुनुभएको हो ।’
केसीको प्रेस संयोजक भएर काम गरेका रोल्पाका पत्रकार मानसिंह बिकले पनि संघीय र प्रदेश दुवैतर्फ चासो देखाएको भएपनि गठबन्धनकै कारण केसीले टिकट नपाएको बताए ।
माओवादीले लुम्बिनी प्रदेशमा मन्त्री भएका अधिकांश नेतालाई यसपटक टिकट दिएको छैन । दुईपटक गरेर माओवादीबाट ६ जना मन्त्री बनेका थिए । दुईजना राज्यमन्त्री भए । तीमध्ये यसपटक वहालवाला स्वास्थ्यमन्त्री इन्द्रजित थारु दाङ १ (१)बाट र पूर्व सामाजिक विकासमन्त्री सुदर्शन बराल गुल्मी १ (१)बाट उम्मेदवार बनेका छन् ।
केसीसँगै बहालवाला अर्थ तथा सहकारीमन्त्री प्यूठानका कृष्णध्वज खड्का, आन्तरिक मामिला तथा कानुन तथा सञ्चारमन्त्री बर्दियाका तिलकराम शर्मा, स्वास्थ्य राज्यमन्त्री दाङकी विमला वली खत्री, अर्थ तथा सहकारी राज्यमन्त्री कपिलवस्तुकी सुष्मा यादवले टिकट नै पाएनन् ।
त्यस्तै भौतिक पूर्वाधार विकासमन्त्री रहेका जसपाका सहसराम यादवले आइतबार नै कांग्रेसमा प्रवेश गरेर टिकट पाएका छन् । श्रम तथा यातायात व्यवस्थामन्त्री भएकी पाल्पाकी पुर्मती ढेंगा र कृषि, तथा भूमि व्यवस्थामन्त्री बर्दियाकी सुमन शर्मा रायमाझीले पनि टिकट पाइनन् । कांग्रेसबाट मन्त्री बनेका भने सबैले टिकट पाएका छन् ।
पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री दाङका डिल्ली चौधरी दाङको ३ (१)बाट निर्वाचन लडेर मुख्यमन्त्री हुने प्रयासमा छन् । त्यस्तै वन तथा वातावरणमन्त्री सुरेन्द्रबहादुर हमाल बाँके २ (२)बाट, शिक्षा तथा खेलकुदमन्त्री बसिउद्धिन खाँ रूपन्देही ४ (२)बाट र ऊर्जा‚ जलस्रोत तथा सिंचाइमन्त्री वीरबहादुर राना पाल्पा २ (१)बाट चुनाव लड्दै छन् ।
एमालेबाट मन्त्री बनेका नवलपरासी पश्चिमका बैजनाथ चौधरीले अन्तिममा टिकट पाएनन् भने लिला गिरी रूपन्देहीको २ (१)बाट उम्मेदवार बनेका छन् । कांग्रेसको प्रदेशसभाका प्रमुख सचेतक फकरुद्धिन खानले कांग्रेसका धेरै प्रदेशसभा सदस्यले अहिले पनि टिकट पाएको बताए ।
‘मन्त्रीहरू लगभग सबैले टिकट पाउनुभएको छ,’ उनले भने, ‘कतिपय नयाँ अनुहार पनि आउनुभएको छ ।’ माओवादीका प्रदेश अध्यक्ष सुदर्शन बरालले पार्टीमा प्रदेशमा मन्त्री भएकाहरूले संघीय टिकट लिने प्रयास गरेको र गठबन्धनका कारण संघीय सम्भव नहुँदा प्रदेश छाडेको बताए ।
त्यस्तै प्यूठानका कृष्णध्वज खड्काकी श्रीमती रेखा शर्मा दाङ- २ बाट प्रत्यक्षमा लड्दै छन् । त्यस्तै लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती एकमात्र क्षेत्र रहेको पूर्वी रुकुमबाट प्रतिनिधिसभामा चुनाव लड्दै छन् ।
