अन्तर्राष्ट्रिय सन्तुलन गराउन मेरो उम्मेदवारी : नेता केसी

'यो मेरो अन्तिम निर्वाचन हो'

आश्विन २४, २०७९

कृष्ण थापा

नुवाकोट — नेपाली कांग्रेसका नेता एवं नुवाकोट निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुननरसिंह केसीले अन्तर्राष्ट्रिय असन्तुलनले राष्ट्र र राष्ट्रियतामा चुनौतीसहितको परिस्थिति निर्माण भइरहेकाले सन्तुलित निकास दिन आफू निर्वाचन उम्मेदवार बनेको बताएका छन् ।

सोमबार नेपाल प्रेस युनियनले बिदुरमा आयोजना गरेको प्रेस सम्मेलनमा नेता केसीले भने,‘मैले सन्तुलित निकास दिनसक्ने विचार प्रवाहित गर्नसक्छु र म संसद्‍मा उपस्थिति हुन अनिवार्य छ भनेर मेरो अन्तरआत्माले चुनावमा लड्न कोसिस गरेको हो । नत्र अरु बाटो र विकल्प खुला नरहेका होइनन् ।’

नेता केसीले यो निर्वाचन प्रतिस्पर्धाका रुपमा आफ्ना लागि अन्तिम निर्वाचन हुने समेत घोषणा गरेका छन् । ‘मेरो अन्तिम निर्वाचन हुन्छ । यसपछि लड्दिनँ पनि,’ उनले जनताको हित र विवेकको दृष्टिकोणले लोकतन्त्रका नाममा अलोकतान्त्रिक गतिविधि बढेको बताए ।

उनले नुवाकोट कांग्रेसभित्र देखिएको टिकट विवाद एक/दुई दिनमा समाधान हुने पनि बताएका छन् । यस्तै पहिलेका विमतिलाई बिर्सेर अघि बढ्न कांग्रेसका नेता तथा कार्यकर्तालाई नेता केसीले आग्रह गरेका छन् । पार्टीलाई लोकतान्त्रिक बनाएपछि मात्र लोकतन्त्र बलियो हुने पनि उनको तर्क थियो ।

साथै नेता केसीले जनताको हित र विवेकको दृष्टिकोणले अलोकतान्त्रिक गतिविधि बढेकामा चिन्ता व्यक्त गरेका थिए । र उनले आफू निर्वाचित भएमा भ्रष्टाचार र अनियमिता विरुद्ध राष्ट्रिय आन्दोलन संसद्‍बाटै सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘पार्टी जहाँ उभिन्छ । त्यहाँ उभिनुपर्छ,’ उनले भनेका छन्, 'पार्टीभित्रको इमान्दारीतालाई सबैले सहयोग गर्नुपर्छ ।' यद्यपि प्रदेशमा उठ्ने कोहीकसैसँग आफ्नो पूर्वाग्रह नगरहेको नेता केसीले बताए । यस क्रममा केसीले निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।

कृष्ण

Link copied successfully