रुपन्देहीमा प्रतिनिधितर्फ ९५ र प्रदेशसभाका लागि १ सय १८ जनाको उम्मेदवारी

आश्विन २४, २०७९

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा प्रतिनिधि सभातर्फ ९५ र प्रदेशसभा सदस्यमा १ सय ९८ जनाको उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीका अनुसार ५ जना प्रतिनिधिसभा सदस्यका लागि जिल्लामा ९५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, १० प्रदेशसभा सदस्यका लागि १ सय १८ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभामा २१ र प्रदेशसभा तर्फ क्षेत्र न १ (१) मा ११ र (२) मा १५ जनाको उम्मेदवारी दर्ता भएको छ । १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा, स्वतन्त्रतर्फ घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएका छन् ।

विश्वकर्मा २०७४ सालको निर्वाचनमा पनि क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । भुसालले सतारुढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । विश्वकर्मालाई राप्रपा र जसपाले समर्थन गरेका छन् । 

क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि १७ जनाले उम्मेदवारी दिएका छन् । प्रदेशसभातर्फ २ (१) मा १२ र (२) मा ११ जनाको दर्ता भएको छ । क्षेत्र नम्बर २ मा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का नेता राजु गुरुङले उम्मेदवारी दिएका छन् । उक्त क्षेत्रबाट एमाले नेता विष्णु पौडेल ३ पटक निर्वाचित भइसकेका छन् । 

त्यस्तै, क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभामा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ प्रदेशतर्फ ३ (१)मा १२ र (२) मा १२ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण, राप्रपाका वरिष्ठ नेता तथा पूवमन्त्री दीपक बोहराले उम्मेदवारी दर्ता गराएका छन् । बोहरालाई एमाले र जसपाले समर्थन गरेका छन् । २०७४ को निर्वाचनमा क्षेत्र न ३ मा घनश्याम भुसाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभातर्फ १३ जना र प्रदेशतर्फ ४ (१) मा ६ र (२) मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभामा कांग्रेसबाट युवा नेता प्रमोदकुमार यादव, लोसपाबाट पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला, जसपाबाट पूर्व राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी) र जनमत पार्टीबाट भोपेन्द्रप्रसाद यादवले उम्मेदवारी दर्ता गरेका छन् । २०७४ सालको निर्वाचनमा यहाँ कांग्रेसका उम्मेदवार प्रमोदकुमार यादव निर्वाचित भएका थिए ।

त्यस्तै, रुपन्देहीको क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ २० जनाको उम्मेदवारी परेको छ भने प्रदेश सभातर्फ ५ (१) मा १३ र (२) मा १४ जनाको उम्मेदवारी दर्ता भएको छ । यो क्षेत्रमा प्रतिनिधिसभातर्फ कांग्रेसका भरतकुमार शाहले उम्मेदवारी दर्ता गराएका छन् । २०७४ सालमा पनि शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

उक्त क्षेत्रमा एमालेबाट दुई जनाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा एमालेका खिमलाल भट्टराई र बासुदेव घिमिरेले उम्मेदवारी दिएका हुन् । दुईमध्ये कसलाई आधिकारिक मान्ने भन्नेबारे निर्वाचन आयोगले निर्णय गर्न बाँकी छ । भण्डारीले आज साँझसम्म यही संख्या रहेपनि साँझबाट घट्ने बताए । उनले आधिकारिक निर्णय साँझमात्र हुने जनाए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully