हुम्ला — आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि ३ जना स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा ४ जना, प्रदेशसभा ‘क’ मा ६ र ‘ख’ मा ६ जना गरी १६ जनाको आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।
गएको बुधबारदेखि भएको निरन्तर भारी वर्षाका कारण हवाई सेवा बन्द हुँदा हुम्लाका अधिकांश उम्मेरदवारहरुले निर्वाचन आयोगको केन्द्रीय कार्यालय मार्फतको वारिसनामाले मनोनयन दर्ता गराएका छन् ।
हुम्लाबाट प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका छिरिङडम्डोल लामा (कार्चेन), नेकपा (एमाले) का दल रावल, माओवादी केन्द्र समाजवादीबाट कर्णजित बुढाथोकी (सशील) र राप्रपाबाट तेजबहादुर रावतसहित चार जनाले मनोनयन पत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको छ ।
प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका राप्रपाका तेजबहादुर रावत बाहेक लामा, रावल र बुढाथोकीले वारिसनामा पठाएर मनोनय पत्र दर्ता गराएका थिए । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेका छिरिङडम्डोल लामा (कार्चेन)ले माओवादी केन्द्रका जिल्ला कमिटी सचिव धर्मराज बोहरा, नेता ताक्लाजिग्मेत लामा (मुस्कान), वाईसिएल जिल्ला सहसंयोजक कार्मानाम्ग्याल लामाको नाममा जिल्ला निर्वाचन कार्यालय सुर्खेत मार्फत वारिसनामा पठाएर मनोनय दर्ता गरेको बताए ।
एमालेका रावलको तर्फबाट उनका भाइ पुन्दबहादुर रावलको नाममा र माओवादी केन्द्र समाजवादीका केन्द्रीय अध्यक्ष समेत रहेका कर्णजित बुढाथोकीले पार्टीका जिल्ला अध्यक्ष रंगमल रोकायाको नाममा निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमार्फत वारिसनामा पठाएर मनोनय दर्ता गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाको श्रोतले जनाएको छ ।
अहिलेसम्म पनि राष्ट्रिय सडक सञ्जालमा नजोडिएको नेपालको एक मात्र जिल्लाका रुपमा रहेको हुम्लामा वर्षाका कारण हवाई सेवा अवरुद्ध भएपछि निर्वाचन आयोगको केन्द्रीय कार्यालयमार्फत मनोनय गराएको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । पार्टीको बैठकका सिलसिलामा एक सातायता काठमाडौंमै रहेका शाहीले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको आधिकारिक पत्र र कांग्रेस जिल्ला उपसभापति वसन्त रोकायाको नाममा आयोगको केन्द्रीय कार्यालयबाट वारिसनामा मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लामा पठाएर मनोनय पत्र दर्ता गराएका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका नेता शाही गठबन्धनका तर्फबाट प्रदेशसभा क्षेत्र नं. ख का प्रदेश सभा सदस्यका उम्मेदवार बनेका हुन् ।
मुख्यमन्त्री शाहीसँगै नेकपा एमालेका नेता छक्कबहादुर लामाले प्रकाश शाही र दल फडेराले गोकुल बुढाको नाममा आयोगको केन्द्रीय कार्यालयमार्फत वारिसनामा पठाएर आफ्नो मनोनयन पत्र दर्ता गराएका छन् । नेकपा एमालेको तर्फबाट फडेरा प्रदेश क र लामा प्रदेश ख का उम्मेदवार हुन् ।
लगातारको भारी वर्षाका कारण मनोनयन दर्ता गर्न जिल्ला जान नसकेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतको निर्वाचन कार्यालयबाटै आफूले गठबन्धनकातर्फबाट प्रदेश निर्वाचन क्षेत्र (क) को टिकट पाएका रणसिंह परियारले माओवादी केन्द्रका नेता छवि थापा र जंग बोहराको नाममा जिल्ला निर्वाचन कार्यालय सुर्खेतमार्फत वारिसनामा पठाएर मनोनयन दर्ता गराएका छन् ।
प्रदेश निर्वाचन क्षेत्र (क) मा गठबन्धनकातर्फबाट माओवादी केन्द्रका रणसिंह परियार, नेकपा (एमाले)बाट दल फडेरा, एकीकृत समाजवादीबाट हस्तबहादुर शाही, राप्रपाबाट छापे ऐडीसहित कांग्रेस नेता मंगलबहादुर शाही माओवादी केन्द्रका ध्रुवकुमार शाहीले स्वतन्त्र मनोनयन पत्र दर्ता गराएका छन् ।
यसैगरी प्रदेश निर्वाचन क्षेत्र (ख) का लागि गठबन्धनका तर्फबाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, एमालेका छक्कबहादुर लामा, राप्रपा नेपालका सुमन रावत, जनता समाजवादीका वलिराज शाही, राप्रपा बाट नैन रावत र माओवादी केन्द्रका वली रावतले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् ।
सत्तारुढ गठबन्धन भित्रबाटै प्रदेशसभा ख मा माओवादी केन्द्रका बली रावत र प्रदेशसभा क मा नेकपा एकीकृत समाजबादीका हस्तबहादुर शाही नेपाली कांग्रेसका नेता मंगलबहादुर शाही र माओवादी केन्द्रका ध्रुवकुमार शाहीसहित ४ जनाले गठबन्धनकाविरुद्ध उम्मेदवार दर्ता गराएका छन् ।
