आफू केन्द्रीय राजनीतिमै रमाउने बताउँदै आएका खगराज अधिकारी पूर्वमुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङलाई पन्छाएर प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।
पोखरा — दसैंअघि एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले भनेका थिए- ‘प्रदेशमा लड्ने मेरो व्यक्तिगत चाहना छैन । म केन्द्रीय राजनीतिमै रमाउने भएकाले कास्की–१ बाटै प्रतिनिधिसभाका लागि चुनाव लड्छु ।’ तर, १० दिनको अन्तरमा उनले आफूलाई एमालेबाट भावी मुख्यमन्त्रीको उम्मेदवारका रूपमा उभ्याउँदै आइतबार प्रदेशसभा सदस्यका लागि कास्की निर्वाचन क्षेत्र १ (१) मा मनोनयन दर्ता गराए ।
एमाले उपमहासचिव एवं गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा (पीएस) गुरुङ प्रदेशमा दोहोरिन चाहन्थे । लमजुङको प्रदेश क्षेत्र ‘२’ बाट उनको नाम पार्टीको स्थानीय संयन्त्रले एकल सिफारिस गरेको थियो । तर, एमालेले उनलाई प्रतिनिधिसभाको उम्मेदवार बनायो । यता, अधिकारीको नाम कास्की–१ र १ (१) दुवैतर्फबाट सिफारिसमा परेको थियो ।
अधिकारीले त्यसलाई ‘कार्यकर्ताको चाहना’ भन्दै आएका थिए । पीएससँग भिड्ने आफ्नो कुनै चाहना नरहेको उनी बताउने गर्थे । तर, गण्डकीको मुख्यमन्त्री बन्ने उनको भित्री चाहना रहेको गाइँगुइँ आइतबारको उम्मेदवारी दर्ताले सत्य सावित गरेको छ । पीएसलाई पन्छाएर गण्डकी प्रदेशसभामा प्रवेश गर्ने बाटो तय गर्ने लक्ष्यमा उनी सफल भएका छन् ।
मनोनयन दर्तापछि अधिकारीले पार्टीको फैसलालाई सहर्ष स्विकारेर प्रदेशसभाको उम्मेदवारका रूपमा आफू उभिएको प्रतिक्रिया दिए । भने, ‘मेरो व्यक्तिगत रुचि कहिल्यै पनि प्राथमिकतामा परेन । अहिले पनि बाँकी जीवन मेरो रुचिका आधारमा लैजान चाहन्न । पार्टीले जे निर्णय गर्यो, त्यसलाई स्विकारेर यो ठाउँमा छु ।’ प्रदेशमा आफूजत्तिको वरिष्ठ नेता उम्मेदवार नबनेकाले स्वाभाविक रूपमा भावी मुख्यमन्त्रीको दाबेदार रहेको उनको जिकिर छ ।
पार्टीमा गुरुङ र अधिकारी दुवै अध्यक्ष केपी शर्मा ओलीनिकट हुन् । गण्डकीमा भने यी दुई नेताका आ–आफ्नै गुट छन् । गत स्थानीय निर्वाचनमा दुई पक्षबीचको मतभेद प्रस्टै देखिएको थियो । पोखरा महानगर प्रमुखका उम्मेदवार कृष्णबहादुर थापालाई गुरुङले सहयोग नगर्दा पराजय बेहोर्नुपरेको आरोप अधिकारी पक्षले लगाउँदै आएको छ । स्थानीय निर्वाचनमा टिकट वितरणमा चिसिएको सम्बन्ध अहिले आमनिर्वाचनसम्म आउँदा झनै चिसिएको बताइन्छ । उक्त आरोपको अधिकारी खण्डन गर्छन् । भन्छन्, ‘पीएस र मेरोबीचको मित्रतालाई संसारको कुनै तागतले खण्डित गर्न सक्दैन । उहाँ प्रतिनिधिसभामा उम्मेदवार हुनुहुन्छ, म प्रदेशसभाको सदस्यका रूपमा उम्मेदवार छु । हामीबीच कुनै प्रतिस्पर्धा छैन ।’
पाँचदलीय गठबन्धनका साझा उम्मेदवार माओवादी नेता देव गुरुङसँग चुनाव लड्न नपरे हुन्थ्यो भन्ने पीएसको व्यक्तिगत चाहना थियो । उनले असन्तुष्टिकै बीच आइतबार लमजुङबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराए । पार्टीको जिल्लास्थित सिफारिस समितिले प्रदेश क्षेत्र ‘२’ बाट उनको नाम एकल सिफारिस गर्दा प्रतिनिधिसभामा जमिन्द्रमान घलेलाई सिफारिस गरेको थियो । तर, जिल्लाको सिफारिस उल्ट्याउँदै ओलीले गुरुङलाई प्रतिनिधिसभा र घलेलाई लमजुङ प्रदेश क्षेत्र ‘१’ को उम्मेदवार बनाएका हुन् । मनोनयन दर्ता गर्नुअघिसम्म पनि टिकट हेरफेर गर्ने गुरुङको प्रयत्न सफल हुन सकेन । लमजुङ प्रदेश क्षेत्र ‘ख’ मा एमाले जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले टिकट पाएका छन् ।
यता, अधिकारी छैटौंपल्ट संसदीय चुनाव लड्दै छन् । उनी ०४८ को संसदीय निर्वाचनमा कास्की–१ मै कांग्रेसका तारानाथ रानाभाटसँग पराजित भएका थिए । ०५१ को मध्यावधि निर्वाचनमा भने उनले रानाभाटलाई नै हराएका थिए । ०५६ को आम निर्वाचनमा भने दुवै नेता पराजित हुन पुगे । ०६४ मा पनि अधिकारी पराजित भए, माओवादीका देव गुरुङसँग । ०७० मा उनले टिकटै पाएनन् । ०७४ मा कांग्रेसका यज्ञबहादुर थापालाई हराएर फेरि संसद् छिरेका थिए । उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री र संसद् विघटनपछि १३ दिन गृहमन्त्रीसमेत बने । रोचक के छ भने उनी प्रदेशसभामा जोसँग भिड्दै छन्, उनैसँग ०७४ को चुनावमा सँगसँगै थिए ।
अधिकारीका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार दीपक कोइराला हुन् । ०७४ मा एमाले र माओवादीसँगै हुँदा कोइराला प्रदेशसभा र अधिकारी प्रतिनिधिसभाका उम्मेदवार थिए । दुवै सँगसँगै चुनावी अभियानमा खटिए । दुवैले जित हासिल गरेका थिए । युवा नेता कोइराला गण्डकी प्रदेशको अर्थ तथा विकास समिति सभापति भएका थिए ।
अधिकारी पछिल्ला ५ वर्षमा आफूले गरेका कामका आधारमा जनताले मूल्यांकन गर्ने बताउँछन् । यो व्यवस्था जोगाउने निर्वाचन भएकाले जनताले आफ्नो विवेक पुर्याउने कोइरालाको तर्क छ । ‘यो निर्वाचन व्यवस्थाले जित्छ कि हार्छ भन्ने निर्वाचन हो,’ उनले भने, ‘व्यवस्था विघटन गराउन लाग्नुभएका साथीहरूले यो निर्वाचन जित्नु हुँदैन । हामी यो व्यवस्था जोगाउन जुन गठबन्धन बनाएका छौं, हामी त्यो गठबन्धनका तर्फबाट निर्वाचित हुनेमा ढुक्क छौं ।’
