प्रदेश १ मा मुख्यमन्त्रीका दावेदारको प्रतिस्पर्धा

आश्विन २४, २०७९

देवनारायण साह

मोरङ — प्रदेश १ मा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता भएसँगै को बन्ला अबको मुख्यमन्त्रीबारे चर्चा सुरु भएको छ । पहिलो कार्यकालमा यस प्रदेशले पाएका तीन जना मुख्यमन्त्रीमध्ये शेरधन राई र भीमप्रसाद आचार्य प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् भने मुख्यमन्त्री तथा नेकपा (एकिकृत समाजवादी) का सचिव राजेन्द्रकुमार राई भोजपुरको १ (१) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

 मुख्य राजनीतिक दलमा मुख्यमन्त्रीको दावेदारीमा प्रतिस्पर्धा देखिएको छ । यस प्रदेशमा कांग्रेसमा सबभन्दा बढी मुख्यमन्त्रीका दावेदार देखिएका छन् । 

कांग्रेसबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका प्रदेश १ का निवर्तमान संसदीय दलका नेता तथा पार्टीका केन्द्रीय सदस्य राजिव कोइराला, अर्का केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अमृत अर्याल, केन्द्रीय सदस्य तथा विराटनगर महानगरका पूर्व मेयर भीम पराजुली, पार्टीका प्रदेश सभापति उद्धव थापा मुख्यमन्त्रीका दावेदार छन् ।

यस्तै, कांग्रेसका उदयपुर जिल्ला सभापति, निवर्तमान संसदीय दलका उपनेता एवं सडक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की र गुरुराज घिमिरे मुख्यमन्त्रीका दावेदार हुन् । 

कोइराला सुनसरीको क्षेत्र २ (२), अर्याल मोरङ ५ (ख), पराजुली मोरङ ४ (२), थापा कांग्रेसको समानुपातिक सूचीमा १ नम्बरका उम्मेदवार, हिमाल कार्की उदयपुर १ (१), केदार मोरङ ६ (२) र घिमिरे मोरङ ४ (१) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

अर्याल र हिमाल पार्टी सभापति शेरबहादुर देउवा निकट, थापा र पराजुली कृष्णप्रसाद सिटौला निकट र कोइराला, केदार र घिमिरे शेखर कोइराला निकटका हुन । गठबन्धन दलमा प्रदेश सरकारको नेतृत्व आएपछि गठबन्धन दलको सबभन्दा ठूलो दल हुँदाहुँदै पनि पार्टी नेतृत्वका कारण कांग्रेसले सरकारको नेतृत्व नपाउँदा कोइराला मुख्यमन्त्री बन्न सकेनन् । 

यस्तै, प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकामध्ये एमालेमा पनि दुई जना मुख्यमन्त्रीका दावेदार देखिएका छन् । झापाको ५ (१) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका एमालेका केन्द्रीय सदस्य तथा निवर्तमान प्रदेश सांसद हिक्मत कार्की र एमालेका अर्का केन्द्रीय सदस्य तथा निवर्तमान प्रदेश सांसद जीवन घिमिरे मुख्यमन्त्रीका दावेदार छन् । कार्की एमाले अध्यक्ष केपी ओली निकट भएकाले मुख्यमन्त्रीको प्रमुख दावेदारको रुपमा देखिएका हुन् । 

यस्तै, माओवादी केन्द्रबाट पनि पाँचथरबाट प्रदेशसभा सदस्यमा दोहोर्‍याएका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पनि मुख्यमन्त्रीको दावेदारको रुपमा देखिएका छन् । 

देवनारायण

Link copied successfully