पाण्डेयको छायामा परेका गैरे अहिले उनैसँग प्रतिस्पर्धी

एमालेका युवा नेता ठाकुर गैरे पहिलोपटक संसदीय राजनीतिको मैदानमा उत्रिएका हुन् । एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेय छैटौं पटक उम्मेदवार बनेका छन् । 

आश्विन २४, २०७९

माधव अर्याल

पाल्पा — मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत पाल्पा क्षेत्र नम्बर २ मा कम्युनिस्ट नेताहरूबीच नै कडा टक्कर हुने भएको छ । नेकपा एमालेबाट युवा नेता तथा पोलिट ब्यूरो सदस्य ठाकुर गैरे र गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता तथा निवर्तमान सांसद सोमप्रसाद पाण्डेयले मनोनयन दर्ता गरेका छन् ।

गैरे संसदीय राजनीतिमा पहिलोपटक आउन लागेका हुन् भने भने पाण्डेय योसहित गरी छैटौं पटक उम्मेदवार बनेका हुन् । 

२०५१, २०५६, २०६४, २०७० मा पाण्डेय २०७४ अघिसम्मका तीनमध्ये २ क्षेत्रबाट उम्मेदवार भएका थिए । २०७४ मा भने दुई क्षेत्र बनेपछि क्षेत्र नम्बर २ बाट टिकट ल्याएका थिए । यसपटक पनि उनले सत्तागठबन्धनतर्फबाट टिकट ल्याएका हुन् । ०७४ अघि ३ वटा क्षेत्र भएका बेला गैरे भने पाण्डेयकै क्षेत्रका भएकाले संसदीय टिकट पाउन उनलाई मुस्किल परेको थियो । २०७० र २०७४ मा गैरे अन्तिममा आएर टिकट नपाउने नेतामा परेका थिए । 

पाँचपटक टिकट पाएका पाण्डेय २०६४ सालमा नेकपा माओवादी केन्द्रीय उम्मेदवार लीला सोमईसँग पराजित भएका थिए । उनले चारपटक जित हासिल गरेका छन् ।  यसपटक पनि उनी गठबन्धनबाट उम्मेदवार बनेका छन् । २०७४ अघि पाल्पाको क्षेत्र नम्बर ३ हुँदा २०४८ र २०७० मा पश्चिम भेगमा कांग्रेसले जितेको थियो । त्यसबाहेक २०५१ मा विष्णु पौडेल (हाल एमाले उपाध्यक्ष), २०५६ मा यादवबहादुर रायमाझी, २०६४ मा कुलप्रसाद नेपालले एमालेबाट चुनाव जितेका थिए । तीन क्षेत्र भएका बेला २०४८ र २०७० सालमा भने नेपाली कांग्रेसका हरिप्रसाद नेपालले चुनाव जितेका थिए । 

साविकको क्षेत्र नं. ३ मा कांग्रेस र एमालेबीच झिनो मतान्तरमा चुनाव जित/हार हुने क्षेत्र हो । संघीयतापछि भने जिल्लाको साविक क्षेत्र नं. २ का केही भागलाई १ र २ मा मिलाएर दुईवटा क्षेत्र बनेको छ ।  

क्षेत्र नं. २ मा कांग्रेसले गठबन्धनलाई छाडेपछि एमाले र एकीकृत समाजवादीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो । क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका पाण्डेयलाई यसपटक चुनाव जित्न भने त्यति सहज छैन । नेपाली कांग्रेसले क्षेत्र नं. २ बाट प्रदेशसभा २ (१) मा मात्र उम्मेदवारी दिएको छ । २ (२) मा माओवादी केन्द्रका उम्मेदवार छन् । तर‚ स्थानीय तहको निर्वाचनमा प्राप्त मतको आधार हेर्ने हो भने सत्ता गठबन्धनको केही मत अगाडि देखिन्छ । 

पाल्पा क्षेत्र नं. २ मा वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतका आधारमा भने एमाले अगाडि देखिएको छ । एमालेले यहाँ ३० हजार ५ सय ३६ मत पाएको थियो । नेपाली कांग्रेसले २९ हजार ३९ मत पाएको थियो । माओवादीले भने ४ हजार ३ सय १३ र एकीकृत समाजवादीले ४ सय ३३ मतमात्रै पाएको देखिन्छ । यो मत भने मुल्यांकनका आधार नरहने एकीकृत समाजवादीका जिल्ला नेताहरूको दाबी छ । ‘सबै वडाहरुमा हाम्रो उम्मेदवारी थिएन,’ एकीकृत समाजवादीका केन्द्रीय सदस्य यादवबहादुर रायमाझीले भने, ‘त्योबाहेक पनि पार्टी संगठन विस्तार र अन्य वडाहरूमा कांग्रेस र माओवादीलाई सघाएको मतको पनि हिसाब भएको छैन ।’

एमाले भने पुरानो नभई नयाँ अनुहारलाई उम्मेदवार बनाएकाले क्षेत्र २ जित्नेमा ढुक्क छ । एमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेले उम्मेदवार नयाँमात्र नभई राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाएको सफल युवा नेता भएकाले जनताले मत दिने बताए । गैरे एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष हुँदै पार्टीको केन्द्रीय सदस्य देखि पोलिट ब्यूरो सदस्य भइसकेका व्यक्ति हुन् ।   ‘संगठनको मतमात्र होइन अन्य मतसमेत आउनेमा ढुक्क छौं,’ उनले भने ।

स्थानीय तहमा कमजोर देखिएका एकीकृत समाजवादीका पाण्डेलाई निर्वाचन जित्न कांग्रेस र माओवादीको भरोसा छ । केही मत राष्ट्रिय जनमोर्चाको पनि नभएको होइन । एकीकृत समाजवादीका पाण्डे र एमालेबाट अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका गैरेबीच कडा टक्कर हुने आकलन मतदाताको छ ।

२०७४ मा प्रतिनिधिसभा क्षेत्र नं. २ बाट एमालेबाट उम्मेदवार बनेका पाण्डेले ३४ हजार ८ सय ९९ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका उम्मेदवार हरिप्रसाद नेपालले २४ हजार ५ सय ५४ मत पाएका थिए । राजनीतिक विश्लेषकहरूका अनुसार अनेरास्ववियुका पूर्वअध्यक्ष गैरे तीनपटक केन्द्रीय सदस्य निर्वाचित भइसकेका युवा नेता हुन् । उनी अहिले पोलिटब्यूरो सदस्य छन् ।  

हुन त गैरे विगतमा शीर्ष नेताहरुको रुचिमा नपरेका नेताका रुपमा चिनिन्थे । उनी बुटवलको आठौं महाधिवेशनमा झलनाथ खनाल र केपी शर्मा ओली कुनै पनि प्यानलमा परेका थिएनन् । तर प्यानल बाहिरबाटै केन्द्रीय सदस्य जिते । गैरेले राष्ट्रिय स्वाधीनताको आन्दोलनको अगुवाइ गर्दै आएका हुन् । विगतमा पाल्पाबाट क्षेत्र नं. २ मा टिकट दिनुपर्ने आवाज नउठेको पनि होइन । माधव नेपाल स्वयंको जोडबलमा सोमप्रसाद पाण्डेलाई टिकट दिइँदै आएको विश्लेषकहरू बताउँछन् । निवर्तमान सांसद पाण्डे नाताम माधव नेपालका सम्धी हुन् । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully