रामेछापमा प्रतिनिधिसभाको एक सिटका लागि ५ जना स्वतन्त्रसहित २२ जनाको उम्मेदवारी
रामेछाप — रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सत्ता गठबन्धनबाट आधिकारिक उम्मेदवार बनेका नेताहरूविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रबाट बेग्लाबेग्लै उम्मेदवारहरू खडा भएका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ कांग्रेस र माओवादी केन्द्रबाट स्वतन्त्र उम्मेदवारको रुपमा नेताहरूले मनोनयन दर्ता गराएका हुन् ।
सत्ता गठबन्धनबाट प्रतिनिधिसभामा नेपाली कांग्रेस र प्रदेश सभाका दुवै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरेका थिए ।
प्रतिनिधिसभा सदस्य पदमा कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) ले टिकट पाएका छन् । त्यसका विरुद्ध कांग्रेसका पूर्व जिल्ला सचिव चन्द्र राउतले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । राउत यसअघि जिल्लाबाट उम्मेदवारीको सिफारीसमा समेत परेका थिएनन् । उनी २०७४ को स्थानीय तहको निर्वाचनमा लिखु तामाकोशी गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवार सँग पराजित भएका थिए ।
कांग्रेसकै नेता तथा नेपाल विद्यार्थी संघका पूर्वजिल्ला अध्यक्ष केदार विक्रम खड्काले नेपाली कांग्रेस बीपीबाट उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी कांग्रेसका पूर्वजिल्ला सहसचिव सुवास घिसिङले समेत प्रतिनिधिसभामा नै उम्मेदवारी दर्ता गराएका छन् । उनले नेश्नलिस्ट पिपल्स पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
गठबन्धनबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसलाई समर्थन गरेको माओवादी केन्द्रका नेता रामकुमार लामाले समेत प्रतिनिधिसभा सदस्य पदमै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
प्रदेशसभाका दुवै पदमा आफ्ना उम्मेदवारका विरुद्ध माओवादी केन्द्रका नेताहरूले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा (क) मा सत्ता गठबन्धनबाट उम्मेदवार भएका माओवादी केन्द्रका नेता तारानारायण श्रेष्ठका विरुद्ध माओवादीकै नेता रवीन्द्र पौडेल (गौरव) ले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी माओवादी केन्द्रबाट प्रदेशसभा (ख) मा सत्ता गठबन्धनबाट आधिकारीक उम्मेदवार बनेका युवराज चौलागाईं विरुद्ध माओवादीका नेता डिल्लीमान तामाङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनी संविधानसभा २०६४ मा रामेछाप २ बाट निर्वाचित भएका थिए ।
प्रदेशसभामा माओवादी केन्द्रलाई समर्थन गरेको भए पनि नेपाली कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट प्रदेशसभा (क) मा जमुना कार्की खड्काले उम्मेदवारी दर्ता गराएकी छन् । उनी कांग्रेसकी पूर्व महासमिति सदस्य हुन् ।
यसैबीच, सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका केही नेताहरूले पनि रामेछापमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा एकीकृत समाजवादीका नेताहरूले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनले अवमूल्यन गरी हेपाहा प्रवृत्ति देखाएकाले उम्मेदवारी दर्ता गराएको र उक्त उम्मेदवारी फिर्ता नहुने एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।
सत्ता गठबन्धन दलका नेताहरूले नै स्वतन्त्र उम्मेदवारी दर्ता गराएपछि उनीहरूसँग उम्मेदवारी फिर्ताको विषयमा छलफल र परामर्श भइरहेको जिल्लाका शीर्ष नेताहरूले बताएका छन् । रामेछापमा प्रतिनिधिसभाको १ सिटका लागि ५ स्वतन्त्रसहित २२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
