तिलोत्तमा — रुपन्देही-५ मा नेकपा एमालेको तर्फबाट बासुदेव घिमिरेले आधिकारिकता पाएका छन् । आइतबार रुपन्देही-५ मा एउटै पार्टीका दुई जनाको उम्मेदवारी दर्ता भएको थियो । यही क्षेत्रबाट प्रतिनिधिसभाका लागि एमालेको तर्फबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए ।
घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका हुन् । एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिका २०७८ मा प्रस्ट रुपमा उल्लेख गरिएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले जानकारी दिए ।
निर्देशिकामा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०७८ को दफा १९ को (९) बमोजिम दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढी व्यक्तिका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एकभन्दा बढी उम्मेदवारको मनोयनपत्र पेस भएमा पहिले मनोनयनपत्र दर्ता गर्ने व्यक्तिको मनोनयनपत्र कायम हुने उल्लेख छ ।
निर्वाचन अधिकृत शर्माले निर्वाचन ऐन तथा निर्देशिकाअनुसार पहिलोपटक दर्ता भएका बासुदेव घिमिरेलाई आधिकारिता प्रदान गरिएको बताए ।
