वडामा समेत केन्द्रबाटै गठबन्धन गरिएपछि कांग्रेस कार्यकर्ता आक्रोशित
पोखरा — कास्कीका कांग्रेस कार्यकर्ताले गठबन्धनको विरोधमा बिहीबार पोखराको तेर्सापट्टीस्थित गण्डकी प्रदेश कार्यालय तोडफोड गरेका छन् । उनीहरूले सभापतिको कुर्ची, टेबललगायत सामग्री र झ्यालका सिसा तोडफोड गरी क्षति पुर्याएका छन् ।
बिहीबार दिउँसो पोखरामा सत्तारूढ गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक गर्ने क्रममा पनि कांग्रेस कार्यकर्ताले अवरोध गरेका थिए । वडा तहमा भागबन्डा नमिलेको भन्दै उनीहरूले नाराबाजीसहित अवरोध गरेका हुन् ।
पोखरा महानगरको प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य उम्मेदवार भएपछि कांग्रेस कार्यकर्ता रुष्ट बन्दै आएका छन् । तालमेलमा उपप्रमुख कांग्रेसले पाउने र वडामा आफूखुसी उम्मेदवार उठाउने निर्णयले उनीहरू मत्थर भएका थिए । पार्टी केन्द्रबाटै गठबन्धन मिलेर जाने निर्देशन भएपछि पुनः गठबन्धनको बैठकले केही वडा माओवादी र समाजवादीलाई दिने सहमति गरेको थियो । उक्त विषयमा कांग्रेस कार्यकर्ता असन्तुष्ट बनेका हुन् । प्रहरीले तोडफोडमा संलग्न २३ जनालाई पक्राउ गरेको छ ।
गठबन्धनको प्राथमिकता पूर्वाधार र पर्यटन
पूर्वाधार र पर्यटनलाई प्राथमिकतामा राखेर सत्तापक्षीय गठबन्धनले बिहीबार पोखरा महानगरको संयुक्त घोषणापत्र सार्वजनिक गरेको छ । प्रमुखका प्रत्यासी धनराज आचार्य र उपप्रमुखकी प्रत्यासी कोपिला रानाभाटले कार्ययोजनासहितको घोषणापत्र ल्याएका हुन् । घोषणापत्रमा विद्युतीय रेलदेखि सुरुङ मार्गसम्मको परिकल्पना गरिएको छ । घोषणापत्र सार्वजनिक गर्दै आचार्यले पोखरा रिङरोड, मध्य पहाडी र सिद्धार्थ राजमार्ग जोड्ने बाइपास रोड, फेवाताललाई जोगाउन वाइपास ढल, ल्यान्डफिल साइट व्यवस्थापन, बसपार्क निर्माण, पुरानो पोखराको संरक्षण, सेती नदीको सौन्दर्यीकरण, मेट्रोबाट फेवा–बेगनास जोड्ने योजना सुनाए । ‘पाँच वर्षभित्रै यी काम सम्पन्न हुन्छन् भन्ने होइन,’ उनले भने, ‘स्रोत परिचानलन गर्ने र लगानी जुटाएर आधार तयार हुन्छ ।’
ग्रामीण इलाकासँग जोडेर ५ वटा ‘स्याटलाइट टाउन’, व्यस्त सडक तथा चोकमा आकाशे पुल तथा अन्डरपास/बाइपास निर्माण, अन्तर्राष्ट्रिय सभाहल निर्माण, स्वचालित ट्राफिक सिग्नल, ताललाई जोड्ने साइकल लेनलाई प्राथमिकतामा राखिएको छ । लेखनाथको लामेआहालमा निर्माणाधीन क्षेत्रीय बसपार्कदेखि लेकसाइडसम्म सडकको दायाँबायाँ विद्युतीय रेल सञ्चालनको परिकल्पना घोषणापत्रमा उल्लेख छ । सार्वजनिक–निजी साझेदारी अवधारणामा रहेर उक्त परियोजना सञ्चालन गर्ने बताइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट मैदान, अन्डरग्राउन्ड पार्किङ, अन्तर्राष्ट्रिय विमानस्थलबाट कोत्रेदेखि मुस्ताङचोकसम्म फास्ट ट्र्याक, नमुना सुरुङ मार्गलगायत योजना घोषणापत्रमा समेटिएका छन् ।
कांग्रेसबाट उपप्रमुखकी उम्मेदवार रानाभाटले न्यायिक समितिमा आएका मुद्दा अदालतसम्म पुर्याउन नपर्ने वातावरण बनाउने बताइन् । एक महिनाभित्र हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने, ३ महिना भित्र ज्येष्ठ नागरिक भत्ता घरदैलोमा उपलब्ध गराउने, महानगरको केन्द्रदेखि गाउँसम्म साझा बस सेवा सञ्चालन गर्ने, एकद्वार नीति लागू गर्ने र अनुसन्धानमा आधारित विकास परियोजनाको प्राथमिकता निर्धारण गर्ने कार्ययोजनामा छ । छ महिनाभित्रमा अति विपन्नलाई निःशुल्क स्वास्थ्य बिमा र ३ हजार रोजगारी थप गर्ने योजना घोषणापत्रमा छ ।
