के भन्छन् प्रमुखका उम्मेदवार ?

काठमाडौँ — मोरङमा एक महानगरसहित १७ पालिका छन्, नगरपालिका र गाउँपालिकाको संख्या ८/८ छ । यी सबैको केन्द्र विराटनगर महानगरको प्रमुखमा विद्यार्थी राजनीतिबाट उदाएका सागर थापालाई एमालेले उम्मेदवार बनाएको छ भने कांग्रेसले नागेश कोइरालालाई ।

के भन्छन् प्रमुखका उम्मेदवार ?

महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापति हुँदै पार्टीको नगर कमिटी अध्यक्ष भएका थापा र तरुण दलको जिल्ला अध्यक्ष हुँदै पार्टी उपसभापति भएका कोइरालाबीच नै मुख्य प्रतिस्पर्धा देखिन्छ । यी दुईबीच मुख्य प्रतिस्पर्धा देखिन्छ ।प्रस्तुत छ विराटनगर महानगरपालिकाका मेयर उम्मेदवार कोइराला र थापासँग गरिएको कुराकानी:

महानगरलाई बनाउने एजेन्डा के छन् ?

कोइराला : सामाजिक, राजनीतिक, औद्योगिक र सुरक्षाका दृष्टिकोणले पछि पर्दै गएको विराटनगरको उत्थानका लागि मेरो उम्मेदवारी हो । उद्योगलाई आकर्षित गर्न कर घटाउने र करको दायरा बढाउने पहिलो लक्ष्य छ । १० रुपैयाँको करलाई तीन सय बनाइएको छ, त्यसलाई कम्तीमा ३० रुपैयाँमा झार्ने र दायरा बढाउने योजना मैले अघि सारेको छु ।

थापा : समृद्ध विराटनगर बनाउन भौतिक पूर्वाधार निर्माणमा प्राथमिकता रहनेछ । केन्द्रसँगको समन्वयमा चक्रपथ, सुनसरी–मोरङ सिँचाइ, नहर बाइपास, ट्राफिक समस्या हल, ब्युटिफिकेसन्स र स्पोर्ट्स जोन बनाउने योजना छ ।

निर्वाचित भएमा प्राथमिकताका योजनामा के पर्छन् ?

कोइराला : शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइ मुख्य प्राथमिकता छन् । दुई–तीन घण्टा पानी पर्दा विराटनगर जलमग्न हुन्छ । पूर्वको सिंघिया र पश्चिमको केसलिया खोलाले विराटनगरमा सधैं ताण्डव मच्चाउँछ । यी खोला नियन्त्रणका लागि तटबन्ध गर्ने र करिडोरमाथि सडक बनाउने उपाय हुन्छ । त्यसका लागि दातृ निकाय, संघीय सरकार र स्थानीय निकायको पहलमा योजना अगाडि बढाउने लक्ष्य छ । महानगरको लगानीमा अस्पताल चलाउने, ज्येष्ठ नागरिक, गरिब, असहायलाई नि:शुल्क उपचार गर्ने, सामुदायिक विद्यालयमा अनिवार्य अंग्रेजी माध्यममा पढाइ सुरु गराउने मेरो लक्ष्य छ ।

थापा : सिंघिया खोला र केसलिया खोला नियन्त्रणका लागि स्थानीय स्रोतको १० वर्षको बजेटले पनि पुग्दैन । म मेयर भएँ भने काम सुरु गर्छु तर पाँचै वर्षमा सकिन्न । यसमा केन्द्रीय, प्रदेश सरकार र स्थानीय निकायको लगानी चाहिन्छ । मेघा हल, वडा १९ लाई खेलकुद हब बनाउने, साख गुमाएको औद्योगिक सहरको विकासका लागि प्रदर्शनीस्थल स्थापनादेखि उद्योग व्यवसायमा आकर्षण बढाउने काम गर्नेछु ।

औद्योगिक नगरको पहिचान गुम्न नदिने योजना के छ ?

कोइराला : विराटनगर औद्योगिक क्षेत्र एक नम्बरमा थियो, अहिले छैटौं स्थानमा छ । पुराना उद्योगीलाई सहुलियत दिने, नयाँलाई आकर्षित गर्ने, रोजगारी सिर्जना गरेर पुरानै साखमा विराटनगरलाई पुर्‍याउने योजना छ । विगतमा २० वर्षसम्म स्थानीय निकायको रिक्तता, स्थानीय बासिन्दा सचेत नभएका कारण विराटनगर पछि परेको हो । यो ठाउँबाट विराटनगरलाई अघि बढाउन म लाग्नेछु ।

थापा : उद्योगका लागि स्थानीय तहमा कच्चा पदार्थको अभाव छ । जुट उद्योगकै लागि बाहिरबाट कच्चा पदार्थ ल्याउनुपर्छ । उद्योग व्यवसायी पलायन हुनुका पछि राज्यको नीतिगत समस्या छ । केन्द्रसँग समन्वय गरेर त्यसलाई हटाउनुपर्छ । स्थानीय सरकारले उद्योग व्यवसायलाई संरक्षण र वातावरण दिनुपर्छ । निजी क्षेत्रमैत्री नीति बनाएर औद्योगिक क्षेत्रलाई आकर्षित गर्ने मेरो योजना हो ।

प्रकाशित : वैशाख १६, २०७९ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?