'गठबन्धनको निर्णय विपरीत उम्मेदवारी दर्ता गरे पछि फिर्ता हुन्छ'

वैशाख १२, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता गठबन्धनले देशभरका स्थानीय तहमा पाँच दलीय गठबन्धनलाई एक ढिक्का राख्न अन्तिम समयसम्म कसरत गर्ने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले देशभरका स्थानीय तहमा सकेसम्म सहमति गरेर गठबन्धनका तर्फबाट उम्मेदवारी दिने निर्णय गरेको छ ।

गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको विषयमा केन्द्रबाटै तालमेलको निर्णय गरेपनि नगरपालिका र गाउँपालिकाको हकमा भने देशभरि धेरै ठाउँमा गठबन्धन हुन नसकेको नेताहरुको भनाइ छ । 

नेताहरूले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आव्हान गरेका छन् । बैठकले देशभर उम्मेदवारको मनोनयन दर्ता गर्दा गठबन्धनको निर्णयअनुसार गर्न सबै दलका आ–आफ्ना संयन्त्रमार्फत् निर्देशन दिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘बैठकमा पाँच दलको भावना र मर्म अनुसार अगाडि बढ्ने र कतै आन्तरिक केही असमझदारीहरु छन् भने तिनीहरुलाई समझदारीमा परिणत गर्ने निर्णय भएको छ,’ मन्त्री कार्कीले भने, ‘जनमतलाई ध्यानमा राखेर आफ्ना गतिविधिहरुलाई अगाडि बढाएर पाँच दलको जुन निर्णय छ, त्यही निर्णय अनुसार सबैलाई मनोनयन गर्नका निमित्त निर्देशन दिने कुरा भएको छ । केही असमझदारीहरु छन्, सिट थोरै छ । योगदान गरेका धेरै साथीहरु हुनुहुन्छ । स्वाभाविक रुपले उहाँहरुको आकांक्षा हुनुलाई अन्यथा ठहर्‍याउन सकिन्नँ । तर पार्टीको जुन मर्यादा छ, अनुशासन छ । र अहिलेको जुन आवश्यकता छ, त्यसलाई हृदयंगम गरेर पार्टीले जुन निर्णय गर्छ, त्यो निर्णयलाई पालना गरेर अगाडि बढ्नुको विकल्प छैन ।’

मन्त्री कार्कीले कसैले गठबन्धनको निर्णय विपरीत उम्मेदवारी दर्ता गराएपनि त्यस्ता असमझदारीहरूलाई सम्बोधन गरेर सहमतिमा ल्याइने बताए । ‘केही छुटफुट उम्मेदवारीहरु दर्ता भएपनि तिनीहरुलाई फेरी सहमति गरेर पाँच दलको एउटै उम्मेदवारहरु देशभरि हुनेछन्, कसैले गठबन्धनको निर्णय विपरीत दर्ता गर्‍यो भने पनि त्यो पछि फिर्ता गराइन्छ,’ उनले भने । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully