एक्लै लड्ने कि तालमेल गर्ने ? निर्णय गर्न अब ढिलो नगर्नुहोस् : महामन्त्री थापा

वैशाख ४, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहको चुनावमा एक्लै लड्ने कि गठबन्धन दलहरूसँग तालमेल गर्ने भनेर निर्णयमा पुग्न अब ढिला नगर्न आग्रह गरेका छन् । उनले पार्टीको केन्द्रीय समितिले स्थानीय अवस्था र आवश्यकताअनुसार चुनावी तालमेल गर्न सक्ने भन्ने निर्णय गरेको स्मरण गराउँदै माथिबाट निर्णय हुन्छ भनेर अलमलमा परेर नबस्न समेत आग्रह गरे ।

आइतबार बुढानिलकण्ठ नगरपालिका–२ मा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले तालमेल गर्ने सहमति नजुटेका स्थानीय तहमा केन्द्रले हस्तक्षेप गर्नु विधानविपरीत हुने बताए ।

‘गठबन्धनले केन्द्रबाट गरेको निर्णय स्थानीय तहको मर्म विपरीत भयो, त्यो विधानले दिएको अधिकारविपरीत समेत हो,’ उनले भने, ‘त्यसैले एक दुई दिनभित्रमा जहाँ तालमेल हुने सम्भावना हुन्छ, त्यहाँ तालमेल हुन्छ । जहाँ स्थानीय सहमति हुँदैन, त्यस्ता ठाउँमा तालमेल हुँदैन, कांग्रेसले आफ्नै उम्मेदवार तय गरेर अघि बढ्नुपर्छ । मैले हिजोको पार्टी बैठकमा पनि त्यही कुरा राखेको छु ।’ 

 उनले स्थानीय तहमै उम्मेदवार चयन गर्नुको सट्टा माथिबाट तय हुन्छ भनेर आश गर्नु स्थानीय चुनावको मर्म विपरीत हुने बताए ।

‘यो स्थानीय चुनाव हो । स्थानीय नेता कार्यकर्ताको भावना र अवस्थाअनुसारै गठबन्धन गर्नुपर्छ भनेर नै केन्द्रले अवस्था हेरेर तालमेल गर्न सक्ने भन्ने निर्णय गरेको हो,’ उनले भने, ‘त्यसैले एक्लै गर्ने कि तालमेल गर्ने तपाईंहरूको विचार हो । त्यो तपाईंहरूको अधिकार क्षेत्र हो । तर अब ढिलो नगर्नुहोस् । वडाले वडामै टुंग्याउनुहोस्, पालिकाले पालिकामै । तपाईंहरूले टुंग्याउन नसके माथि आउँछ, माथि त झन् समस्या हुन्छ । बरु २४ घण्टा बस्नुस्, ४८ घण्टासम्म छलफल गर्नु परे पनि गर्नुहोस्, तर सहमतिमै उम्मेदवार चयन गर्नुहोस्, त्यसले हामीलाई जित नजिक पुर्‍याउँछ ।’ 

कार्यक्रम भएको वडामा अर्को वडाका उम्मेदवार देखेपछि महामन्त्री थापाले समय खेर नफाल्न समेत स्मरण गराए । ‘चुनाव आउन अब २०/२२ मात्रै बाँकी छ । यस्तो बेला तपाईंहरू अर्को वडामा गएर अलमलिने होइन, आफ्नै मतदातासँग भेटेर भलाकुसारी गर्ने हो, समय खेर नफाल्नुस्,’ उनले भने । 

महामन्त्री थापाले केन्द्रले उम्मेदवार चयन गर्ने महानगरपालिका र उपमहानगरपालिकाको हकमा समेत पार्टीका स्थानीय कार्यसमिति र प्रदेश कार्यसमितिहरुको धारणा लिएर मात्रै उम्मेदवारीको टुंगो लगाइनुपर्ने बताए । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully