गठबन्धन दिनहुँ छलफलमा

१६ स्थानीय तहमा गठबन्धनभित्रै मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति 

वैशाख ४, २०७९

प्रदेश ब्युरो

लुम्बिनी — गाउँगाउँमा स्थानीय तह निर्वाचनको अभियान तयारी तीव्र पार्नुपर्नेमा सत्तारुढ गठबन्धनमा आबद्ध दल उम्मेदवार तय गर्नेबारे छलफल मात्रैमा केन्द्रित छन् । तालमेल र भागबण्डा मिलाउन नसक्दा चरणबद्ध छलफल मात्रै गर्दै आएका हुन् । जिल्लाका पालिका र वडा अनुसार उम्मेदवारीमा आफ्नै दाबी भएकाले निष्कर्षमा पुग्न समय लागेको दलका प्रतिनिधिले बताए ।

गठबन्धनको तुलनामा एमालेले पालिकापिच्छे उम्मेदवारको टुंगो लगाएर प्रचारप्रसार थालिसकेको छ । गठबन्धनमा आबद्ध नरहेका अन्य दलले गाउँगाउँमा उम्मेदवार छनोट गरेर प्रचार सुरु गरिसकेका छन् ।

रूपन्देहीमा गठबन्धनको छलफल सहमति नजिक पुगेको नेताहरूको दाबी छ । १६ स्थानीय तहमध्ये दक्षिणी क्षेत्रका ६ पालिकामा छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने सहमति भएको छ । बाँकी १० पालिकामध्ये माओवादीले आफूले जितेको ओमसतियासहित सैनामैना र सिद्धार्थनगर नगरपालिका एवं कञ्चन गाउँपालिकामा दाबी गरेको छ । सैनामैनामा कांग्रेस र कञ्चनमा नेकपा एकीकृत समाजवादीको पनि दाबी छ । त्यस्तै बुटवल उपमहानगरपालिकामा कांग्रेस र समाजवादीको दाबी छ । समाजवादीले सिद्धार्थनगर नगरपालिकामा उपप्रमुखमा दाबी गरिरहेको छ । 

लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेवी गाउँपालिकामा जसपाले दाबी गरिरहेको छ । लुम्बिनी स्वतन्त्र उम्मेदवारले र मायादेवी कांग्रेसले जितेका स्थानीय तह हुन् । कांग्रेसले जितेको देवदहसहित दोस्रो भएको बुटवल, सैनामैना, तिलोत्तमा, सिद्धार्थनगर नगरपालिकामा पनि कांग्रेसको दाबी छ । कांग्रेस सभापति रामकृष्ण खाँडले १० वटै स्थानीय तहका प्रमुखमा कांग्रेसले दाबी गरिरहेको भए पनि माओवादी र एकीकृत समाजवादीलाई पनि मिलाएर सहमति गर्ने प्रयास भइरहेको बताए । ‘हामी चाँडै टुंग्याउने तयारीमा छौं,’ उनले भने, ‘दक्षिणी क्षेत्रका ६ पालिकामा गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भइसकेको छ ।’

पाल्पामा पाँच दलीय गठबन्धनबीच शनिबारसम्म तालमेलको कुरा मिलेको छैन । चुनावी तालमेलका लागि कांग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा संयन्त्र निर्माण गरिएको छ । संयोजक श्रेष्ठका अनुसार तीनपटक बसेको बैठकमा पहिला आफ्नै दलभित्र छलफल गरेपछि पाँच दलबीच गर्नु पर्ने भएकाले केही समय लागेको हो । ‘हामी छलफलमै छौं,’ उनले भने, ‘पहिला आन्तरिक टुंगो लगाउने र त्यसपछि पाँच दलबीच छलफल गर्ने छौं ।’ सकारात्मक ढंगबाट छलफल अघि बढेकाले छिट्टै निकास निस्कने उनले दाबी गरे । तर, गठबन्धनकै स्रोतका अनुसार भने १० स्थानीय तहमध्ये तिनाउ गाउँपालिकामा पुगेर ‘हलो’ अड्किएको छ । तिनाउमा माओवादी र कांग्रेस दुवै दलले अध्यक्षमा दाबी गरेका छन् । जसका कारण कुरा अघि बढ्न नसकेको हो । 

कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने गरी गठबन्धन गरेका हुन् । संयन्त्रको बैठकले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । गठबन्धनको संयन्त्रको संयोजक कांग्रेसका श्रेष्ठ, माओवादी केन्द्रका संयोजक नेत्रप्रसाद पाण्डे, एकीकृत समाजवादीका अध्यक्ष खिमानन्द पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी र जनता समाजवादीका मेयरमान राना छन् । राष्ट्रिय जनमोर्चाका विशाल दर्लामीले गठबन्धन दलबीच आवश्यक छलफल, परामर्श गरी स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउने बताए । गठबन्धनमा सहभागी दलबाट तीन/तीन जना सहभागी हुने गरी कार्यदल गठन गरेर अघि बढेका छन् । दर्लामीका अनुसार गाउँपालिका र नगरपालिकाको टुंगो लाग्ने बित्तिकै वडा तहको छलफल हुनेछ । 

बाँकेमा सत्ता साझेदार दलले वडादेखि पालिकासम्मका उम्मेदवार टुंग्याउन सकेका छैनन् । दलबीच भागबन्डा नमिल्दा उम्मेदवार टुंग्याउन सकस भएको हो । जिल्लाका ८ पालिकामध्ये कुन पालिका कुन दलले लिने भन्ने विषयमा अहिलेसम्म सत्ता गठबन्धन दलहरू सहमतिमा आउन सकेका छैनन् । कांग्रेसले राप्तीसोनारी, डुडुवा, कोहलपुर र नेपालगन्जमा दाबी गरेको छ । तालमेलका विषयमा कांग्रेसमा एकमत छैन । यसका लागि आन्तरिक छलफल भइरहेको कांग्रेस सभापति नारायणप्रसाद गौडेलले बताए । २०७४ सालको निर्वाचनमा कोहलपुर नगरपालिकामा कांग्रेस ८३ मतले प्रमुखमा पराजित भएको थियो । उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी भएका थिए । माओवादी केन्द्रले नेपालगन्ज उपमहानगरपालिका र कोहलपुरमध्ये एक, खजुरा र राप्तीसोनारीमा आफ्नो दाबी गरेको छ । समाजवादीले एमालेले जितेका सबै स्थानीय तहमा दाबी गरेको छ । ‘बाँकेमा तीन चरणमा छलफल भइसकेको छ,’ एकीकृत समाजवादीका अध्यक्ष अशोक कोइरालाले भने, ‘केन्द्रीय निर्णय अनुसारै तालमेलका लागि छलफलमा छौं ।’ 

बर्दियामा नियमित छलफल र भेला चलिरहेका छन् । आफ्नो दलको पकड बलियो देखाउन रस्साकसी छ । यसअघि दुई पटक भएको छलफल बिनानिष्कर्ष टुंगियो । ‘सामान्य छलफल भइसकेको छ,’ माओवादी केन्द्रका नेता कोलराज पुरीले भने, ‘अब अन्तिम चरणको बैठकले निर्णय गर्नेछ ।’ कांग्रेसका जिल्ला सभापति अरुणप्रकाश सिंह राठौरले केही दिनभित्र सबै असहमति टुंगो लगाएर अघि बढ्ने बताए ।  

रोल्पामा गठबन्धन हुने भएपछि उम्मेदवार छनोट प्रक्रिया प्रभावित भएको छ । जिल्लामा माओवादी केन्द्रले सहयात्री दलबीच समन्वय र निरन्तर सम्पर्क गर्दै आएको छ । गठबन्धनका सन्दर्भमा जिल्ला तहमा छलफल भइरहेकाले कार्यकर्तासमक्ष जानकारी पुग्न सकेको छैन । माओवादी केन्द्रका जिल्ला संयोजक सुरेन्द्र घर्तीमगरको संयोजकत्वमा कांग्रेस, एकीकृत समाजवादी र जनमोर्चाका प्रतिनिधि रहेको गठबन्धन कार्यदल निर्माण गरिएको छ । गत चैत २० मा गठन गरिएको उक्त संयन्त्रले अझैसम्म ठोस मोडेल तयार पार्न सकेको छैन । अहिलेसम्म चारपटक संयुक्त बैठक बसिसकेको छ । तर, बैठक अलमलमै टुंगिएको छ । गठबन्धनका संयोजक घर्तीमगरले गठबन्धनप्रति विश्वास दिलाउन र मुख्य निर्णयमा पुग्न निरन्तर लागिपरेको बताए । ‘बैठक बसेर विविध विषयमा छलफल गर्दै आएका छौं । कसको कति मतभार छ भन्ने दृष्टिकोणबाट छलफल हुने गरेको छ । दुई चार दिनमा टुंगोमा पुग्न सकिएला ।’ गठबन्धन हुने विषयमा छलफल चलिरहेका बेला कांग्रेस रोल्पाले विज्ञप्तिमार्फत सहभागिताको नयाँ सर्त अघि सारेपछि थप अन्योल उत्पन्न भएको हो ।  

लुम्बिनी प्रदेशका रोल्पा, पाल्पा, अर्घाखाँचीमा गठबन्धनबीच बढी समस्या छ । गुल्मीका दुई पालिकाका कारण मात्रै सहमति रोकिएको छ । प्रदेशमै पहिलो गठबन्धनको घोषणा गरेको अर्घाखाँचीमा शनिबारसम्म गठबन्धनबीचको अवस्था शून्य छ । पाल्पामा पनि दुई पालिकाका कारण रोकिएको छ । नेकपा माओवादीका लुम्बिनी अध्यक्ष सुदर्शन बरालले विभिन्न कोणबाट छलफल निरन्तर जारी रहे पनि शनिबारसम्मको अवस्था शून्यजस्तै रहेको बताए । ‘घनिभूत रूपले छलफल जारी छ,’ उनले भने, ‘सैद्धान्तिकबाट छलफल व्यावहारिकमा प्रवेश भएको छ, अब टुंगो लाग्ला ।’ धेरै जिल्लामा टुंगिने अवस्थामा पुगेको र आइतबारसम्म सबै टुंगो लाग्ने उनले बताए । 

१६ स्थानीय तहमा मैत्रीपूर्ण प्रतिस्पर्धा  
लुम्बिनी प्रदेशमा तराईका सीमा क्षेत्रका कम्तीमा १६ स्थानीय तहमा गठबन्धनभित्रै मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ । ती पालिकामा एमाले चौथो शक्तिका रूपमा रहेकाले गठबन्धनबीचकै दलमा आन्तरिक रूपमा प्रतिस्पर्धा गर्ने सहमति भएको हो । 

रूपन्देहीका लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, मर्चवारी, सम्मरीमाई, कोटहीमाई र मायादेवी गाउँपालिकामा कांग्रेस, जनता समाजवादी र माओवादीबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ । कपिलवस्तु, दाङ, बाँके, बर्दियाका दक्षिणी क्षेत्र र एमालेको प्रभाव नभएका थप १० पालिकामा पनि तीन दलबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति गठबन्धनबीच भएको कांग्रेस प्रदेश सभापति अमरसिंह पुनले बताए । 

प्रदेशकै बढी विवादित बनेको रोल्पामा त्यही खालको सहमति हुने सम्भावना छ । ‘रोल्पामा अलि विशेष खालको परिस्थिति छ,’ कांग्रेस प्रदेश सभापति पुनले भने, ‘तर, हामीले छिट्टै मिलाएर त्यहीबाटै गठबन्धनमा एकताको सन्देश दिन खोजिरहेका छौं, छिट्टै टुंगो लाग्छ ।’ उनले २०७४ सालको मतभारलाई नै केन्द्र बनाएर गठबन्धन दलबीचमा छलफल चलिरहेको बताए । 

घनश्याम गौतम (रूपन्देही), माधव अर्याल (पाल्पा), रूपा गहतराज (नेपालगन्ज), कमल पन्थी (बर्दिया) र काशीराम डाँगी (रोल्पा)

स्थानीय तह निर्वाचन २०७९

प्रदेश

Link copied successfully