एमसीसी पास भए मुलुक गम्भीर संकटमा : नेता गजुरेल

माघ २८, २०७८

राजकुमार कार्की

सिन्धुली — नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य सीपी गजुरेलले एमसीसी पास भए मुलुक गम्भीर संकटमा फस्ने चेतावनी दिएका छन् । एमसीसीलाई संसद्‌मा टेबल गरेपछि आउने परिणाम सरकारले थेग्न नसक्ने भन्दै नेता गजुरेलको भनाइ थियो । 

सिन्धुलीमा शुक्रबार आयोजित पुनर्मिलन कार्यक्रममा बोल्दै नेता गजुरेलले एमसीसी पास भए संसदीय व्यवस्थाविरुद्ध जनता उर्लिने पनि चेतावनी दिए । यो व्यवस्थाका विरुद्धमा जनता उत्रिए संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था मान्नेहरुलाई घाटा हुने भएकाले एमसीसी खारेज गर्न उनको सुझाव थियो ।

'एमसीसी बहुमतका नाममा पास भएमा हुने आन्दोलनलाई सरकारले थेग्न नसक्ने भएकाले गलत तत्वले फाइदा लिन खोज्दा प्रतिगमनको खतरा हुन्छ', नेता गजुरेलले भने, ‘एमसीसीलाई संसद्‌को टेबलमा नलगियोस, कार्यसूचीमा नराखियोस् ।’ 

माओवादी केन्द्रका नेतासँग भएको कुराकानीको प्रसंग कोट्याउँदै नेता गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवाले तीन झमेट एमसीसी टेबल खोजेकोमा गठबन्धनले नटेरेकाले रोकिएको बताए । उनले भने, ‘चौथो पटक गठबन्धन जेसुकै होस् भनेर प्रधानमन्त्री एमसीसी पास गराउन लागेको सुनिएको छ । त्यसो हुँदा देश क्रिडास्थल, रणभूमि हुन्छ । सिरिया र अफगानिस्तान जस्तो हुन्छ ।’

एमसीसी

राजकुमार कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully