केन्द्रीय कार्यसम्पादन समितिमा एक थरीको सम्झौता यथाशीघ्र अनुमोदन गर्नुपर्ने धारणा, अर्का थरीको भने जनस्तरमा पुगेका भ्रम निवारण गरेर मात्र अघि बढ्नुपर्नेमा जोड
काठमाडौँ — कांग्रेसको बिहीबार सुरु भएको कार्यसम्पादन समिति बैठकमा अमेरिकी अनुदानसम्बन्धी एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्नुपर्ने पक्षमा साझा मत देखिएको छ । अनुमोदन तत्काल गर्ने कि थप छलफल गरेर अघि बढाउने भन्ने विषयमा भने फरक–फरक धारणा आएका छन् ।
पदाधिकारी बैठकले तय गरेका ९ वटा प्रस्तावमा एमसीसी सम्झौता नसमेटिए पनि प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले यसलाई कार्यसम्पादन समिति बैठकमा प्रवेश गराएका थिए । सभापति देउवाले बैठक सुरु गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका नेता रामशरण महतलाई एमसीसीको पृष्ठभूमिसहित हालसम्मको अवस्था प्रस्ट पार्न समय दिएका थिए । महतले एमसीसी नेपालको हितमा रहेको तर्क गर्दै कार्यान्वयनका लागि पार्टी र सरकारले पहल गर्नुपर्ने बताएका थिए । ‘हामीले एमसीसीबारे जनतालाई स्पष्ट पार्न सकेनौं, त्यसैले यसमा प्रशस्त भ्रम उत्पन्न भएका छन्,’ महतको भनाइ थियो, ‘तर यो कार्यक्रम राष्ट्रिय हितमा भएकाले कुनै पनि हालतमा पास गर्नुपर्छ ।’
महतले हिजो सरकारमा रहँदा सम्झौता अनुमोदन प्रक्रिया अघि बढाउन पहल गरेका दल र तिनका नेताहरूको स्वर पनि बदलिएको टिप्पणी गरेका थिए । उनले सरकारको नेतृत्व गरिरहेको दलको हैसियतले संसद्बाट एमसीसी सम्झौता अनुमोदनका लागि कांग्रेस द्विविधामा हुन नहुने धारणा राखेका थिए । ‘एमसीसी पास गर्ने विषयमा कांग्रेसमा मत विभाजित छैन,’ महतले कान्तिपुरसित भने, ‘विकासप्रधान यस आयोजनालाई राजनीति रङ दिनु हुँदैन ।’
बैठकमा महतको भनाइपछि १० नेताले एमसीसीबारे आफ्नो धारणा राखेका थिए । उनीहरूमध्ये कतिपयले सिधै अनुमोदन प्रक्रियामा अघि बढ्नुपर्नेमा जोड दिएका थिए भने केहीले जनमत बुझेर मात्र अनुमोदन गर्नुपर्ने बताएका थिए । परराष्ट्रमन्त्रीसमेत रहेका नारायण खड्का र नेताहरू शशांक कोइराला, आनन्दप्रसाद ढुंगानाले जुनसुकै हालतमा अनुमोदन गर्नुपर्ने धारणा राखेका थिए । विजयकुमार गच्छदार, बलबहादुर केसीलगायत नेताले भने एमसीसी सम्झौता राम्रो भए पनि जनतालाई बुझाएर गरेर मात्र अघि बढ्नुपर्ने बताएका थिए । ‘हरेक राजनीतिक दलका प्रमुख जिम्मेवारीमा रहेका नेताहरूले हिजो सरकारमा रहेको बेला एमसीसी सम्झौता कार्यान्वयनका लागि भूमिका खेलेका थिए, अहिले उनीहरू फरक–फरक भाषा बोलिरहेका छन्,’ नेता ढुंगानाले कान्तिपुरसित भने, ‘कांग्रेसले यी सबैलाई मनन गरेर अनुमोदनका लागि नेतृत्वदायी भूमिका लिनुपर्छ भन्ने धारणा हामीले राख्यौं ।’ नेता गच्छदारले जनस्तरमा विरोध भइरहेकाले त्यसलाई सम्बोधन गरेर उचित निर्णय लिनुपर्ने धारणा राखेका थिए । अनुमोदन गर्न ढिलाइ गर्न नहुने तर जनस्तरमा रहेको भ्रम निवारण गर्नुपर्ने गच्छदारको भनाइ थियो ।
कांग्रेसले २०७६ पुस ११ को केन्द्रीय कार्यसमिति बैठकबाट एमसीसी सम्झौता संसद्मा पेस गर्न माग गर्दै अनुमोदनमा सहयोग गर्ने निर्णय गरेको थियो । अहिले पनि कांग्रेस उक्त निर्णयमा अडिग छ । तर पछिल्लो समय एमसीसीबारे केही प्रश्न उठेकाले त्यसलाई सुन्नुपर्ने कतिपय नेताको भनाइ छ । महामन्त्री गगन थापाले पछिल्लो समय केही भ्रम र आशंका देखिएकाले एमसीसी सम्झौतालाई संसद्को छलफलको विषय बनाइनुपर्ने बताए । पार्टीले निर्णय गरेको भए पनि संसद्मा हरेक सांसदले आफ्नो स्वतन्त्र मत राख्न पाउनुपर्ने उनको भनाइ छ ।
बैठकमा सभापति देउवाको निर्देशनअनुसार महामन्त्री विश्वप्रकाश शर्माले ९ वटा एजेन्डा पेस गरेका थिए । उपसभापति पूर्णबहादुर खड्काको संयोजनमा बुधबार बसेको पदाधिकारी बैठकले यी एजेन्डा तय गरेको थियो । जसमा स्थानीय चुनाव तयारी, संगठन सुदृढीकरण एवं निर्वाचन तयारी केन्द्रित राष्ट्रव्यापी अभियान, भ्रातृ संस्थालाई गतिशील बनाउने, केही भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता प्रदान गर्ने र विधान स्वीकृत गर्ने, क्रियाशील सदस्यको व्यवस्थापन, नयाँ क्रियाशील सदस्यता वितरण, केन्द्रीय अनुशासन समिति गठन र बाँकी रहेका जिल्ला अधिवेशन गर्ने एजेन्डा थिए । बैठकमा नेताहरूले चुनावी समीकरणबारे पनि कुरा उठाएका थिए । तर सभापति देउवाले ‘पहिले चुनावको तयारी गरौं, समीकरणबारे पछि कुरा गरौंला’ भन्दै सन्दर्भ छोट्याएका थिए । ‘स्थानीय तह निर्वाचनमा चुनावी समीकरण के गर्ने, गठबन्धनको अवस्था के हुने भन्नेबारे पनि केही नेताले जिज्ञासा राख्नुभएको थियो,’ नेता जीवनबहादुर शाहीले भने, ‘सम्भवतः भोलिको बैठकमा यसबारे थप छलफल होला ।’
कांग्रेसमा स्थानीय चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे दुईथरी मत छन् । बैठकमा पूर्वमहामन्त्री शशांक कोइरालाले आगामी स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लै लड्नुपर्ने भनाइ राखेका थिए । ‘सैद्धान्तिक, वैचारिक र सांगठनिक रूपमा समेत कांग्रेस एक्लै लड्न सक्षम छ,’ उनको भनाइ थियो, ‘सत्ताका लागि गठबन्धन गरे पनि यसलाई चुनावसम्म लैजानु हुँदैन ।’ नेता शेखर कोइराला, गगन थापालगायतले पनि एक्लाएक्लै चुनावमा जानुपर्ने धारणा राख्ने गरेका छन् । कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर पार्टीभित्र आफ्नो समूहको धारणा बताइसकेका छन् ।
सभापति देउवाले पार्टी महाधिवेशनका क्रममा गठबन्धन दलसँग चुनावी समीकरण राष्ट्रिय सभा निर्वाचनसम्म मात्र हुने बताए पनि पछिल्लो समय गठबन्धनलाई बचाउन समीकरण गर्नुपर्ने धारणा राख्न थालेका छन् । ‘स्थानीय तह निर्वाचनमा समीकरण नगर्ने हो भने माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ठूलो धोका हुन्छ, कांग्रेसलाई पनि राम्रो हुँदैन,’ सभापति देउवानिकट एक नेताले उनको भनाइ उद्धृत गर्दै भने, ‘समीकरण गर्ने भनेर स्थानीय तह निर्वाचन वैशाखमा गर्न उहाँ सफल हुनुभएको हो ।’ कार्यसम्पादन बैठकले एमससीलगायत कुनै पनि विषयमा निर्णय गरेको छैन । बैठक शुक्रबारका लागि पुनः बोलाइएको छ । महामन्त्री शर्माले सबै एजेन्डामा गहन छलफल भएर निर्णय गरिने बताए ।
सभामुखप्रति असन्तुष्टि
कांग्रेस नेताहरूले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी सम्झौता अनुमोदन प्रक्रिया अघि बढाउन आलटाल गरेको भन्दै असन्तुष्टि जनाएका छन् । कार्यसम्पादन समितिको बैठकमा सभामुखको भूमिकाबारे औपचारिक छलफल नभए पनि नेताहरूले एमसीसीका विषयमा असहयोग रहेको बताएका थिए ।
पार्टी प्रवक्ता प्रकाशशरण महतले एमसीसीबारे अनावश्यक भ्रम सिर्जना गरिएको र त्यसलाई संसदमा स्पष्ट पार्नुपर्नेमा ढिलाइ भइरहेको बताए । ‘सरकारले जस्तै सभामुखले पनि यसमा सक्रियतासाथ पहल गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो,’ उनले भने, ‘बाहिर भ्रम फैलाउने काम भइरहेको छ, तर जहाँ (संसद्मा) छलफल हुनुपर्ने हो, त्यहाँ किन रोक्ने ?’ उनले सरकारले राखेको प्रस्तावलाई सभामुखले इमानदारीपूर्वक अघि बढाउनुपर्ने बताए । सरकारले पेस गरेको प्रस्तावलाई छलफलमा लिनुपर्ने सभामुखको जिम्मेवारीबाट सापकोटा पछि हटेका हुन् कि भन्ने आभास मिल्न थालेको उनको भनाइ छ ।
