मिति घोषणा नहुँदासम्म नामावली संकलन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिति घोषणा नहुँदासम्म नामावली संकलन

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले स्थानीय चुनावको मिति घोषणा नहुँदासम्म फोटोसहितको मतदाता नामावली संकलन जारी राख्ने भएको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले कानुनअनुसार मिति घोषणा भएको दिनसम्मको मात्रै विवरण अद्यावधिक गरी अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिए । 

सरकारले निर्वाचन आयोगले स्थानीय चुनावका लगि प्रस्ताव गरेको जेठ ४ लाई घोषणा गर्ने सम्भावना छ । आयोगले ७ सय ५३ स्थानीय तहकै निर्वाचन एकै चरणमा गर्नुपर्ने प्रस्ताव गरेको छ । प्रस्तावलाई सरकारले सकारात्मक रूपमा लिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ । सरकारले यही साता चुनावको मिति घोषणा गर्न सक्ने एक मन्त्रीले बताए ।

स्थानीय चुनावलाई लक्ष्य गरेर आयोगले विशेष अभियान सञ्चालन गरी गत मंसिर १७ देखि १९ सम्म पालिकास्तरमै प्राविधिक खटाएर नामावली संकलन गरेको थियो । उक्त अभियानबाट ८ लाख ४८ हजार थप मतदाताको विवरण संकलन भएको आयोगले जनाएको छ । यस अभियानमा १६ वर्ष पुगेकाको विवरण पनि समेटिएकाले मताधिकार प्राप्त १८ वर्ष उमेर पुगेकाको संख्या यकिन भइसकेको छैन । अभियान सकिए पनि ७७ निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन, ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भइरहेको आयोगले जनाएको छ ।

२०७७ पुस ५ सम्म मतदाताको संख्या १ करोड ६२ लाख ४३ हजार १ सय १० थियो । यसमा १० लाख मतदाता थपिएको अनुमान प्रवक्ता पौडेलले बताए । २०७४ को स्थानीय चुनावमा १ करोड ४० लाख ७४ हजार ४ सय २४ जना मतदाता थिए । २०७४ वैशाख ३१ मा स्थानीय चुनाव गर्न सरकारले २०७३ फागुन ९ मा मिति घोषणा गरेको थियो ।

यस पटक आयोगले १ सय २० दिन समय मागे पनि मतदाता नामावली संकलन, मतदान स्थल, केन्द्रको पुनरावलोकन र निर्धारणको काम सकिएकाले जेठ ४ भित्र चुनाव गर्न सकिने सरकारलाई जानकारी गराइसकेको छ । जेठ ४ आउन १ सय ५ दिन बाँकी छ । संविधानअनुसार स्थानीय तहका पदाधिकारीको अवधि आगामी जेठ ५ मा सकिँदै छ । त्यसैले आयोगले कार्यकाल सकिने अघिल्लो दिन चुनाव गर्न सरकारलाई प्रस्ताव गरेको हो ।

प्रकाशित : माघ २०, २०७८ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्

कोभिड रिपोर्ट नेगेटिभ बनाउन १८ हजार !

नागरिक अस्पताल र कान्तिपुर अस्पतालका दुई/दुई कर्मचारी पक्राउ
सम्बन्धित व्यक्तिको उपस्थितिबिनै बिचौलियाले आफ्नै वा परिवारका सदस्यको स्वाब संकलन गर्ने र ल्याबले सहजै पीसीआर नेगेटिभ रिपोर्ट उपलब्ध गराउने खुलासा
लिला श्रेष्ठ

काठमाडौँ — विदेश जानेहरूका लागि कोभिडको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य छ । सरकारले पीसीआर परीक्षणका लागि सरकारी अस्पतालमा ८ सय रुपैयाँ र निजी अस्पतालमा १५ सय रुपैयाँ तोकेको छ । तर, राजधानीकै अस्पतालले ८ हजारदेखि १८ हजार रुपैयाँसम्म असुलेर नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको तथ्य खुलेको छ ।

महानगरीय अपराध महाशाखाले नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका चार कर्मचारीलाई नियन्त्रणमा लिएको छ । महाशाखाको टोलीले मंगलबार भक्तपुरको मध्यपुर थिमि गट्ठाघरमा अवस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडका दुई र काठमाडौं तीनकुनेमा अवस्थित कान्तिपुर अस्पताल प्रालिका दुई कर्मचारीलाई पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि ती अस्पतालबाट स्वाबको नमुना नलिई फोटो र पासपोर्टका आधारमा नक्कली पीसीआर रिपोर्ट बनाउने गरिएको महाशाखाले जनाएको छ । ‘अस्पतालका कर्मचारीले एजेन्ट नै खटाएर फोटो र पासपोर्टका आधारमा पीसीआर नेगेटिभ रिपोर्ट बनाइदिने गरेको तथ्य फेला परेको छ,’ महाशाखा प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले भने, ‘अस्पतालका कर्मचारीले आफ्नै स्वाबबाट धेरैको पीसीआर रिपोर्ट बनाइदिएको पाइएको छ ।’

प्रहरीले नागरिक हस्पिटलका कर्मचारी धनुषा विदेह नगरपालिका–४ घर भई ललितपुर ग्वार्को बस्ने २५ वर्षीय रोशनकुमार छिट्टानलाई ८ थान नक्कली पीसीआर परीक्षण रिपोर्टसहित विमानस्थल अगाडिबाट पक्राउ गरिएको महाशाखा प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए । सोही अस्पतालका ल्याब प्रबन्धक सर्लाही बलरा नगरपालिका–७ घर भई मध्यपुर थिमि कौशलटार बस्ने २४ वर्षीय प्रसन्नकुमार झा पनि ल्याबबाटै पक्राउ परेका छन् ।

त्यस्तै, कान्तिपुर अस्पतालका कर्मचारी धनुषा क्षिरेश्वर नगरपालिका–१ घर भई गौशाला बस्ने २५ वर्षीय नागेन्द्र यादव र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–५ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–५ सल्लाघारी बस्ने २९ वर्षीय माधव मैनालीलाई १७ थान नक्कली पीसीआर रिपोर्टसहित नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ । कान्तिपुर अस्पतालबाट पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट उल्लेख गरिएको ४ थान रिपोर्ट पनि भेटिएको छ ।

प्रहरीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिसमेतको रोहबरमा दुवै अस्पतालका ल्याबबाट पीसीआर रिपोर्ट बनाउन प्रयोग भएका कम्प्युटर मोनिटर १ थान, ल्यापटप १ थान, सीपीयू ३ थान, पीसीआर दर्ता रजिस्टर, नक्कली पीसीआर रिपोर्ट, रसिद प्याड र मोबाइल ५ थान बरामद गरेको छ । नागरिक अस्पतालका पीसीआर ल्याब सञ्चालक रौतहट राजदेवी नगरपालिका–४ बसतपुर घर भई भक्तपुर चाँगुनारायण नगरपालिका दुवाकोट बस्ने ४० वर्षीय भावेश मिश्र र कान्तिपुर अस्पतालका पीसीआर ल्याब सञ्चालक काठमाडौं महानगर–३२ पेप्सीकोलाका ४० वर्षीय निर्मल गिरी फरार छन् ।

दुवै अस्पतालका पीसीआर ल्याब सिल गरिएको प्रहरीले जनाएको छ । ती अस्पतालका ल्याबले कतिपय व्यक्तिको स्वाब र परीक्षणबिनै नेगेटिभ रिपोर्ट दिने गरेको पाइएको छ । ती ल्याबमा कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरी रिपोर्ट दिने गरेका थिए ।

कतिपय पीसीआर पोजिटिभ देखिएका नमुनाको सीटी भ्यालु तलमाथि गरी नेगेटिभ रिपोर्ट दिने गरेको भेटिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको बताए । ती अस्पतालले केही बिचौलियालाई अस्पतालको कर्मचारी भनी परिचयपत्रसमेत बनाई सामूहिक स्वाब संकलन गरेको भेटिएको महाशाखाले जनाएको छ ।

सम्बन्धित व्यक्तिको उपस्थिति र स्वाबबिनै बिचौलियाले आफैंले आफ्नै वा परिवारकै स्वाब घरबाटै संकलन गरी ल्याएर विभिन्न व्यक्तिका नाममा ल्याबमा दिने र ल्याबले सहजै पीसीआर रिपोर्ट उपलब्ध गराउने गरेको पाइएको महाशाखा प्रमुख एसएसपी कुँवरले बताए ।

बिचौलिया/एजेन्ट र ल्याबका कर्मचारी एवं व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरूलाई पीसीआर रिपोर्ट नेगेटिभ बनाइदिने भनी प्रतिव्यक्ति ८ देखि १८ हजार रुपैयाँसम्म असुल गरेको भेटिएको छ ।

प्रकाशित : माघ २०, २०७८ ०६:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×