कस्तो होला दलहरूको चुनावी समीकरण ?


काठमाडौँ — निर्वाचन आयोगले जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेपछि दलहरूमा आगामी समीकरणबारे चर्चा सुरु भएको छ । समीकरण गरेर चुनाव लड्ने कि एक्लाएक्लै प्रतिस्पर्धामा जाने भन्ने बहस सुरु भएको हो । २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आंशिक समीकरण भएको थियो भने एमाले एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो ।

७ सय ५३ स्थानीय तहमध्ये २ सय ९७ मा एमाले, २ सय ७४ मा नेपाली कांग्रेस, १ सय ६ मा माओवादी केन्द्र र ७६ मा अन्य दलले प्रमुख जितेका थिए । अहिले एमाले र माओवादी केन्द्र विभाजित अवस्थामा छन् । एमालेबाट विभाजित भएर एकीकृत समाजवादी बनेको छ । माओवादी केन्द्रको एउटा समूह एमालेमा समाहित भएको छ ।
एमाले उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवाली निर्वाचन आयोग र सरकारबीच मंगलबार भएको परामर्श बैठकले देशलाई निर्वाचनको दिशातर्फ अग्रसर बनाएको बताउँछन् । ‘विभिन्न बहानाबाजी झिकेर निर्वाचन सार्ने प्रयत्न भइरहेको थियो, अब सम्भावना बढेर गएको छ,’ उनले भने, ‘सरकारले छिट्टै निर्वाचनको मिति घोषणा गर्ने भनेको छ, यसलाई सकारात्मक रूपमा लिनुपर्छ ।’
आगामी स्थानीय तह निर्वाचनमा एमाले एक्लै प्रतिर्स्धामा उत्रिने ज्ञवालीले बताए । गत स्थानीय तहमा एमाले एक्लैले करिब ४२ प्रतिशत स्थानीय तहमा जितेको र पार्टी विभाजनपछि पनि माओवादी केन्द्रलगायत अन्य पार्टीका नेता समाहित भएकाले अवस्था खासै खराब नभएको उनको भनाइ छ । ‘गत निर्वाचनमा पनि हामी प्रतिकूलतामै लडेर पहिलो दल भएका थियौं, अहिले पनि एक्लै लड्ने सामर्थ्यसहित चुनावी तयारीमा लागिसकेका छौं,’ उनले भने ।
एमसीसी सम्झौता अघि बढाउने विषयमा अलग नभए एकीकृत समाजवादी र माओवादी केन्द्र भने हालको गठबन्धनलाई चुनावी समीकरणमा परिणत गर्नुपर्ने पक्षमा छन् । माओवादी नेता नारायणकाजी श्रेष्ठले गठबन्धनको सुझावअनुसारै स्थानीय तहको निर्वाचन जेठमा हुन लागेको र निर्वाचनमा पनि गठबन्धनलाई कायम राख्ने गरी समीकरण हुने बताए । ‘गठबन्धन गरेरै चुनावमा जाने भन्ने कुरा हो, त्यहीअनुसार गठबन्धनले जेठमा चुनाव गर्न सरकारलाई सुझाव दिएको थियो,’ उनले भने, ‘त्यसैले अहिलेसम्म कुनै नयाँ (फेरबदल) छैन ।’
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पनि प्रतिगमनविरुद्धको गठबन्धनलाई चुनावसम्मै लैजाने बताए । यद्यपि जेठमा चुनाव गर्न कानुनी बाधाहरू हटाउनुपर्ने उनको भनाइ छ । ‘हिँड्दै जाँदा बाटो–बाटोमा कहाँ–कहाँ ठेस लाग्छ, त्यो त अहिल्यै थाहा हुने कुरा भएन,’ उनले भने, ‘तर अहिलेको अवस्थामा गठबन्धन सरकारले चुनाव गराउने र चुनावमा पनि समीकरण बनाएर जाने भन्ने नै छ ।’ गत स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचितमध्ये करिब १५ प्रतिशत जनप्रतिनिधि एकीकृत समाजवादीमा रहेकाले अवस्था राम्रै रहेको उनले बताए ।
सत्ता गठबन्धनका दुई प्रमुख दल चुनावी समीकरण गरेर जाने मनोविज्ञानमा रहेका बेला गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेस भने यसबारे मौन छ । शेखर कोइराला समूहले स्थानीय र संसदीय निर्वाचनमा पार्टी एक्लै प्रतिस्पर्धामा जानुपर्ने बताएको छ । उसले माघ ११ गते भर्चुअल बैठक गरी नेतृत्वलाई यसबारे दबाब दिएको थियो ।
सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले समेत महाधिवेशनका बेला राष्ट्रिय सभा निर्वाचनसम्म मात्र चुनावी समीकरण कायम रहने बताएका थिए । तर पछिल्लो समय जेठमा स्थानीय तह निर्वाचन गर्ने सन्दर्भमा सत्ता साझेदार दल (माओवादी केन्द्र र एकीकृत समाजवादी) लाई समीकरण गर्ने आश्वासन दिएका उनीनिकटको भनाइ छ ।
‘पार्टीमा तलदेखि माथिसम्म एक्लै प्रतिस्पर्धामा जानुपर्ने आवाज छ, तर उहाँसामु गठबन्धनलाई जोगाएर अघि बढ्नुपर्ने अर्को बाध्यता पनि छ,’ उनीनिकट एक नेताले भने, ‘त्यसैले कांग्रेस चुनावमा एक्लै जान्छ कि समीकरण गरेर जान्छ भन्न सकिने अवस्था छैन ।’ ती नेताका अनुसार कम्युनिस्ट पार्टीहरू विभाजित भएको अवस्थामा एक्लै प्रतिस्पर्धामा जाँदा राम्रो नतिजा आउने देउवाको आकलन छ । तर एमालेसँग गठबन्धनको कुनै दलको समीकरण हुनेमा पनि उनी उत्तिकै सचेत छन् ।
स्थानीय तह निर्वाचनकै सन्दर्भमा मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारीको उपस्थितिमा छलफल भएको थियो । त्यहाँ संघीयताविद् खिमलाल देवकोटाले गत स्थानीय तह र संसदीय निर्वाचनमा दलहरूले प्राप्त गरेको नतिजा र अहिलेको अवस्थाबारे प्रस्तुति दिएका थिए । राष्ट्रिय सभामा स्वतन्त्र हैसियतमा चुनाव जितेका देवकोटा एकीकृत समाजवादीका नेता हुन् । ‘उहाँ (देवकोटा) को प्रस्तुति हेर्दा आगामी निर्वाचनमा गठबन्धन दलहरू सँगसँगै जानुपर्छ, नत्र सबैलाई उत्तिकै क्षति हुन्छ भन्ने आशय झल्किन्थ्यो,’ कार्यक्रममा सहभागी एक नेताले भने ।
कांग्रेसमा भने स्थानीय तह र संसदीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने दबाब बढ्दो छ । समीकरण पक्षधरहरू नखुले पनि एक्लै प्रतिस्पर्धा गर्ने पक्षमा रहेकाहरूले विभिन्न माध्यमबाट दबाब बढाउँदै लगेका छन् । मंगलबारको छलफलमा सहभागी केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस हिजोभन्दा अहिले थप बलियो भएकाले कसैसँग समीकरण गर्नुपर्ने बाध्यता नरहेको बताए ।
‘पार्टीभित्र मतभेद हुनु स्वाभाविक हो तर महाधिवेशनपछि पार्टी थप सुदृढ र सक्रिय भएको छ,’ उनले भने, ‘अर्को महत्त्वपूर्ण कुरा राजनीतिक दलहरू तलैदेखि वैचारिक रूपमा अलग–अलग भएर आएकाले चुनावमा पनि आ–आफ्ना एजेन्डासहित एक्लाएक्लै प्रतिस्पर्धा गर्नुपर्छ ।’ संसदीय निर्वाचनमा भने राष्ट्रिय राजनीतिमा आवश्यकता बोध भएका कुनै नेताहरूको सन्दर्भमा दलबीच हुने समीकरणलाई अन्यथा मान्न नसकिने उनले बताए ।
दुई महिनाअघि महाधिवेशन सम्पन्न गरेको कांग्रेसमा शक्ति समूहहरूलाई व्यवस्थापन गर्ने चुनौती पनि उत्तिकै छ । केन्द्रीय कार्यसमितिमा महत्त्वपूर्ण पदाधिकारीसहित उपस्थिति जनाएको शेखर कोइराला समूह समीकरण भएको खण्डमा संस्थापन पक्षबाट थप पेलानमा पर्ने बुझाइमा छ । एक्लै प्रतिस्पर्धा गर्दा भने पार्टीलाई जिताउन पनि बाध्यात्मक एकता हुने उक्त समूहका एक नेताले बताए । ‘समीकरण भएको खण्डमा सहजै जितिने भएकाले टिकट दिँदा नै पेलान गर्ने रणनीति बन्न सक्छ,’ ती नेताले भने, ‘एक्लै लड्दा भने पार्टीकै बलमा जितिने भएकाले सामूहिक एकताको भावना बलियो भएर जान सक्छ ।’
प्रकाशित : माघ १९, २०७८ ०९:२९