सर्वदलीय बैठकबारे हामीलाई कुनै जानकारी प्राप्त भएको छैन : एमाले
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहानका लागि बोलाएको सर्वदलीय बैठकका बारेमा जानकारी प्राप्त नभएको बताएको छ । एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले आफूहरूलाई सर्वदलीय बैठकका बारेमा कुनै जानकारी प्राप्त नभएको बताएका छन् ।
त्यस्तै स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा नेकपा (एमाले) को सहमति नहुने पनि उनले स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा बिहान साढे ९ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसद्को गतिरोध अन्त्य गर्ने, स्थानीय तह निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने छ । यसअघिको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहभागी भएको थिएन ।
पुस ४ गतेको सर्वदलीय बैठकमा एमाले सहभागी नभएपछि प्रधानमन्त्री देउवाले पुस २४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर भेटेका थिए । ओलीलाई भेटेको दुई सातापछि देउवाले फेरि सर्वदलीय बैठक डाकेका हुन् ।
एमालेले आफूले कारबाही सिफारिस गरेका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगराएको भन्दै निरन्तर रुपमा संसद् अवरुद्ध गर्दै आएको छ । एमालेले कारबाही सिफारिस गरेकामा माधवकुमार नेपाल, रामकुमारी झाँक्री लगायत सांसद् छन् ।
प्रकाशित : माघ ८, २०७८ ०९:०६