माओवादी महासचिव : सहमतिमै दाहालको जोड, प्रतिस्पर्धामा पुन र शर्मा - समाचार - कान्तिपुर समाचार

माओवादी महासचिव : सहमतिमै दाहालको जोड, प्रतिस्पर्धामा पुन र शर्मा 

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रको ८ औँ महाधिवेशनले छनोट गरेको केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाललाई अध्यक्षमा निर्विरोध चयन गरी निरन्तरता दिए पनि अन्य पदाधिकारीको टुंगो लगाउन सकेन । माओवादीमा अध्यक्षका अलावा वरिष्ठ उपाध्यक्ष र ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्ष रहने विधानको व्यवस्था छ ।

महाधिवेशनबाट चयन भएको केन्द्रीय समितिको पुस १९ गते सोमबारको पहिलो बैठकले अध्यक्षबारे मात्रै निर्णय गरेर अन्य पदाधिकारी चयन लगायतका कामका लागि २५ गते केन्द्रीय समिति बैठक बस्ने तय भएको छ । उक्त बैठकमा केन्द्रीय समितिमा मनोनयन, स्थायी कमिटी र पोलिटब्युरो चयनका एजेन्डा रहेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

केन्द्रीय समिति बैठक २५ गतेसम्म सार्नुको कारण भने अध्यक्ष दाहालले चीनमा स्वास्थ्य उपचार गराइरहेका महासचिवका दाबेदार वर्षमान पुनको आग्रह रहेको सोमबारको बैठकमै बताएका थिए । पुन र नेतृ ओनसरी घर्ती चीनमा रहेको र उनीहरूले पदाधिकारी चयनमा आफूहरू पनि सहभागी हुन चाहेको तथा चाँडै फर्किन लागेकाले बैठक सार्न आग्रह गरेको दाहालले केन्द्रीय समितिमा बताएका थिए ।

पुनले महासचिवमा दाबी गरेको र पदाधिकारी चयनमा सहभागी जनाउने इच्छा जाहेर गरेपछि केन्द्रीय समिति बैठक नै सारेर अध्यक्ष दाहालले आकांक्षीहरूबीच छलफल गराएर सहमति गराउन खोजेका नेताहरूले बताएका छन् । 'अध्यक्षले अहिले नै कसलाई महासचिव बनाउने भन्ने कुरा राख्नुभएको छैन । दाबी गरिरहनुभएका नेताहरूमध्ये एकजना चीनमा हुनुहुन्छ । उहाँ आएपछि छलफल र परामर्श होला । त्यसपछि उहाँहरूलाई सँगै राखेर पनि छलफल गर्ने । एकले अर्कालाई महासचिवमा प्रस्ताव गर्ने स्थिति आयो भने पार्टीमा नयाँ एकता कायम हुन्छ भन्ने अध्यक्षको विश्वास छ,' दाहाल निकट एक नेताले भने ।

महासचिवका दाबेदार पुन र शर्मा भने आफ्नो नाममा सहमति भए ठीक नभए चुनाव लड्न तयार रहेको उनीहरू निकट नेताहरूले बताएका छन् । पुन यसअघि नै सचिव भइसकेको र उनीभन्दा तल्लो पदमा रहेर शर्माले काम गरेकाले स्वाभाविक रूपमा महासचिवमा उनको दाबी रहेको उनीनिकट नेताहरूले बताउने गरेका छन् । संगठन विभागको प्रमुख भइसकेको र पार्टी कार्यदिशालाई सही रूपमा कार्यान्वयन गर्नका लागि शर्मा नै महासचिव बन्नुपर्ने दाबी उनी निकट नेताहरूले गर्दै आएका छन् ।

अध्यक्ष दाहालले कसलाई महासचिव बनाउँछन् भन्नेमा पनि दुवै खेमाले आफ्नो अनुकूल व्याख्या गरिरहेका छन् । पुन पक्षले केन्द्रीय समिति स्थगित गरी चीनबाट नेपाल आउने अवस्थासम्म कुर्न दाहाल तयार भएबाटै कुरा बुझ्नुपर्ने तर्क गरिरहेका छन् । अर्कोतिर शर्मा निकट नेताहरू भने दाबी गरेपछि छलफलका लागि कुर्नुलाई महासचिव नै बनाउन केन्द्रीय समिति सारेको रूपमा बुझ्न नहुने बताउँछन् ।

शर्माले महासचिवमा लड्ने यसअघि नै घोषणा गरिसकेका छन् भने पुनले पनि आफू निकट नेताहरूलाई चुनावमा जानुपर्ने अवस्था आए तयारी गर्न भनिसकेका छन् । 'सहमति भयो भने ठीकै हुन्छ । सहमति नहुँदाखेरि चुनावको स्थितिमा जान्छ । स्वाभाविक रूपले संगठन विभाग प्रमुख पनि रहेको र पार्टी कार्यदिशा लागू गर्ने व्यक्ति भएकाले प्रभाकर महासचिव हुनुपर्छ भन्ने हो,' शर्मा निकट एक केन्द्रीय सदस्यले भने । नेता शक्ति बस्नेतले 'महासचिवमा आफ्नो नाममा सहमति होस् भन्ने नेताहरूले सोच्नु' अन्यथा नभएको बताए ।

केन्द्रीय सदस्य कृष्णबहादुर महराले भने अध्यक्ष दाहालले महासचिव सहमतिका साथी चयन गर्नका लागि परामर्श गरिरहेको जानकारी दिए । 'सहमतिको प्रयासमा अध्यक्ष लागिराख्नुभएको छ । महासचिवका लागि चुनाव नहुन सक्छ । योग्य उम्मेदवार धेरै हुनुहुन्छ,' उनले भने ।

पुन र शर्माले दाबी नछोडेमा पूर्वस्थायी कमिटीका सदस्यहरूबीचको छलफलबाट निष्कर्ष निकाल्ने तयारी दाहाल रहेको नेताहरूले बताएका छन् । चुनावमा जानुभन्दा पनि पुन र शर्माको विकल्पमा सहमति हुन्छ कि भन्नेमा पनि दाहालको जोड रहने उनीनिकट नेताहरूले बताएका छन् । महासचिवका लागि पुन र शर्माको विकल्पका रूपमा देवप्रसाद गुरुङ, पम्फा भुसाल, शक्ति बस्नेतलगायतलाई हेरिएको छ ।

महासचिवमा आफ्नो अहिले दाबी नरहेको तर पुन र शर्माको विकल्पमा आफू जिम्मेवारी लिन तयार रहेको गुरङले बताएका छन् । 'मैले मागदाबी गरेको विषय छैन । महासचिवमा वर्षमान पुन र जनार्दन शर्माले उठ्छु भनेर लाग्नुभएको छ । अध्यक्षले चुनाव नलड्नुस्, सहमतिमा जाउँ बरु सिनियर साथीहरूलाई जिम्मेवारी दिएर जाउँ भनेको अवस्थामा मेरो सम्भावनाको प्रश्न आएको हो,' उनले भने, 'चुनाव हुने भयो भने उहाँहरू लड्नुहोला । चुनाव नहुने र सहमतिबाट गयो भने मेरो कुरा आउन सक्छ ।' पुन र शर्मालाई उपमहासचिव बनाइ उनीहरूभन्दा सिनियर नेतालाई महासचिव बनाउने विकल्प रहेको पनि बताइएको छ ।

प्रकाशित : पुस २२, २०७८ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्

सार्कका लागि भारत अझै अनिच्छुक

राजेश मिश्र

नयाँ दिल्ली — पाकिस्तानले सार्क शिखर सम्मेलनका लागि गरेको आह्वानलाई भारतले अस्विकार गरेको छ । भारतीय विदेश मन्त्रालयले सार्क शिखर सम्मेलन गरिहाल्ने विषयमा कुनैपनि नयाँ सहमति निर्माण भइनसकेको जनाएको छ ।

पाकिस्तानका विदेशमन्त्री शाह मोहम्मद कुरैसीले गएको सोमबार १९ औं सार्क शिखर सम्मेलन गर्न पाकिस्तान तयार रहेको र त्यसका लागि सबै सदस्य राष्ट्रहरुलाइ फेरि पनि निम्ता पठाइने बताएका थिए । उनले इस्लामावाद आउन समस्या भए भारत ‘भर्चुअल’ रुपमा सहभागी हुनसक्ने सुझाव दिएका थिए । भारतकै कारण सार्क संकटमा परेको उनको आरोप थियो ।

बिहीबार नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सार्क सम्मेलनका लागि अनुमति दिने विषयमा कुनैपनि सहमति भइनसकेको बताए । सार्कबारे पाकिस्तानी विदशमन्त्रीको टिप्पणी मिडिया रिपोर्टबाट थाहा पाएको उल्लेख गरे । ‘सन् २०१४ पछि सार्क सम्मेलन किन हुन सकेको छैन ? तपाईंहरुलाई थाहा छ,’ मिडियाको जिज्ञासामा उनले भने ‘त्यसपछिको परिस्थितिमा कुनैपनि परिवर्तन भएको छैन । त्यसैले हामी बीच कुनै त्यस्तो सहमति भइसकेको छैन जसले सार्क बैठक गर्ने अनुमति दिन्छ ।’

प्रत्येक २ वर्षमा हुने सम्मेलन सन् २०१४ यता भएको छैन । १८ औं शिखर सम्मेलन काठमाडौंमा भएको थियो । त्यसपछि सन् २०१६ मा सम्मेलनको आयोजना गर्ने पालो पाकिस्तानको थियो । तर, पाकिस्तानसँगको शत्रुवत् सम्बन्धका कारण भारतले इस्लामावादको सार्क सम्मेलनमा सहभागी नहुने जनाएपछि सम्मेलन नै हुन पाएको छैन ।

प्रकाशित : पुस २२, २०७८ १९:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×