गुरुङ, पौडेल र शाही कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ — कांग्रस सभापति शेरबहादुर देउवाले कल्याणकुमार गुरुङ, प्रदीप पौडेल र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । देउवाले शनिबारमात्रै महाधिवेशनमा भाग नलिएका रामचन्द्र पौडेलसहित १० नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

गुरुङ, पौडेल र शाही कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

उनले आइतबारै गुरुङ, पौडेल र शाहीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । उनीहरू तीनै जना महाधिवेशनमा पराजित उम्मेदवार हुन् ।देउवासँगै सभापतिका प्रत्यासी गुरुङले दोस्रो चरणको निर्वाचनमा देउवालाई सघाएका थिए । त्यस्तै, कृष्णप्रसाद सिटौला–देउवा समीकरण बन्दा देउवा समूहबाटै महामन्त्री उम्मेदवार बनेका पौडेल पराजित भएका थिए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही पिछडिएको क्षेत्रबाट देउवा समूहबाटै सहमहामन्त्री उम्मेदवार थिए । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार गुरुङ, पौडेल र शाही विधानको धारा २१ (१०) बमोजिम सभापतिबाट केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

देउवाले शनिबार पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशसरण महत, सुजाता कोइराला, नारायण खड्का, उमा रेग्मी र मीन विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।

विधानले सभापतिलाई समावेशी सिद्धान्त र केन्द्रीय समितिमा एक तिहाई महिला हुनुपर्ने व्यवस्थालाई ध्यानमा राखेर ३३ जना सदस्य मनोनीत गर्ने अधिकार दिएको छ । त्यही अधिकार बमोजिम देउवाले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

महाधिवेशनमा पराजित पदाधिकारी उम्मेदवारहरू फटाफट मनोनीत हुँदा उपसभापतिका उम्मेदवार चन्द्र भण्डारी, महेश आचार्य, दिव्येश्वरी शाह, महामन्त्रीमा पराजित मिनेन्द्र रिजाल र राजाराम कार्की तथा सहमहामन्त्रीमा पराजित मानबहादुर विश्वकर्मा, रामकृष्ण यादव, कमला पन्त लगायत नेताहरू भने छुटेका छन् । यीमध्ये विश्वकर्मा देउवा समूहकै उम्मेदवार हुन् ।

देउवाले १६८ सदस्यीय केन्द्रीय समितिमा एक तिहाई महिलाको संख्या पु¥याउन अब १३ महिलासहित २० जना सदस्य मनोनीत गर्न पाउनेछन् ।


प्रकाशित : पुस १८, २०७८ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?