३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

देउवाले कोषाध्यक्षमा कसलाई रोज्लान् ? 

कोषाध्यक्षका लागि अर्बपति विनोद चौधरी, सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पुष्पा भुसाल, उमेश श्रेष्ठ, सुनिलबहादुर थापादेखि पूर्वकोषाध्यक्ष चित्रलेखा यादवसम्म दौडमा छन् । 
प्रकाश धौलाकोटी

काठमाडौँ — कांग्रेसको १४ औँ महाधिवेशनले केन्द्रीय समितिमा सभापतिसहित १३ जना पदाधिकारी चुनेको छ । अब पदाधिकारीमा कोषाध्यक्ष मनोनयन गर्नुपर्नेछ । त्यसका लागि नेताहरुको दाैडधुप सुरु भएको छ ।

देउवाले कोषाध्यक्षमा कसलाई रोज्लान् ? 

विधानअनुसार अब सभापति शेरबहादुर देउवाले निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट एक जनालाई कोषाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय समितिमा ल्याउनेछन् । कांग्रेस विधानको दफा २१ (४) ले केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी केन्द्रीय कार्यसमितिबाट कोषाध्यक्ष निर्वाचित हुने व्यवस्था गरेको छ ।

वर्तमान केन्द्रीय समितिमा सभापति देउवाको एकलौटी वर्चस्व भएकाले देउवाले जसको नाम प्रस्ताव गर्छन्, ऊ नै कोषाध्यक्ष बन्ने निश्चित छ । स्रोतका अनुसार महाधिवेशनमा गुटभित्रको शक्ति सन्तुलन र आकांक्षी व्यवस्थापनकै क्रममा देउवाले केही नेताहरूलाई कोषाध्यक्ष बनाउने आश्वासन दिइसकेका छन् । तर महाधिवेशन सकिएलगत्तै केन्द्रीय समितिमा निर्वाचित भएका नेताहरू पनि कोषाध्यक्षका लागि देउवाको रोजाईमा पर्न दौडधुप सुरू भइसकेको छ ।

कांग्रेसमा कोषाध्यक्ष कार्यकारी पद होइन, तर पदाधिकारीमै गणना हुने र सिंगो पार्टीको आर्थिक स्रोत व्यवस्थापन र परिचालनमा सभापतिपछि मुख्य भूमिका कोषाध्यक्षकै हुने भएकाले नेताहरू कोषाध्यक्ष बन्न लालायित देखिएका छन् ।

विधानको दफा २८ ले कोषाध्यक्षका सात वटा काम, कर्तव्य र अधिकार तोकेको छ । जसअनुसार कोषाध्यक्षले पार्टीका निम्ति आवश्यक आर्थिक स्रोतसाधनको व्यवस्था गर्ने, त्यसको संरक्षण र सम्वर्धन गर्ने तथा सम्पूर्ण आयव्ययको अद्यावधिक अभिलेख राख्ने, बैंक खाता सञ्चालन गर्ने, सदस्यता शुल्क र अन्य आर्थिक कारोबारको अभिलेख व्यवस्थापन गर्ने, पार्टीको खर्चको हिसाव राख्ने र आर्थिक प्रतिवेदन तयार गरी प्रस्तुत गर्ने गर्नुपर्दछ ।

सभापति देउवाले कोषाध्यक्षबाहेक केन्द्रीय समितिमा ३३ जना केन्द्रीय सदस्य मनोनित गर्न पाउँछन् । जसकारण महाधिवेशन सकिएलगत्तै देउवाको तजबिजमा रहेका यी पदमा दाबी गर्दै आकांक्षीहरू लबिङमा लागेका छन् । विधानमा महाधिवेशन भएको छ महिनाभित्र विभाग र अन्य निकायहरू गठन गरिसक्नुपर्ने व्यवस्था छ । तर, कोषाध्यक्ष मनोनयनका लागि त्यस्तो कुनै हद म्याद तोकिएको छैन । त्यसकारण देउवाले कोषाध्यक्षमा तत्कालै कसैलाई रोज्लान् ? वा केही समय कोषाध्यक्ष मनोनयन नै गर्दैनन् भन्ने प्रस्ट भइसकेको छैन ।

स्रोतका अनुसार देउवाले यसअघि नै एकभन्दा धेरै नेताहरूलाई कोषाध्यक्ष बनाउने वचन दिइसकेकाले तत्कालै कोषाध्यक्षको मनोनयन नै नगर्ने सम्भावना पनि छ । ‘साझा सहमतिबाट एक कोषाध्यक्ष चयन हुने अवस्था छैन, आकांक्षी धेरै जना छन्, त्यसैले एउटालाई दिएर अर्कोलाई बेखुसी पार्नु भन्दा तत्कालै कसैलाई मनोनयन नगर्ने सम्भावना बढी छ,’ देउवानिकट एक नेताले इकान्तिपुरसँग भने । पार्टीको आर्थिक कारोबारसँग जोडिने भएकाले देउवाले आफ्नो विश्वासपात्रमध्ये नै कोही एकलाई कोषाध्यक्षको जिम्मेवारी दिने नेताहरू बताउँछन् ।

कोषाध्यक्ष बन्न देउवाको रोजाईमा पर्न अर्बपति विनोद चौधरीदेखि पूर्वकोषाध्यक्ष चित्रलेखा यादवसम्म दौडमा छन्। ज्ञानेन्द्रबहादुर कार्की, पुष्पा भुसाल, उमेश श्रेष्ठ, सुनिलबहादुर थापा लगायत नेताहरूको नामसमेत कोषाध्यक्षको आकांक्षीका रुपमा चर्चामा छ ।

पूर्वकोषाध्यक्ष समेत रहेकी यादव यसपटक प्रदेश २ बाट महिलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । यसअघि १२ औँ महाधिवेशनमा देउवा सभापतिमा पराजित हुँदा समेत लोकप्रिय मतसहित कोषाध्यक्षमा निर्वाचित भएकी यादव १३ औँ महाधिवेशनमा भने सीतादेवी यादवसँग पराजित भएकी थिइन् । पदाधिकारीमा महिलाको संख्या एक जनामात्रै भएको र आफूले यसअघि नै काम गरिसकेको अनुभव समेत भएकाले यादवले आफूले कोषाध्यक्ष पाउनुपर्ने दाबी गर्दै आएकी छिन् ।

देउवाका विश्वासपात्र रहेका कार्की हाल सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री छन् । उनले खुलातर्फबाट केन्द्रीय सदस्य जितेका छन् । १४ औँ महाधिवेशनमा पार्टीको आर्थिक संकलन समिति संयोजकको भूमिका निभाएका कार्की यसअघि महामन्त्रीका आकांक्षी थिए । महामन्त्री उम्मेदवार बनाउन नसकेपछि देउवाले उनलाई कोषाध्यक्षको आश्वासन दिइसकेको नेताहरू बताउँछन् ।

महिला खुलातर्फबाट केन्द्रीय सदस्य बनेकी नेतृ भुसाल पनि कोषाध्यक्षको अर्को बलियो आकांक्षी हुन् । सहमहामन्त्री पदकी आकांक्षी उनी अन्तिम समयमा केन्द्रीय सदस्यमात्रै लडेकी थिइन् । पदाधिकारीमा महिलाको संख्या पुर्‍याउने गरी उनलाई कोषाध्यक्ष बनाउनुपर्ने मागसमेत देउवा समूहमै छ ।

चौधरी र श्रेष्ठ विगतदेखि नै कांग्रेसको आर्थिक स्रोत संकलनमा सक्रिय रहेकाले कोषाध्यक्षमा उनीहरूको नामसमेत चर्चामा छ । तर, नेपालका एकमात्रै डलर अर्बपति चौधरी र व्यापारिक पृष्ठभूमिका श्रेष्ठ पहिलो पटक केन्द्रीय सदस्य बनेकाले अहिल्यै कोषाध्यक्ष बन्ने सम्भावना नरहेको एक नेताले बताए । श्रेष्ठ हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत् राज्यमन्त्रीसमेत छन् भने चौधरी पनि मन्त्रीको आकांक्षी थिए । चौधरी र श्रेष्ठ दुवै समावेशीतर्फबाट केन्द्रीय सदस्य बनेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेस प्रवेश गरेका थापा पूर्वसहमहामन्त्री हुन् । उनले पुन: सहमहामन्त्रीमै आकांक्षा देखाएका थिए । तर, अन्तिम समयमा देउवाले थापालाई केन्द्रीय सदस्यमै प्रतिस्पर्धा गर्न लगाए । राप्रपाबाट कांग्रेसमा आएको समूहको प्रतिनिधित्व गर्दै थापा पुन: पदाधिकारीकै आकांक्षी छन् । यसबाहेक अरु पनि धेरै नेताहरूले कोषाध्यक्षका लागि चाहना व्यक्त गरिरहेको नेताहरूको भनाइ छ ।

यसपटक पदाधिकारीमा देउवाले केन्द्रीय पदाधिकारीमा कोषाध्यक्षमात्रै मनोनयन गर्न पाउँछन् । १२ औँ र १३ औँ महाधिवेशनमा भने कोषाध्यक्ष निर्वाचित हुने व्यवस्था थियो, भने उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनित हुने व्यवस्था थियो । पदाधिकारीकै आकांक्षी धेरै जना नेताहरूलाई पछाडि सारेर आफू सभापति बनेकाले देउवालाई कोषाध्यक्ष मनोनित गर्न सहज भने छैन । देउवाले पदाधिकारीका दाबेदार रहेका दर्जनौँ नेताहरूलाई ‘ब्याक’ गराएर उम्मेदवारी तय गरेका थिए ।

विगतमा एउटै पदमा धेरैलाई मनोनयन गर्ने आश्वासन बाँडेका कारण देउवाले समयमै पदाधिकारी मनोनयन गर्न सकेका थिएनन् । ०७२ को फागुनमै भएको १३ औँ महाधिवेशनबाट सभापतिमा चुनिएपनि देउवाले ०७५ मा मात्रै उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनित गरेका थिए । त्यसबेला देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई मनोनित गरेका थिए । यसपटक पनि देउवाले तत्कालै पदाधिकारी मनोनित गर्ने परिस्थिति नरहेको नेताहरू बताउँछन् ।

वर्तमान १३ पदाधिकारीमध्ये देउवालाई प्रस्ट बहुमत छ । उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्रीहरू महालक्ष्मी उपाध्याय, किशोरसिंह राठोर, फरमुल्लाह मन्सुर, महेन्द्र यादव, उमाकान्त चौधरी र भीष्मराज आङ्देम्बे देउवानिकट छन् भने उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डे देउवाइत्तर समूहबाट छन् ।

प्रकाशित : पुस १३, २०७८ १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?