देउवासँग बहुमत, थापा–शर्मासँग ‘जनमत’- समाचार - कान्तिपुर समाचार

देउवासँग बहुमत, थापा–शर्मासँग ‘जनमत’

नेतृत्वलाई डोर्‍याएर पार्टीभित्र उर्लेको जनअपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न जति चुनौती गगन थापा–विश्वप्रकाश शर्मालाई छ, उनीहरुलाई उपेक्षा गरेर अघि बढ्दा सभापति देउवाका लागि पनि उत्तिकै जोखिम हुन सक्छ ।
पार्टीभित्र र बाहिरको ठूलो पंक्तिको मुख्य चासो नेतृत्वमा को छ भन्नेतिर होइन, थापा र शर्माले आगामी दिनमा लिने नीतिप्रति छ ।
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस सभापतिमा दोहोरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार बोलाएको सर्वदलीय बैठकमा पार्टीका महामन्त्री गगनकुमार थापालाई सहभागी गराए । यसबाट उनले युवासँगै हिँड्न खोजेको सन्देश दिन खोजेका छन् । १४ औं महाधिवेशनपछि संख्यात्मक रूपमा देउवालाई पार्टीभित्र सहज देखिए पनि कार्यकारी पदमा निर्वाचित भएका थापालगायतका युवा नेतासँग मिलेर काम गर्न भने सजिलो देखिँदैन ।

महाधिवेशनपछि आन्तरिक शक्ति समीकरणमा देउवा संख्यात्मक रूपमा झनै शक्तिशाली बनेका छन् । केन्द्रीय समितिमा निर्वाचित १ सय ३३ मध्ये दुई तिहाइभन्दा बढी उनी पक्षधर छन् । तर अर्कातिर इतरपक्षबाट उम्मेदवार बनेर उपसभापति बनेका धनराज गुरुङ तथा दुई महामन्त्री थापा र विश्वप्रकाश शर्माले प्राप्त गरेको जनमतका पछाडि पार्टी रूपान्तरणको मुद्दा मुख्य रूपमा जोडिएको छ । त्यसैले देउवासँग पार्टी केन्द्रीय कार्यसमितिमा बहुमत भए पनि यी युवासँग जनमतको बल छ ।

नेता प्रकाशशरण महतले युवा र पुराना सबैलाई समेटेर अघि बढ्दा मात्र पार्टी रूपान्तरण हुन सक्ने बताए । विगतमा जस्तो सहमति र बहुमत दुवै प्रक्रियाबाट अघि बढ्न नसक्ने स्थिति कम्तीमा अब नरहने दाबी उनको छ । सभापतिको कार्यशैली र परम्परागत सोचभन्दा पनि आन्तरिक भागबन्डाको समस्याले विगतमा पार्टीले राम्रोसँग काम गर्न नसकेको उनको बुझाइ छ ।

देउवासँगको प्रतिस्पर्धामा ४० प्रतिशतको हैसियत प्राप्त गरेका शेखर कोइरालाले भागबन्डा नखोज्ने तर योग्यता र क्षमताका आधारमा न्याय हुनुपर्ने बताएका छन् । कोइरालाको यो भनाइले पनि सभापतिलाई काम गर्न सहज हुने बुझाइ महतको छ । ‘पार्टीमा योग्यता, क्षमताअनुसार अघि बढ्नुपर्छ, भागबन्डाका आधारमा होइन, शेखरजीले पनि त्यही भन्नुभएको छ,’ उनले भने, ‘अबको कार्यदिशा समयमा काम गर्ने, भ्रातृ संस्थालाई क्रियाशील बनाउने, भागबन्डालाई अन्त्य गर्दै नयाँ र पुराना सबै साथीलाई जोडेर अघि बढ्ने काम हुन्छ ।’

काम देखाउन र मुख्य कार्यकारी पदमा आएका युवाको चाहनाअनुरूप अघि बढ्न देउवालाई केन्द्रीय कार्यसमितिमा प्राप्त दुई तिहाइ संख्याले मात्र नहुने बुझाइ कोइराला पक्षको छ । पार्टीको परम्परागत घेराभन्दा बाहिरको ठूलो पंक्ति र समाजले समेत युवा नेतृत्वप्रति बढी आशा र भरोसा राखिरहेका छन् । महाधिवेशनका बेला प्रकट भएका गुटलाई अन्त्य गर्न सके पार्टीलाई रूपान्तरण गर्न सकिने अर्का नेता एनपी साउदले बताए । महाधिवेशनको प्रतिस्पर्धामा खडा भएका गुटले झ्याँगिने मौका पायो भने संस्थागत रूपमा पार्टीलाई अघि बढाउन अप्ठ्यारो पर्ने उनको बुझाइ छ ।

उनका अनुसार महाधिवेशनमा खडा भएका गुट अन्त्य गर्ने, विधि, विधान र संस्थागत ढंगले पार्टी सञ्चालन गर्ने, कसैप्रति निषेधको राजनीति नगर्ने, पार्टी केन्द्रीय कार्यसमितिमा निर्णायक बनेर आएका युवालाई नयाँ पद्धति र प्रविधिअनुसार चल्न भूमिका दिनेजस्ता काम हुन सके रूपान्तरणको दिशामा अघि बढ्न सहज हुनेछ । ‘मुद्दा उठाउने काममा मात्रै युवा नेता सीमित रहनु हुन्न, पार्टीलाई रूपान्तरण गर्ने दृष्टिकोण, कार्यक्रमसँगै चुनौती र समस्यासँग जुध्न सक्नुपर्छ,’ साउदले भने, ‘युवाले आफूले आफैंलाई प्रमाणित गर्ने बेला आएको छ ।’

देउवा भाग्यमा बढी विश्वास गर्ने नेता हुन् । पार्टीको १४ औं महाधिवेशन उनका लागि त्यस्तै भाग्य बन्यो । चार वर्षदेखि नेतृत्व परिवर्तनको मुद्दा अघि सार्नेहरू अन्तिम मोडमा देउवालाई नेता मान्ने ठाउँमा आइपुगे । वरिष्ठ नेता रामचन्द्र पौडेल र तत्कालीन महामन्त्री शशांक कोइरालाको भूमिकादेखि प्रकाशमान सिंह र विमलेन्द्र निधिले दोस्रो चरणको निर्वाचनमा गरेको समर्थनले देउवालाई सभापतिमा दोहोरिन मद्दत पुर्‍यायो । नेतृत्व परिवर्तनको मुद्दा बोकेर अघि बढ्नेमा अन्तिममा शेखर एक्लै बने ।

विधि–विधानअनुसार हिँड्नेदेखि पार्टीलाई रूपान्तरण गर्ने मुद्दाको जगमा उभिएकाले युवाले यो सफलता पाएका हुन् । आफूले चाहेजस्तो बाटोमा कांग्रेसलाई अघि बढाउन केन्द्रीय कार्यसमितिको बनोट, नेतृत्वको परम्परागत कार्यशैली र पुरातन सोच उनीहरूका लागि पाइलैपिच्छे चुनौती बन्ने देखिन्छ । त्यसका लागि दुई महामन्त्री एकै ठाउँमा उभिँदा यथास्थितिमा रहन खोज्ने नेतृत्वलाई दबाब पुग्ने ठम्याइ थापाको छ । उनीहरूका लागि पार्टीको केन्द्रीय कार्यसमितिको संख्या प्रतिकूल रहे पनि सबल पक्ष पार्टीको जनाधार छ । पार्टीभित्र र बाहिरको ठूलो पंक्तिको मुख्य चासो नेतृत्वमा को छ भन्नेतिर होइन, थापा र शर्माले आगामी दिनमा लिने नीतिप्रति छ ।

अर्कोतर्फ महामन्त्रीद्वय थापा र शर्माको राजनीतिक प्रतिस्पर्धा र सम्बन्ध भविष्यमा कस्तो हुने भन्ने विषयले पनि धेरैको ध्यान खिचेको छ । नेतृत्वको परम्परागत सोच र शैली बदल्न दुवै महामन्त्री एकै ठाउँमा उभिनुपर्ने बाध्यतामा रहेको थापाले बताए । ‘हामी एक–अर्कालाई प्रमाणित गर्ने ठाउँमा आएका छौं, मिलेरै तागत निर्माण गर्छौं, एकले अर्कालाई परिपूर्णता गर्ने काम गर्छौं,’ सोमबार कान्तिपुर टेलिभिजनको फायरसाइडमा थापाले भनेका छन्, ‘हामी दुई महामन्त्री नयाँ ढंगले समझदारी कायम गरेर अघि बढ्न सक्छौं । मिलेर जान सकियो भने मात्रै सभापतिलाई दबाब पर्छ ।’ केन्द्रीय कार्यसमितिको बनोटले पनि उनीहरूलाई केही चुनौती थपेको छ ।

अर्का महामन्त्री शर्माले विचार र मुद्दा साझा रहेको र गन्तव्य एउटै भएको हुनाले असमझदारी नहुने दाबी गरे । ‘महामन्त्री हाम्रो व्यक्तिगत जित होइन, मेरो हकमा त गुटको जित पनि होइन, यो पार्टी रूपान्तरणको प्रारम्भ हो, गगन र मप्रति जुन अपेक्षा छ, त्यसलाई पूरा गर्न हामी हल बाँधिएरै अघि बढ्छौं,’ शर्माले कान्तिपुरसँग भने, ‘हाम्रा साझा स्वार्थ र मुद्दा नै पार्टीको रूपान्तरणसँग जोडिएका छन् । त्यसलाई पूरा गर्ने हकमा हाम्रो यात्रामा कुनै समस्या आउँदैन ।’

नेतृत्वलाई डोर्‍याएर पार्टीभित्र उर्लेको जनअपेक्षा पूरा गर्ने दिशामा अघि बढ्न जति चुनौती थापा–शर्मालाई देखिन्छ, उनीहरूलाई उपेक्षा गरेर अघि बढ्दा सभापति देउवाका लागि पनि उत्तिकै जोखिम हुने देखिन्छ । देउवाप्रति जनधारणा राम्रो छैन र उनको विगत पनि सुखद छैन । राजनीतिक घटनाक्रम र परिस्थितिले उनी पाँच पटकसम्म प्रधानमन्त्री बन्न सफल भए पनि सम्झनलायक काम उनीबाट भएको छैन । संसदीय राजनीतिमा विकृति र विसंगति भित्र्याएको दोष देउवामाथि लाग्दै आएको छ । विगतका नकारात्मक ‘ट्र्याक रेकर्ड’ लाई सच्याउन देउवाका लागि पनि यो अन्तिम मौका हो । स्वास्थ्यले साथ दिए पनि देउवालाई विधानले अर्को पटक सभापति हुनबाट बन्देज लगाएको छ । कांग्रेसको विधानमा एकै व्यक्ति दुई पटकभन्दा बढी सभापति हुन नपाउने व्यवस्था छ ।

२०६२/६३ अघिको कालखण्डमा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको व्यक्तित्व सुखद थिएन । १२ बुँदे सम्झौतामार्फत ‘जनयुद्ध’ मा रहेको माओवादीलाई शान्ति प्रक्रियामा सफलतापूर्वक अवतरण गराएको घटनाले राजनीतिक उत्तरार्द्धमा कोइराला महानायकमा परिणत भए । त्यसैगरी देउवालाई आफ्नो विगतको खराब इतिहास सच्याउने मौका एकपटक फेरि भाग्यले दिएको छ ।

नेतृत्व परिवर्तन हुन नसके पनि थापा र शर्माको उदयले दिएको सन्देश भनेको पार्टीको परिवर्तन र रूपान्तरण नै हो । त्यसलाई बल दिनका लागि महामन्त्रीपछिको सहमहामन्त्रीमा पनि अधिकांश युवा अनुहार आएका छन् । कांग्रेसले पहिलोपल्ट समावेशी समूहबाट सहमहामन्त्री चुनिने व्यवस्था गरेको थियो, जसले युवालाई नेतृत्वमा आउने ढोका खोल्यो ।

थापा–शर्मापछिको पुस्ताले पनि यसै पटक केन्द्रीय कार्यसमितिमा प्रवेश पाएको छ । केन्द्रीय कार्यसमितिमा पहिलो प्रवेश पाएका नेविसंघका अध्यक्ष राजीव ढुंगाना, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, संघका पूर्वअध्यक्ष नैनसिंह महर, पूर्वमहामन्त्री कुन्दन काफ्ले र पत्रकार पृष्ठभूमिका अजयबाबु शिवाकोटी पछिल्लो पुस्ताका हुन् । पछिल्लो पुस्ताको प्रवेशसँगै कांग्रेस केन्द्रीय कार्यसमितिमा चार पुस्ताको प्रतिनिधित्व छ । तर गुटगत प्रतिस्पर्धाका कारण ठेकेदार, व्यापारी, डन पृष्ठभूमिका व्यक्ति पार्टीको केन्द्रीय तहमा कब्जा जमाउँदै जाने, सच्चा र वास्तविक कार्यकर्ता विस्तार पाखा लाग्दै जाने परिदृश्य पनि कांग्रेसमा देखिन थालेको छ । उद्योगपति विनोद चौधरी, व्यवसायी उमेश श्रेष्ठ, ‘डन’ गणेश लामा, ठेकेदारहरू बहादुरसिंह लामा, मोहन आचार्य, जिपछिरिङ लामालगायत समेत महाधिवेशनबाट स्थापित भएका छन् ।

पदाधिकारीदेखि सदस्यसम्म युवाको प्रवेशपछिको पृष्ठभूमिमा ४ लाख ७० हजार क्रियाशील सदस्यलाई शतप्रतिशत बढाउनु पुर्‍याउनु मुख्य कारण बन्न पुगेको छ । सदस्यता खुला बनाउने हो भने नेतृत्व तहमा युवाको प्रवेश अझै बढ्ने नेताहरू बताउँछन् । नेतृत्वमा ७६ वर्षको अनुहार भए पनि त्यसपछिका पदमा युवाको हस्तक्षेपले कांग्रेस बुढाहरूको पार्टी हो भन्ने अवस्थाबाट अब तन्नेरीको पार्टी हो भन्ने ठाउँमा पुगेको छ ।

नेतृत्वमा युवाको प्रवेशसँगै ७० र त्यस आसपासमा पुगेका दोस्रो पुस्ताका नेता पाखा पर्ने परिस्थिति बन्दै गएको छ । सभापतिको उम्मेदवारका रूपमा आफूलाई स्वीकार नगरेपछि तटस्थ भूमिकामा रहेका वरिष्ठ नेता पौडेल पार्टीभित्रको आन्तरिक शक्ति समीकरणमा समेत पाखा परेका छन् । उनले केन्द्रीय सदस्यमा पनि प्रतिस्पर्धा गरेनन् । अभिमत पनि प्रकट गरेनन् । उनको स्थान महाधिवेशनबाट प्राप्त ४० प्रतिशत हैसियतसहित शेखरले लिएका छन् । विगत ६ वर्षदेखि कांग्रेसमा कोइराला समूह भन्ने शब्दावली प्रयोगमा थिएन । सुशील कोइरालाको निधनपछि कोइराला विरासतका रूपमा रहेको समूहको नेतृत्व पौडेलले गर्दै आएका थिए । उनको तटस्थ भूमिकाकै कारण बाहिरै बसेर टिमको नेतृत्व गर्ने स्थानसमेत उनले गुमाएका छन् ।

महाधिवेशनपछि बीपी–पुत्र शशांकको स्थानसमेत साँघुरिएको छ । महामन्त्रीका रूपमा निर्वाह गरेको कमजोर भूमिकाकै कारण नेतृत्व लिने अवसर उनले गुमाए । आफू पछि हटे पनि कोइरालाको विरासत थेग्ने भूमिकामा उनी केन्द्रमै रहन सक्थे । तटस्थ बसेर उनले पनि त्यो निर्णायक भूमिका गुमाएका छन् । त्यसले नेतृत्वमा पुनःस्थापित हुन उनलाई कठिन छ ।

१३ औं महाधिवेशनदेखि तेस्रो धार निर्माण गरेर नेतृत्व लिने आकांक्षासहित अघि बढेका नेता कृष्णप्रसाद सिटौला पनि यस महाधिवेशनबाट करिब ‘रिटायर्ड’ हुने मोडमा पुगेका छन् । आफू बाहिर बसेरै उनले युवा नेता प्रदीप पौडेललाई महामन्त्रीमा अघि बढाएका थिए । दोस्रो तहमा रहेका नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्यलगायत नेता अब राजनीतिक जीवनको उत्तरार्द्ध मोडमा छन् । यद्यपि यस पटक उनीहरू केन्द्रीय सदस्यमा जितेका छन् । थापा–शर्मालाई चुनौती दिएर अघि बढ्न यसै पटक सभापतिका प्रत्याशी बनिसकेका प्रकाशमान सिंह र विमलेन्द्र निधिका लागि पनि शक्तिमा उदाउन चुनौती छ ।

आगामी पाँच वर्षपछि देउवाको विरासत धान्ने नेता उक्त समूहमा को हुने भन्ने मुख्य प्रतिस्पर्धा सुरु भइसकेको देखिन्छ । सभापतिको दोस्रो चरणको निर्वाचनमा निधिले देउवालाई सघाएर पुनः उक्त समूहबाटै नेतृत्व लिने हुन् कि भन्ने आशंका थियो । तर देउवापछि विरासत थेग्न अघि बढिरहेका नेताले निधिलाई फर्कन नदिने रणनीति बनाइरहेको संकेत प्रदेश २ को अधिवेशनले दिएको छ । निधिले देउवाको समर्थनमै प्रदेश २ मा समीकरण बनाउन चाहेका थिए तर देउवा समूहभित्रको दबाबले त्यस्तो समीकरण बन्न दिएन । बाध्य भएर निधिले शेखर कोइरालासँग समीकरण बनाए ।

‘सबै पदाधिकारी निर्वाचित गर्दा पार्टी कस्तो ढंगले अघि बढ्छ भन्ने मुख्य चासो कांग्रेसजनमा छ । संस्थागत रूपमा चल्न सकेन भने पदाधिकारीको निर्वाचन प्रक्रिया र पद्धतिमाथि नै प्रश्न उठ्न सक्छ,’ नेता साउदले भने, ‘विधानले पदाधिकारीलाई काम, कर्तव्य र अधिकार तोकेको छ । कतिपय अधिकार र भूमिका सभापतिले तोक्न सक्नुहुन्छ । संस्थागत रूपमा पार्टी चल्न सक्यो भने हामी सबै सफल हुन सक्छौं । चल्न सकेन भने पार्टी पुरानै अवस्थामा फर्कने अवस्था बन्छ ।’

प्रकाशित : पुस ९, २०७८ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्

समुद्रमा ज्यान गुमाउँदै नेपाली

सामुद्रिक जहाजमा सुरक्षा गार्ड रहेका दुई नेपालीको हिन्द महासागरमा मृत्यु 
जनकराज सापकोटा

काठमाडौँ — हिन्द महासागरअन्तर्गत अन्तर्राष्ट्रिय सामुद्रिक क्षेत्रमा माछा मार्ने डुंगामा कार्यरत दुई नेपालीको तीन दिनको अन्तरमा मृत्यु भएको खुलेको छ । सुरक्षा गार्डका रूपमा कार्यरत उनीहरूको असोजको पहिलो साता मृत्यु भएको हो ।

मृतकका एक परिवारले प्रहरीमा दिएको उजुरीका आधारमा घटना सार्वजनिक भएको हो । उजुरीका आधारमा उनीहरूलाई त्यहाँसम्म पुर्‍याउने कविराज कटुवाल पक्राउ परेका छन् ।

मृतकमध्येका एक भक्तपुर राधेराधेनजिकै पसल गरी बस्ने अवकाशप्राप्त नेपाली सैनिक ४६ वर्षीय उत्तरबहादुर कार्की हुन् । भक्तपुर थिमि–३ का कटुवाल पूर्वसैनिक र प्रहरीलाई अन्तर्राष्ट्रिय जल क्षेत्रमा माछा मार्ने र कार्गो गर्ने जहाजको सुरक्षा गार्डका रूपमा पठाउने काम गर्थे । उनले नै मलेसियन कम्पनीबाट श्रम स्वीकृति निकालेर कार्कीलाई काठमाडौंबाट उडाएका हुन् । मामा नाता लगाएर कटुवालले दुई लाख रुपैयाँ लिएका थिए । मृतक कार्कीका परिवारका सदस्यका अनुसार कटुवालले एकैचोटि करिब २५ जनाजति पूर्वसैनिक र प्रहरीलाई सामुद्रिक जहाजमा सुरक्षा गार्डको कामका लागि उडाएका थिए ।

महिनौंसम्म समुद्रमा नै रहनुपर्ने र जहाजबाहिर उभिएर सुरक्षा दिनुपर्ने जोखिमपूर्ण काम गर्दागर्दै कार्की बिरामी परे । भतिज कमल कार्कीका अनुसार सुरुमा उनको खुट्टा सुन्निएको थियो । तर कम्पनीले समयमै उपचारको पहल गरेन । समुद्रको चिसो र खानपान नमिलेका कारण मात्रै होइन, समयमै उपचार नपाउँदा उनको बिमार झन् बल्झिँदै गयो । बिमारले चाप्दै लगेपछि काका २ सातासम्म बेहोस जस्तै भएको कमलले बताए । सोही जहाजमा रहेका जितबहादुर नामका अर्का नेपालीले एजेन्ट कटुवाललाई बिरामीलाई उद्धार गर्न भन्दै खबर पठाएका थिए । तर उनले उद्धारको पहल गरेनन् । असोज २ मा हिन्द महासागरमा कार्कीको मृत्यु भयो ।

विदेशमा नेपालीको गुमनाम मरण

परिवारका सदस्यका अनुसार मृत्युपछि सामान्य मानवीय भावनासमेत नदेखाई डुंगा चालकहरूले शव जहाजमै राखेर कैयौं दिनसम्म माछा मार्ने काम गरिराखे । ८ दिनपछि बल्ल उनीहरूले शवलाई सोमालियाको सामुद्रिक तटमा ल्याइपुर्‍याए । त्यतिबेलासम्म उनको शव सडिसकेको थियो ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार शव नेपाल ल्याउन भन्दै एजेन्ट कटुवालले परिवारसँग ४० लाख रकम मागेका थिए । तर शव ल्याउन सक्ने अवस्था नभएपछि उतै प्रक्रिया मिलाएर सद्गत गरियो । त्यसपछि पीडित परिवारले कटुवालविरुद्ध ब्युरोमा किटानी जाहेरी दिएका थिए । ब्युरो स्रोतका अनुसार नेपाली सेनाका भगौडा कटुवालले पूर्वसेना तथा प्रहरीलाई मलेसियन कम्पनीमार्फत सामुद्रिक जहाजमा सुरक्षा गार्डका रूपमा पठाउने गरेका थिए । कम्पनीले कामदारलाई दिने तलबबाट पनि हरेक महिना केही सय डलर कमिसन काटेर कटुवालले लिने गरेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए ।

कार्कीको मृत्युको केही दिनपछि असोज ५ मा हिन्द महासागरको सोही सामुद्रिक क्षेत्रको अर्को पानी जहाजमा सुरक्षामा खटिएका सोलखुम्बुका ३६ वर्षीय ओमबहादुर खत्रीको मृत्यु भयो । सोही जहाजमा काम गर्ने अर्का नेपाली बिरामी अवस्थामा नेपाल फर्केपछि मात्रै घटनाबारे जानकारी भएको हो । चितवन पर्साका मीनबहादुर गुरुङसहितका ११ जना गत फागुन ३ गते काठमाडौंबाट दुबई हुँदै दक्षिण अफ्रिकाको सानो टापु देश कोमोरोसको सामुद्रिक तटमा पुगेका थिए । सोही टोलीमा थिए, खत्री पनि ।

अदालतले सजाय तोकेका दलाललाई प्रहरीले छाड्दा

कान्तिपुरसँगको कुराकानीमा गुरुङले आफू तीन लाख खर्चेर माछा मार्ने सामुद्रिक जहाजको सुरक्षा गार्डका रूपमा पुगेको बताए । उनलाई कार्गो जहाजको सुरक्षामा काम गर्ने भने पनि माछा मार्ने जहाजको सुरक्षा गर्न खटाइयो । उनका अनुसार स्थलमार्गबाट समुद्रमा जहाज हिँडेपछि महिनौंसम्म जमिन देख्न पाइँदैन । सामुद्रिक तस्करबाट जहाजको सुरक्षा गर्न र मारेका माछा जोगाउन उनीहरू हरदम डुंगाको बाहिरपट्टि हतियारसहित सतर्क बसिराख्नुपर्छ । उनीसँग उक्त जहाजमा खत्रीबाहेक चितवनकै पूर्णबहादुर तामाङ र सिन्धुपाल्चोकका रामहरि खत्री पनि थिए ।

कसले पुर्‍यायो नेपाली युवालाई कोलम्बिया ?

जहाजमा काम गर्दागर्दै खुट्टा सुन्निनेलगायतका समस्या देखिएपछि खत्रीलाई उपचार गर्न जहाज सामुद्रिक तटीय क्षेत्रमा जाने तयारी गरिरहेको थियो । गुरुङले भने, ‘ओम मेरै काखमा थिए । उनलाई लिएर फर्किंदै गर्दा बाटोमै मृत्यु भयो ।’ मृत्युको चार दिनपछिमात्रै उनको शवलाई सोमालियाको तटीय क्षेत्रमा ल्याइएको गुरुङले बताए । मानव बेचबिखन ब्युरोका अनुसार खत्रीका परिवारका सदस्यको सक्रियतामा शव नेपाल ल्याएर दाहसंस्कार गरिसकिएको छ । तर परिवारका सदस्यले कसैविरुद्ध किटानी जाहेरी भने दिएका छैनन् ।

आफूसँगै काम गर्ने सहकर्मीको मृत्युपछि गुरुङ पनि मानसिक रूपमा भयभीत बनेका थिए । उनले भने, ‘मेरो पनि खुट्टा सुन्निने र चिटचिट हुनेजस्तो समस्या देखा पर्न थालेको थियो ।’ बिरामी भएकाले छिटो उद्धार गर्न बारम्बार भनेकाले ६ दिनपछि उनको उद्धार प्रक्रिया सुरु गरियो । उनका अनुसार एक दिन लगातार ११ घण्टा, अर्को जहाजमा ९ घण्टा र त्यसपछि सानो जहाजमा आधा घण्टाको यात्रापछि मात्र उनले सोमालियाको सामुद्रिक तटीय क्षेत्रमा जमिन स्पर्श गर्न पाए । सोमालियाको राजधानी मोगादिसुको एक अस्पतालमा चार दिनसम्म उपचार गरेर १८ कात्तिकमा उनी कतार हुँदै नेपाल फर्किएका हुन् ।

उनका अनुसार अहिले पनि सामुद्रिक जहाजमा सयौं नेपाली सुरक्षा गार्डका रूपमा कार्यरत छन् । तीमध्ये केही उच्च सुरक्षा जोखिम क्षेत्रमा पनि छन् । कम्पनीले तीन महिनाका लागि भनेर काठमाडौंबाट उडाए पनि उनलाई बीचमै समय थपेर ६ महिना काममा लगाइएको थियो । ‘मासिक झन्डै ६० हजार रुपैयाँ थाप्न ज्यान नै जोखिममा परेको सम्झिँदा अहिले पनि तर्सिन्छु,’ उनले भने, ‘काखैमा सँगै काम गर्ने साथीको मृत्यु भएको घटना सम्झिन नपरोस् भनेर त्यहाँ छँदा खिचेका सबै फोटो डिलिट गरिदिएँ ।’

प्रकाशित : पुस ९, २०७८ ०८:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×