माओवादीको कार्यदिशा : समाजवादको नेपाली बाटो- समाचार - कान्तिपुर समाचार

माओवादीको कार्यदिशा : समाजवादको नेपाली बाटो

हेटौंडा महाधिवेशनले समृद्धिका लागि ‘उत्पादन ब्रिगेड’ बनाउने भनेको थियो तर गाउँ–गाउँमा उत्पादन थाल्ने अभियान कार्यान्वयन हुन सकेन । यसपालिको कार्यदिशा कार्यान्वयन गर्नु पनि ‘फलामको चिउरा चपाउनु’ जस्तै हुनेछ । खासगरी नेता–कार्यकर्ताको कार्यशैली सुधार गर्ने काम चुनौतीपूर्ण छ ।
गंगा बीसी, जयसिंह महरा

काठमाडौँ — माओवादीको राजनीतिक र वैचारिक कार्यदिशा ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ पारित भएको छ । राजधानीमा जारी आठौं महाधिवेशनले यसअघि अपनाउँदै आएको ‘एक्काइसौं शताब्दीको जनवाद’ लाई विस्थापित गरी नयाँ कार्यदिशा पारित गरेको हो । 

दाहालले आयोजक तथा प्रतिनिधिबाट प्राप्त सुझाव समावेश गरी आवश्यक परिमार्जन गर्ने प्रतिबद्धता जनाउँदै आफ्नो राजनीतिक प्रतिवेदन पारित गरिदिन आग्रह गरेका थिए । उनको प्रतिवेदन शुक्रबार बन्दसत्रले पारित गरेको छ । हेटौंडा महाधिवेशन (सातौं) ले एक्काइसौं शताब्दीको जनवादको कार्यदिशा अघि सारेको थियो ।

नयाँ कार्यदिशाले मुख्यगरी समाजवादको आधार तयार गर्ने र नेपाली मौलिकताको समाजवाद निर्माण गर्ने नीति लिएको छ । ‘तत्कालीन दृष्टिले पार्टीको ध्यान शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटोबाट समाजवादको आधार तयार पार्ने कुरामा केन्द्रित हुनेछ, त्यसकारण आज पार्टीको मूल कार्यनीति समाजवादउन्मुख समृद्धि भनिएको हो, समाजवादउन्मुख समृद्धि भन्नाले स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको नीति, सामाजिक न्यायसहित राष्ट्रिय पुँजीको विकास प्रक्रियालाई बुझ्नुपर्छ,’ नयाँ कार्यदिशामा छ, ‘वर्गसंघर्षको विकार र राजनीतिक शक्ति सन्तुलनको आजको ठोस अवस्थामा समाजवादी क्रान्तिको रणनीतिलाई सेवा गर्नु, तुलनात्मक रूपले लामो समय जाने पार्टीको मूल कार्यनीति समाजवादउन्मुख सामाजिक न्यायसहितको समृद्धि हासिल गर्नु हो ।’

यो कार्यदिशामा समाजवादी आर्थिक आधार तयार पार्न समाजवादउन्मुख आर्थिक नीति (सामाजिक न्यायसहित सहकारी) सार्वजनिक र निजी क्षेत्रको समन्वयमा अगाडि बढाउन ठोस नीति, योजना र कार्यक्रमको विकास गर्नु जरुरी भएको उल्लेख छ । ‘नेपालमा आएको परिवर्तनको मौलिक विशेषताका कारण समावेशी समानुपातिक संघीय लोकतान्त्रिक गणतन्त्र कुनै परम्परागत संसदीय व्यवस्था होइन, अपितु कम्युनिस्ट पार्टीको मुख्य नेतृत्वमा स्थापित भएको समाजवादउन्मुख राजनीतिक प्रणाली हो,’ कार्यदिशामा छ, ‘यही मूल विशेषताका कारण आजको नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धा र वैधानिक बाटोबाट समाजवादको आधार निर्माण सम्भव छ भनिएको हो । भोलि वर्गसंघर्ष र राजनीतिक संघर्षको विकास प्रक्रियाले प्रतिक्रान्तिको मोड लियो भने हामीले पक्कै पनि आफ्नो नीति र संघर्षको रूप बदल्नुपर्ने हुन्छ ।’

हेटौंडा महाधिवेशनले समृद्धिका लागि उत्पादनमा जोड दिएको थियो तर ‘उत्पादन ब्रिगेड’ बनाएर गाउँगाउँमा उत्पादन थाल्ने अभियान कार्यान्वयन हुन सकेन । यो महाधिवेशनले लिएको कार्यदिशा पनि असफल भए माओवादी पार्टीमा ठूलो संकट आउने देखिन्छ । माओवादीका लागि यो कार्यदिशा कार्यान्वयन गर्नु ‘फलामको चिउरा चपाउनु’ जस्तै हुनेछ । खासगरी नेता–कार्यकर्ताको कार्यशैली सुधार गर्ने काम चुनौतीपूर्ण छ ।

माओवादीले विगतमा उठाउँदै आएका निम्नवर्गको जीवनस्तर उठाउने, उत्पादन वृद्धि गर्ने, परिवर्तनको एजेन्डामा सम्झौता नगर्ने विषय भुलेकाले यो नयाँ कार्यदिशा व्यवहारमा उतार्न सजिलो छैन । नवधनाढ्यमा रूपान्तरण भएका ‘सर्वहारा’ नेताको कार्यशैली सामान्य नागरिकको हितका लागि कामयावी हुनेमा विश्वस्त बन्ने आधार तयार भइसकेको छैन । दाहालले भनेजस्तो त्यो व्यवहारबाटै पुष्टि हुनेछ ।

प्रतिवेदन पारित हुनुअघि दाहालले पार्टी सुधारका लागि आफू हाल उपभोग गरिरहेको सुविधा त्यागेर झुपडीमा बस्न तयार रहेको बताएका छन् । ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक दस्ताबेजमा उठेका प्रश्नको उत्तर दिँदै उनले आवश्यक परे गाउँ फर्कने बताएका हुन् । ‘कतिपय मान्छेलाई लाग्छ प्रचण्ड फेरि झुपडीमा जान सक्ला त ? काठमाडौंको यो रमझम छोड्न सक्ला त ? यो चिल्लो गाडी छोड्न सक्ला त ? आफैं व्यक्तिवादी भइसक्या छ, यो गर्न सक्ला त भन्छन् ?’ उनले बन्दसत्रमा भने, ‘तर यो हाउसको अगाडि उभिएर के भन्न चाहन्छु भने जरुरी पर्ने कुनै दिन यो दस्ताबेज कार्यान्वयनको नेतृत्व मैले नै गर्नुपर्छ भन्ने ठहर गरेरै दस्ताबेज लेखिएको हो । त्यसैकारण जरुरी पर्दा मलाई कुनै गाह्रो छैन गाउँघरमा जान, मजदुरहरूसँग गएर बस्न । जरुरी पर्दा जस्तोसुकै दुःखकष्ट, त्याग, बलिदान गर्न म तयार छु ।’

उनले ललितपुर खुमलटारमा आफू बस्दै आएको घर छोड्न कुराकानी भइरहेको बताए । ‘हिजो परिवारमा के सल्लाह भयो भने अब यो घर पनि छोड्ने हो, हामी त गाउँतिर जाने तयारी गरौं भन्ने भएको छ,’ उनले भने, ‘म केही महिना रोल्पा गएर बसें भने के हुन्छ होला नेपालमा भन्ने लागेको छ । हामी त्यस्ता कुरा गरिराख्या छौं ।’

दाहालले आफ्नो पार्टी बिग्रिएको स्वीकार गरी सुधारको संग्राममा लाग्ने बताए । उनले आफ्नो गल्ती आफैं स्वीकार गर्नुलाई कमजोरीका रूपमा नलिने बन्दसत्रमा बताए । ‘हामी बिग्रेकै, बिग्रेको हो भन्ने कुरालाई दह्रोसँग भन्न सक्ने आँट भएको पार्टी पनि यही माओवादी केन्द्र नै हो,’ उनले भने, ‘विचलन आएको छ, धेरै खालका विसंगति छन्, हामी व्यक्तिवादी भएका छौं, हामी कुरा क्रान्तिका गर्छौं व्यवहार प्रतिक्रान्तिको हुँदै गएको छ भनेर दस्ताबेजमै लेखेर त्यसका लागि जिम्मेवार प्रचण्ड नै हो भनेर प्रचण्डले नै भन्ने खालको तपाईंले देख्नुभएको छ ?’

माओवादी पार्टी पुनर्निर्माण गर्ने अन्तिम अवसर भएको उल्लेख गर्दै उनले आवश्यक परे बलिदानका लागि तयार रहन प्रतिनिधिलाई निर्देशन दिए । ‘यो अन्तिम अवसरजस्तै लागेको छ, मेरो जीवनको उमेरको हिसाबले पनि म उत्तरार्द्धतिर चल्दै छु तर सक्रियताको हिसाबले म आफ्नो ठाउँबाट पूरै सक्रिय जीवन बिताइराखेकै छु बिहानदेखि बेलुकासम्म,’ उनले सुधारवादी बाटोमा गएकोप्रति व्यंव्य गरे, ‘सुधारवादी हो भनेको हाम्रो पार्टी आन्दोलन, एकता र संघर्षको प्रक्रियामा एउटा छलाङमय छ । जरुरी पर्दा आफ्नै टाउकोमा आगो लगाएर हिँड्न सक्ने, जरुरी पर्दा सम्पूर्ण कुरा त्याग गरेर जनताका लागि, वर्गका लागि, क्रान्तिका लागि कीर्तिमान कायम गर्न सक्ने पार्टीका रूपमा हामी सबैले यसलाई गर्व गरेका छौं ।’

सशस्त्र युद्ध र शान्ति प्रक्रियापछि आएको परिवर्तन संस्थागत गर्ने मुख्य चिन्ता आफ्नो भएको उनको भनाइ छ । ‘सबैभन्दा बढी माओवादी आन्दोलनको निर्माण, जनयुद्धको विचार, रणनीति र कार्यनीतिको निर्माण, जनयुद्धलाई १० वर्षसम्म लडेर एउटा राजनीतिक परिवर्तनमा रूपान्तरण गर्ने प्रमुख जिम्मेवारी तपाईंहरूले मलाई दिएको नाताले सबैभन्दा बढी चिन्ता त मलाई छ नि,’ उनले थपे, ‘पूरै सफल पार्न पाएको भए, पूरै काठमाडौं आएर कब्जा गर्न पाएको भए सबैभन्दा खुसी र गर्व गर्नेमध्येमा म पनि पर्थें नि त । यो परिवर्तन जसरी भयो, नेपाली मौलिकताअनुसार भयो । यसलाई स्वीकार्न अलिकति पनि हिच्किचाउनु हुँदैन ।’

‘जस्तोसुकै संघर्ष गर्न तयार’

राजनीतिक दस्ताबेजको थप व्याख्या गर्दै दाहालले संविधानले दिएका अधिकार खोस्न खोजे कडा संघर्ष गर्ने चेतावनी दिए । ‘यो महाधिवेशनपछि परिवर्तनको स्वामित्व मुख्य रूपमा लिन बिल्कुल हिचकिचाउनु हुँदैन, यसलाई खोस्न खोजियो भने हामी जे पनि गर्न तयार छौं भन्न छोड्नुभएन । हामीले यो देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदाय उनको हक–अधिकार पहिचानका निम्ति भनेर लडेको हो,’ उनको चेतावनी थियो, ‘तिनको अधिकार खोस्न खोजियो भने हामी जस्तोसुकै संघर्षका लागि पनि तयार छौं भन्ने कुरा यो हलबाट निक्लेपछि हामीले गाउँ–गाउँ, जिल्ला–जिल्ला, टोल–टोलमा आक्रामक रूपमा भन्नुपर्नेछ । त्यसपछि मात्रै यसको स्वामित्व अपनत्व लिएको ठहरिन्छ ।’

उनले यो महाधिवेशन पार्टीलाई क्रान्तिकारी विचारले लैस गर्ने र क्रान्तितिर नै लैजाने ऐतिहासिक पहलकदमी भएको बताए । ‘यो केही नै होइन, गफ दिएको प्रचण्डले भनेको पनि सुनें मैले, हो, २०५२ सालमा गफै दिएर जनयुद्ध भएको हो,’ उनले प्रतिवाद गरे, ‘२०६३ मा शान्ति सम्झौता, १२ बुँदे सम्झौता गफै दिएर भएको हो, संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान पनि गफै दिएर भएको हो । अब गफै गरेर हेर्नुहोला, नेपालमा अर्को परिवर्तन हुन्छ ।’

चुनावलगत्तै विशेष महाधिवेशन

दाहालले आफूले प्रस्तुत गरेको राजनीतिक दस्ताबेजले आगामी कार्यदिशाको सुरुवात गरेको उल्लेख गर्दै यसलाई ठोस गर्न विशेष महाधिवेशनमा जाने बताए । माओवादीले राष्ट्रिय सम्मेलनलाई हठात् महाधिवेशनमा रूपान्तरण गरेको थियो । ‘स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनाव आइहाल्यो, त्यसलगत्तै विशेष महाधिवेशन गरेर यसलाई पूर्णता दिनुपर्छ,’ उनले बन्दसत्रमा भने, ‘विशेष महाधिवेशन भनेको संगठनको रूपान्तरण गर्न र विचारलाई पनि अझ विकसित गर्नका लागि हामीले चुनावपछि एउटा अधिवेशन त गर्नुपर्छ । यो नै टुंगियो, यो अब सबै पूर्ण भयो भन्ने हाम्रो भनाइ छैन । एउटा ठूलो ऐतिहासिक सुरुवात वैचारिक विकासबाट भयो । अब चुनावपछि हामी विशेष अधिवेशन गरेर अझ त्यसलाई विकसित गर्नेछौं ।’

लिपुलेक समेट्ने

दाहालले राजनीतिक दस्ताबेजमा भारतले अतिक्रमण गरेको लिपुलेक र कालापानीको विषय समेट्ने बताए । ‘चुच्चे नक्सा र जमिनको बारेमा बोल्नुपर्‍यो भने बोलिन्छ, त्यो छुटेछ, त्यो राखिन्छ,’ उनले थपे, ‘एकाधिकार पुँजीवादका बारेमा सुझाव आएका छन् । भारत पनि एकाधिकारवादी पुँजीवादी चरित्रकै हो भन्ने कुरा र त्यसको विशेषता पनि राखिन्छ । त्यसमा टेन्सन लिन परेन ।’

उनले चीनको समाजवादबारे थप टिप्पणी गर्नु आवश्यक नभएको बताए । ‘हाम्रो देशको राजनीतिक संघर्ष र शक्ति सन्तुलनमा हामीले कसैलाई कटु शब्दमा के भन्ने के नभन्ने कुरा विचारणीय छ, यहाँ बेस्सरी भन्दिम् जानेजति क्रान्तिकारी कुरा ठोसेर दस्ताबेजलाई महान् क्रान्तिकारी बनाइदिऊँ भन्ने तरिकाले सोच्न हुने स्थिति आज विश्वमा छैन,’ उनले प्रतिनिधिलाई सम्झाए, ‘बुझ्नुहोला, नजान्या हो र हामीले ? नजानेर नबुझेर नलेख्या हो र ? हामी सबैले बुझ्या छौं । अहिले चीनलाई पनि जिस्क्याएर फाइदा छ र हामीलाई ? हामी जुन ठाउँमा, परिस्थितिमा छौं, त्यसकारण चिनियाँ कम्युनिस्ट पार्टी हो, के चिनियाँ विशेषताको समाजवाद भइराख्या छ त्यहाँ ?’ उनले विश्वमा ‘कम्युनिस्टहरूको साझा फोरम बनाउनेतिर जाने’ बताए ।

केन्द्रीय समितिमा बस्न चाहनेहरूले ‘तँछाडमछाड’ गरिरहेका बेला दाहालले केन्द्रीय सदस्यले तीन महिना गाउँ गएर काम गर्नुपर्ने व्यवस्था ल्याउने बताए । ‘अब केन्द्रीय समितिमा तपाईं, हामी को पर्छौं, को पर्दैनौं मलाई पनि थाहा छैन अहिले त । को–को परिन्छ तर त्यो केन्द्रीय समितिले दुःख पाउनेवाला छ है । अहिलेको जस्तो केन्द्रीय समिति किन हुनेवाला छैन भने त्यो काठमाडौं बस्न नपाउने हुन्छ,’ उनले भने, ‘यो दस्ताबेजले अब केन्द्रीय सदस्यलाई काठमाडौं बस्न दिँदैन ।’

फरक मत समेट्ने

अध्यक्ष दाहालले सुझाव र जिज्ञासामाथि जवाफ दिने क्रममा स्थायी कमिटी सदस्य राम कार्कीले राखेको पूरक प्रस्तावलाई स्वीकार गरेर दस्ताबेजमा समावेश गर्ने निर्णय गरेको र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले राख्नुभएको भिन्न मतलाई भिन्न मतकै रूपमा स्विकारेको जानकारी गराएका थिए । दस्ताबेजमाथि २४ वटै समूहगत छलफलबाट आएका निष्कर्षलाई दस्ताबेजमा समेट्ने उनको भनाइ थियो ।

प्रकाशित : पुस १७, २०७८ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्

सफलताका सारथि

महिला भलिबल प्रशिक्षक जगदीश भट्ट भन्छन्– भलिबलमा लागेर आर्थिक अवस्था सुधार गर्न नपाउँदा अनि परिवारसँग टाढा हुनुपर्दाको पीडा यस्तै सफलताले भुलाइदिन्छ र फेरि अगाडि बढ्न उत्साहित हुन्छु
कुशल तिमल्सिना

काठमाडौँ — सक्रिय खेलाडी जीवनकै क्रममा प्रशिक्षकको डिप्लोमा कोर्स गर्न भारतको पटियाला जाँदा जगदीश भट्टको सपना ठूलो थिएन, मात्र मानिसलाई स्वस्थ र अनुशासित बनाउन प्रोत्साहित गर्ने । जुनसुकै पेसामा रहे पनि मानिसका लागि मानसिक स्वास्थ्य र शारीरिक तन्दुरुस्ती अत्यावश्यक तत्व हो भनेर बुझाउनु थियो । त्यसका लागि उपयुक्त माध्यम खेलकुद नै रह्यो ।

प्रशिक्षकका रूपमा राष्ट्रिय खेलकुद परिषद्को जिम्मेवारी सम्हालेको साढे दुई दशकपछि उनै भट्ट निरन्तर आफ्नो मिहिनेतको फल लिँदै छन् । लामो प्रशिक्षण जीवनमा उनको सफलताको ग्राफ क्रमशः उकालो लाग्दै छ । नेपालले एसियन सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबलको उपाधि रक्षा गरेपछि त उनी भलिबलका सर्वाधिक सफल प्रशिक्षक बनेका छन् । दुई वर्षको बीचमा नेपाली टोलीको निरन्तर सफलतामा पर्दा पछाडिका नायक रहे उनी ।

पुरुष भलिबलमा चार दशक लामो अन्तर्राष्ट्रिय सहभागिताको इतिहासमा नेपालको ठोस उपलब्धि थिएन । पाकिस्तानमा आयोजित नवौं दक्षिण एसियाली खेलकुद सकिएलगत्तै खेलाडी जीवनबाट संन्यास घोषणा गरेर उनी पूर्णकालीन प्रशिक्षणमा होमिए ।

तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

‘सीमित अन्तर्राष्ट्रिय सहभागिताको अवसर पाइन्थ्यो । राम्रो तयारी नभए सफलता पनि नमिल्ने रहेछ । खेलाडीका रूपमा पूरा गर्न नसकेका सपना पछ्याउँदै प्रशिक्षक बनेको थिएँ,’ २५ वर्षदेखि राखेपका सहायक प्रशिक्षक रहेका भट्टले सुनाए । उनी पाकिस्तान साग (२००४, कराँची) खेलेर त्यसको अर्को संस्करण (२००६, श्रीलंका) मा सहायक प्रशिक्षकको भूमिकामा सहभागी थिए ।

त्यसयता कुनै न कुनै रूपमा भट्टको नेपाली राष्ट्रिय टोलीसँग संलग्नता छ । नतिजाहरू पनि आइरहेका छन् । ‘म आफ्नै रोजाइले खेलकुदमा लागेको हुँ । धेरै कमाउँला भन्ने सोच थिएन । यति लामो समयसम्म लागिरहँदा मेरो कमाइ भनेकै यही सफलता हो । भलिबलमा लागेर आर्थिक अवस्था सुधार गर्न नपाउँदा, परिवारसँग टाढा हुनुपर्दाको पीडा यस्तै सफलताले भुलाइदिन्छ र फेरि अगाडि बढ्न उत्साहित हुन्छु,’ परिश्रमपछिको सफलता भनेको सन्तुष्टि हुने माध्यम भएको बताउँदै प्रशिक्षक भट्टले भने ।

सफलता पछाडिका पीडाहरू सधैं गौण रहन्छन् । महिला भलिबल टोलीले पाएको यो सफलताअघिका संघर्ष र अभाव पनि आफैंमा पीडादायी नै छ । राज्यले खेलकुदलाई प्राथमिकतामा राख्दैन तर सफलता भने खोजिरहन्छ । प्राथमिकतामा राखेर सफलताको आधार तय गर्दैन । यतिबेला नेपाली भलिबलमा एउटा ठोस योजना र संरचनाकै आवश्यकता सबैभन्दा धेरै छ । पूर्वाधार, संरचना, पर्याप्त वैज्ञानिक अभ्यासको अभावबीच खेलाडीले आफ्नो इच्छाशक्ति मर्न दिएका छैनन् । दुई वर्षको अन्तरमा तीन ठूला अन्तर्राष्ट्रिय सफलता पनि त्यसैको उपज हो ।

देशका सबै जिल्ला संरचना भएको नेपाल भलिबल संघले सन् १९९८ देखि मात्रै महिला राष्ट्रिय टोली बनाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको हो । त्यसअघि १९८७ मा थाइल्यान्डमा भएको एक मैत्रीपूर्ण खेलमा महिला भलिबलले सहभागिता जनाएको थियो । पछिल्ला केही वर्षमा नेपालले दक्षिण एसियालीस्तरमा आफ्नो प्रभाव देखाउन थालेको छ । नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदको फाइनलमा भारतमाथि दबाबपूर्ण प्रदर्शन त्यसको प्रमाण हो ।

‘दक्षिण एसियालीस्तरमा हामी अहिले माथि छौं । श्रीलंका र भारतलाई हराउन सक्ने क्षमता हामीमा छ । भलिबल संघसँग कहाँसम्म पुग्ने भन्ने योजना त छैन तर मेरो विचारमा चाहिँ एसियालीस्तरमा शीर्ष १० भित्र पर्नुपर्छ । त्यहाँ पुग्नु भनेको नेपालका लागि ठूलो फड्को हो,’ भट्टले आत्मविश्वास पोखे, ‘अहिलेदेखि नै योजना बनाएर अगाडि बढ्ने हो भने १० वर्षमा हामी एसियाली र विश्वस्तरमै धेरै अगाडि बढ्न सक्छौं । त्यसका लागि खेलाडीको सुरक्षा (सुविधा), भौतिक पूर्वाधार, नियमित अभ्यास र म्याच एक्स्पोजर, प्रविधिमैत्री तयारीमा जोड दिनुपर्छ । यो काम राज्यको हो, भलिबल संघको हो ।’

पछिल्लो दशक भलिबल संघको सक्रियता पक्कै बढेको छ । वार्षिक क्यालेन्डर बनाएर प्रतियोगिता व्यवस्थापन गर्ने प्रयास भएको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना, सहभागिता र उपलब्धि पनि राम्रो छ । तर भलिबलको आफ्नै पूर्वाधार र संरचना छैन । जसले नयाँ खेलाडी उत्पादनमा केही निजी प्रशिक्षण केन्द्रको भर पर्नुपर्ने आवश्यकता छ । ‘भलिबलका स्तरीय र क्षमतावान खेलाडीहरू गाउँगाउँमा भेटिन्छन् । उनीहरूले अवसर पाइरहेका छैनन् । गाउँमा उकाली ओराली गरेर हुर्किएकाको स्टामिना बलियो हुन्छ । उनीहरूलाई पहिचान गरेर खेलाडी बनाउने कार्यक्रम लागू हुनुपर्छ,’ भट्टले सुझाए, ‘भलिबलले आफ्नो देशव्यापी संरचना निर्माण गरी हरेक प्रदेशमा ग्रासरुट कार्यक्रम सञ्चालन गर्ने, पुरुष र महिलातर्फ कम्तीमा ५०–५० खेलाडी पहिचान गरी उनीहरूको संरक्षणमा ध्यान दिनुपर्छ । उमेर समूहदेखि सिनियरसम्म ४–५ टोली तयारी अवस्थामा राख्न सकियो भने राष्ट्रिय टिम बलियो हुन्छ ।’

संघले योजना बनाउने र राज्यले लगानीको वातावरण बनाउनुपर्नेमा दुवै पक्षबीच समन्वय र सन्तुलनको अभाव उनले देखेका छन् । उनले भनेजस्तै संघले दीर्घकालीन योजना तय गर्न द्दसकेको छैन । आफ्नो संरचनाबारे स्पष्ट मार्गचित्र र दीर्घकालीन लक्ष्य पनि छैन । राज्यले भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुबाहेक अरू लगानीको वातावरण बनाइदिएको अवस्था नै छैन ।

‘भलिबल संघको एउटै आफ्नो संरचना छैन । अहिले केन्द्रमा एउटा अन्तर्राष्ट्रिय कभर्डहल र सातै प्रदेशमा एकेडेमी र होस्टेलको सुविधासहित कभर्डहल आवश्यक छ,’ उनले थपे, ‘यसको सुपरिवेक्षण संघले गर्नुपर्छ । देशका सबै जिल्लामा स्तरीय प्रशिक्षक नियुक्त गरी उनीहरूलाई जवाफदेही बनाउन सक्नुपर्छ ।’

बैतडीबाट कञ्चनपुर बसाइँ सरेका उनी कान्छा छोरा हुन् । उचाइले साथ दिएपछि उनले भलिबल खेल रोजे । ‘त्यतिबेला खेल भनेकै भलिबल थियो । यसको लोकप्रियताले पनि मलाई भलिबलप्रति नै आकर्षित गराएको हो,’ कान्तिपुरसँगको कुराकानीमा उनले भने । तत्कालीन वीरेन्द्र रनिङ सिल्ड खेलेपछि महाकाली अञ्चल र पछि सुदूरपश्चिम विकास क्षेत्रबाट क्षेत्रीय प्रतियोगिता खेलेका उनी २०४५ देखि ०६४ सालसम्म राष्ट्रिय टोलीको सदस्य रहे । त्यसबीचमा २०५३ सालमै उनी पटियालाबाट स्पोर्ट्स डिप्लोमा कोर्स पूरा गरी करारमा राखेप प्रशिक्षक बनिसकेका थिए । उनले चार संस्करण सन् १९९३, १९९५, १९९९ र २००४ को दक्षिण एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरे ।

प्रशिक्षण कोर्स गरेर फर्किएलगत्तै करार सेवामा सहायक प्रशिक्षकको नियुक्ति लिएका उनले गृहजिल्लामा प्रशिक्षण केन्द्र स्थापना गरे । उनले त्यहींबाटै खेलाडी उत्पादन थालेका थिए । उनका उत्पादनहरू अहिले पनि राष्ट्रिय टोलीबाट खेलिरहेका छन् । कतिले संन्यास लिइसके । राष्ट्रिय टोलीका पूर्वखेलाडी कैलाश भट्ट, नरेन्द्र गिरी, भैरव बम, दीपक जोशी, महिलातर्फ उषा विष्ट, निरुता ठगुन्नाहरू महेन्द्रनगरबाटै आधारभूत प्रशिक्षण लिएर आएका खेलाडी हुन् ।

‘अनुशासित र स्वस्थ व्यक्ति उत्पादन गर्ने लक्ष्यमा अगाडि बढ्दा मैले प्रशिक्षण दिएका १२ सयभन्दा बढी खेलाडीलाई उनीहरूको योग्यताअनुसार कुनै न कुनै ठाउँमा रोजगारीको व्यवस्था गरेको छु,’ आफ्ना कामबारे भट्ट सुनाए, ‘अहिले पनि आर्थिक अवस्था कमजोर भएका ६० भन्दा बढी खेलाडीलाई उनीहरूको अध्ययन र प्रशिक्षणमा सहयोग गरिरहेको छु ।’ कोरोना महामारीको असर सुरु हुनुअघिका दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला टोलीको प्रदर्शन अविश्वसनीय थियो । तर उपाधि जितेर पनि आफू खुसी हुन नसकेको भट्टको तर्क छ ।

‘विश्वकप नै जिते पनि एउटा प्रशिक्षकले आफ्नो टिमको कमजोरी देखिरहेको हुन्छ । तर यसपल्ट टिमको प्रदर्शन चित्तबुझ्ने खालको चाहिँ थिएन । हाम्रा कुनै पनि खेलाडीले आफ्नो क्षमताको ३० प्रतिशत पनि खेलेनन्,’ उनले भने, ‘कोरोनाको असर, बलिया प्रतिद्वन्दीको उपस्थिति र अघिल्लो सफलताका कारण धेरै अपेक्षा हुनुले खेलाडीहरू दबाब परेजस्तो छ ।’ लगातारको यो सफलताले नेपाली टोलीको अपेक्षा अझै बढेको छ । बंगलादेशबाट फर्किएकै दिन बिहीबार खेलकुदमन्त्री महेश्वरजंग गहतराजले आसन्न एसियाली खेलकुदमा भलिबलको सहभागिता निश्चित भएकाले तयारी सुरु गर्न निर्देशन नै दिए ।

पोखरामा हुने टाइगर कप भलिबल र नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गर्न लागेको पूर्वनिर्धारित फ्रेन्चाइज भलिबल सकिएपछि राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गर्ने योजना प्रशिक्षक भट्टले सुनाए ।

‘अब हामीलाई आफ्नो साख जोगाउन धेरै ठूलो चुनौती छ । अपेक्षा धेरै बढेको छ । त्यहीअनुसार तयारी गर्नुपर्छ । एसियाली खेलकुदअघि नियमित प्रशिक्षण र आफूभन्दा माथिल्लोस्तरका टोलीसँग कम्तीमा १० अभ्यास खेल खेल्न पायौं भने राम्रो नतिजाको आस गर्न सकिन्छ ।’

प्रशिक्षक भट्टका प्रमुख अन्तर्राष्ट्रिय उपलब्धि

  • दक्षिण एसियाली महिला बीच भलिबल–२०१२– स्वर्ण
  • दक्षिण एसियाली आमन्त्रण महिला भलिबल २०१४– रजत
  • तेस्रो एसियन सेन्ट्रल जोन पुरुष भलिबल–२०१७– कांस्य
  • पहिलो एसियन सेन्ट्रल जोन महिला भलिबल २०१९– स्वर्ण
  • १३औं साग महिला भलिबल २०१९– रजत
  • दोस्रो एसियन सेन्ट्रल जोन महिला भलिबल २०२१– स्वर्ण

प्रकाशित : पुस १७, २०७८ ०७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×