दाहालको जवाफ- प्रतिवेदनमा ठूलो परिवर्तन हुँदैन, सुझाव समेटिन्छ- समाचार - कान्तिपुर समाचार
माओवादी महाधिवेशन

दाहालको जवाफ- प्रतिवेदनमा ठूलो परिवर्तन हुँदैन, सुझाव समेटिन्छ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो प्रतिवेदनमा सबै सुझाव समेट्ने प्रतिबद्धता जनाएका छन् । 
माओवादीको आठौं महाधिवेशनअन्तर्गत प्रज्ञा भवन कमलादीमा जारी बन्दसत्रमा समूहका नेताले उठाएका प्रश्‍नको जवाफ दिनेक्रममा दाहालले आफूले पेस गरेको प्रतिवेदन सबैको साझा भन्दै सबै सुझावहरु समेटिने बताएका हुन् ।

'प्रतिवेदन मूलत: सही छ भन्दै सुझाव आएको उल्लेख गर्दै दाहालले आमूल परिवर्तन आवश्यक नदेखिएको बताए । दाहालले भने, 'टोली नेताहरूले लिखित नै राख्नुभएको छ । सबैले यो प्रतिवेदनको मूल स्परिट सही छ भन्नुभयो । तर केही आवेगमा आएर पनि सुझाव दिएको भन्ने पनि रह्यो । त्यो पनि सुझाव नै हो,' दाहालले भने, 'म तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु यो सिँगै हलको साझा प्रतिवेदन भयो । सबैको सुझाव समेटेर यो प्रतिवेदन तपाईंहरुले पाउनुहुन्छ । म्यासिभ परिवर्तन गर्नुपर्ने मैले देखेको छैन । तर सबै सुझाव समेटिन्छ ।'

अध्यक्ष दाहालले बन्दसत्रको पहिलो दिन सोमबार '२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए । प्रतिवेदन सञ्चारमाध्यमबाट सार्वजनिक हुँदा पनि प्रतिनिधिलाई नबाँडिएको भन्दै नेतृत्वको आलोचना भएको थियो । प्रतिवेदनमाथि छलफल गर्न २५ समूहमा विभाजन गरिएको थियो ।

आफ्नो पार्टीको महाधिवेशनले सिंगो देशकै ध्यान आकर्षित गरेको भन्दै दाहालले त्यो उद्घाटन सत्रमै पुष्टि भएको उल्लेख गरे । 'हाम्रो महाधिवेशनप्रति पुरै देशको ध्यान गएको छ । ठूला राजनीतिक पार्टीले पनि हामीलाई हेरेका छन् । एजेन्डा ल्याउने र स्थापित गर्ने त माओवादी हो भन्ने छ र महाधिवेशन उद्घाटनमै पनि यहाँहरुले सुन्नु भो प्रचण्डले नै हो परिवर्तन ल्याएको, संविधानसभा, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, संघीयता सबै सबै ल्याउन भूमिका खेलेको भनेर कांग्रेस सभापतिले नै राख्नु भो,' दाहालको भनाइ थियो ।

सुझाव पेस गर्ने क्रममा नेताहरुले पार्टी पछाडि हट्न लागेको हो किन भन्ने चिन्तालाई आफूले सकारात्मक रुपमा लिएको बताए । 'मैले यसो बाहिर पनि नियाल्दा र सुन्दा माओवादी पछाडि फर्किन्छ कि भन्ने चिन्ता गरे जसरी नेतृत्वको आलोचना भयो भनिन्छ,' उनले भने, 'त्यो भनेको माओवादी फेरि अर्को के-के एजेन्डा ल्याएर मुलुकमा नेतृत्व लिन खोज्दै छ भनेर ठानेका छन्, यो सकारात्मक नै हो ।'

प्रकाशित : पुस १६, २०७८ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्

दाहाललाई गजुरेलले सोधे : भट्टराईलाई किन अध्यक्ष बनाउनु भएन ?

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका स्थायी कमिटीका सदस्य हरिबोल गजुरेलले बाबुराम भट्टराईलाई अध्यक्ष बनाउने प्रस्ताव किन कार्यान्वय नगरेको भन्दै त्यस विषयमा स्पष्ट पार्न अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका छन् ।

महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको १९ बुँदे धारणामा गजुरेलले भट्टराईलाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव दूरगामी महत्वको रहेको भन्दै यो कार्यान्वयन हुन नसक्नुको कारण पार्न आग्रह गरेका हुन् ।

'तत्कालीन एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठकमा डा.बाबुराम भट्टराईलाई अध्यक्ष बनाउने नेतृत्वको सोच दूरदर्शी थियो' गजुरेलले लेखेका छन् 'यो अभ्यासमा जान पार्टीपंक्ति तयार नभएपछि अध्यक्ष ब्याक हुनु भएको हुनुपर्छ । यो नयाँ प्रयोग कस्तो हुन्थ्यो, अध्यक्षले यो विषय खुलाउँदा राम्रो होला ।' नेकपा माओवादीमा दोस्रो नेताको रुपमा रहेका भट्टराईले संविधान जारी हुने वित्तिकै पार्टी छाडेका थिए ।

अध्यक्ष दाहालले वैचारिक विषयमा भन्दा बहुमतको प्राविधिक विषयलाई ध्यानमा राखेर नेकपा एकता केन्द्रसँग एकता गरेको विश्लेषण गजुरेलको छ ।

'खरिपाटीको राष्ट्रिय भेलामा केन्द्रीय समितिमा अध्यक्षले पेस गरेको प्रस्तावमा छलफल हुँदा सिसिएम(केन्द्रीय सदस्य)हरूले क्रमशः कुरा राख्दै जाँदा प्रस्ताव अल्पमतमा पर्ने सम्भावना बढ्दैगएको थियो । दुई–तीनजनाले मात्र राख्न बाँकी थियो । अध्यक्ष प्रचण्डले चियाको लागि मिटिङ ब्रेक भएको बेलामा सानो स्वरमा बाबुराम भट्टराईतिर फर्केर के पार्टी बनाइएछ भन्नुभएको थियो' गजुरेलले भने 'अध्यक्षको यो मनोविज्ञान एकताकेन्द्रसँग एकता गर्दा व्यवहारमा व्यक्त भयो । यसमा प्राविधिक पक्षलाई प्रधानता दिइएको देखिन्छ ।'

नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको एकता केन्द्र र माओवादीबीच एकीकरण भएपछि एकीकृत नेकपा माओवादी बनेको थियो । गजुरेलले संविधानअनुसार पार्टी परिमार्जन हुन नसकेको, नयाँ जिम्मेवारीअनुसार भूमिका निर्वाह गर्न नसकेको, अध्यक्ष दाहालले पटकपटक कार्यशैली सुधार गर्छु भनेर पनि सुधार गर्न नसकेको बताएका छन् ।

'संविधानको कार्यान्वयनसँगै व्यवहारमा परिवर्तन आउँछ भन्ने आशा गरेका थिए । अध्यक्षलाई अब आफ्नो कार्यशैली र आचरणमा बदलाव आवश्यक छ भनेर पटकपटक छलफल गरें । उहाँले ‘ती सुझाव ठीक छन्, म लागू गर्छु’ पनि भन्नुभयो' गजुरेलले भनेका छन 'यो विषय सार्वजनिक भएपछि धेरैले यसलाई सकारात्मक रुपमा लिनुका साथै कार्यन्वयनको अपेक्षा पनि गरेका थिए । तर व्यवहारमा परिणत हुन सकेन ।' त्यसैगरी दाहालले गुटहरू हुने हो भने पार्टी विभाजन गरे हुन्छ भने पनि त्यो कार्यान्वयन गर्न नसकेको बताएका छन् ।

नेता गजुरेलले भनेका छन्, 'बाबुराम भट्टराईले पार्टी परित्याग गरेपछिको एनेकपा माओवादीको बैठकमा अध्यक्ष क. प्रचण्डले गुटबन्दी गरिरहेने हो भने पार्टी विघटन गरौं भन्नुभएको कुरा धेरै दूरगामी महत्वको छ । व्यवहारतः अध्यक्ष यसबाट मुक्त हुन सक्नुभएन । फलस्वरुप पार्टीमा नयाँ नयाँ गुटहरू जन्मिए । नयाँ गुट–उपगुट जन्मनुको कारणको खोजी गर्नु आवश्यक छ ।'

उनले माओवादी अध्यक्ष दाहालले कुनै पनि विषयको समाधान राजनीतिक, वैचारिक, नीति, विधि र संगठनात्मक पहल नभई प्राविधिक तरिकाले हल गर्न भएको पनि बताएका छन् ।

यस्तै माओवादी शान्ति प्रक्रियामा आए पनि विचार, नीति र संगठनमा सम्झौता गर्दै जाँदा विचार निर्माण अवरुद्ध भएको गजुरेलले बताएका छन् । उनले छलफल नै नगरी 'प्रचण्डपथ' स्थगत गर्नुपर्न गम्भीर विचलन भनेका छन् ।

यस्तै शान्ति प्रक्रियापछि बालाजुको विस्तारित बैठक, खरिपाटीको राष्ट्रिय भेला, पालुङटारको विस्तारित बैठक र बिराटनगर राष्ट्रिय सम्मेलनको दौरान विचार, नीति र संगठनमा सम्झौता गरिएको गजुरेलले बताए । र वाद–प्रतिवाद–संवादको द्वन्द्वात्मक प्रक्रिया अवरुद्ध हुँदा विचारको विकास पनि हुन नसकेको उनको भनाइ छ । नेता गजुरेलले राष्ट्रिय स्तरको छलफल बिना नै 'प्रचण्डपथ'को स्थगन हुँदा गम्भीर विचलन पैदा भएको गजुरेलले बताए ।

प्रकाशित : पुस १६, २०७८ १५:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×